पाकिस्तानमा ९० यात्रु चढेको जहाज दुर्घटना

एजेन्सी । पाकिस्तानमा ९० यात्रु चढेको विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए) को यात्रुवाहक विमान दुर्घटना भएको हो । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेट अगाडि दुर्घटना भएको थियो ।

पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो । समाचारमा जनाए अनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भीडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए । यो विमानको दुर्घटनाबारे स्वतन्त्र संस्थाले अनुसन्धान गर्ने उनले बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ । अझै थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया