पार्टीमा वादशाही होईन, सामुहिक नेतृत्व रुचिकर

चिनियाँ क्रान्तिका अध्यक्ष माओत्सेतुङ्ले अनावश्यक प्रसंसा गरेर वस्ने मित्र भन्दा आलोचना गर्ने शत्रु वढि उपयोगी हुन्छ भन्नु भएको थियो । अर्थात प्रसंशाले व्यक्तिलाई बेवकुफ वनाई रहेको हुन्छ । रियलमा आलोचनाले नेतालाई सुध्रिन मद्दत गरीरहेको हुन्छ । कसैले आलोचना गर्छ भने उस प्रति आक्रामक हुने होईन । उसका कुरालाई गम्भीरता पूर्वक सुनेर सहज ढंगले लिनु पर्दछ र अझ राम्रो काम गरेर देखाउनु पर्दछ

 ७–८ कक्षामा पढ्दा सुनेको कम्युनिस्ट पार्टी सपाट न्याय गर्ने, गरिव गुरूवाको संरक्षण गर्ने, भेद भाव र अत्याचार समाप्त गर्ने पार्टी हो । कम्युनिस्ट पार्टीको सरकार आयो भने गरिवको राज्य हुन्छ । किसान मजदुरको संयुक्त अधिनायकत्व कायम हुन्छ । गरिवले रूनु पर्दैन । कसैले दुखी हुनु पर्दैन । कम्युनिस्ट पार्टी आफुलाई भन्दा देशलाई माया गर्ने, राष्ट्रियताको संरक्षण गर्ने पार्टी हो । त्यती खेर मेरो किशोर मतिस्कमा वसेको कम्युनिस्ट पार्टीको छवि यस्तो थियो । अरू पनि धेरै साथीहरूले यस्तै छवि वनाएको पाउछु । अहिले आफ्नै आँखाले देखिरहेको छवि र किशोर अवस्थामा वनेको छविमा फरक परि रहेको छ । मैले सुरूमा सुनेको र अली अली बुझेपछि पढेको कम्युनिस्ट पार्टी को छवि र अहिले भोगी रहेको कम्युनिस्ट पार्टीको छवि मिलि रहेको छैन । किन यस्तो भैरहेको छ, मैले ठम्याउन सकेको छैन् । शायद कमि मेरो हेर्ने आँखामा वा मेरो ठम्याई नै गलत पो थियो कि ?

कम्युनिस्टहरू अन्याय सह नै सक्दैनन्, अन्याय देख्ने वित्तिकै आक्रामक हुन्छन, अन्याय, अत्याचार र भ्रष्टाचार को घनघोर विरोधी हुन । कम्युनिस्ट शासनमा त्यसको कल्पनासम्म सभव छैन । भ्रष्टाचार गर्ने दुष्टहरूलाई कम्युनिस्ट शासनमा फाँसी दिईन्छ । कम्युनिस्ट र भष्टाचार एकै ठाउँमा भेट हुनै सक्दैन । यसले आकर्षण गरेको हो सामन्ती शोषण र भ्रष्टाचारबाट आजित नेपालीलाई । कम्युनिस्टहरू कुनै पनि किसिमको भेदभावको विरोधी हुन । कहिकतै भेदभाव तथा पक्षपात देख्यो भने ठिक न्याय गरी हाल्छन् । कम्युनिस्टको पहिलो शत्रु धनी गरीवका विचको खाडल हो । यहि खाडललाई मेटाउनकै लागि कम्युनिस्ट पार्टीको जन्म भएको हो । वर्गियमात्र होईन जातिय, क्षेत्रिय र सवै खालका विभेदको अन्त सहितको समतामूलक समाज कम्युनिस्टको परिकल्पना हो ।

कम्युनिस्टहरू शोषणको सवभन्दा ठुला शत्रु हुन् । शोषक सामन्तहरूको समाप्ति यिनीहरूको लक्ष्यहुन्छ । कम्युनिस्ट पार्टीमा त शोषणको कल्पनासम्म गर्नु सम्भव छैन । सत्य, न्याय र समानता कम्युनिस्टको आदर्श हो । इन्साफ, विकास र परिवर्तन कम्युनिस्टको ध्येय हो । यिनै सुन्दर विचार र आदर्श भावनाले मानिसहरूलाई कम्युनिस्ट वन्न प्रेरित गर्यो । हजारौ लाखौ युवाहरू लाम लागेर कम्युनिस्ट भए । उनिहरू नामधारी कम्युनिस्टमात्र भएनन । कम्युनिस्ट पार्टीमा भर्ना भए । पार्टीको निम्ती वलिदान दिन तयार भए । आफ्नो अमूल्य जीवनको आहुती दिएर समाज वदल्ने लडाईमा पूर्णरुपमा होमिए । अहिलेको नेकपा कसैको चमत्कार भन्दा पनि हजारौ हजार क्रान्तिकारी युवाहरूको वलिदान र तिनको रगतले स्थापित भएर यहासम्म आई पुगेको हो ।

केही केही मानिसहरू कम्युनिस्टको वारेमा चलेको हल्लाकै भरमा पनि कम्युनिस्ट भए होलान । केहि केहि लहै लहैमा पनि कम्युनिस्ट भए होलान । साचो कुरा के हो भने हजारौ लाखौ मानिसहरू पढेर, वुझेर अनी अनुभव गरेरै कम्युनिस्ट भएका छन् । के हो त कम्युनिस्ट विचार ? केहो मार्क्सवाद ? कस्तो हुन्छ समाजवाद ? सवै अध्ययन गरेर कम्युनिस्ट भएका छन् । हजारौ मानिसहरू मार्क्सवादलाई वुझेर, मार्क्सवादी अर्थशास्त्र पढेर कम्युनिस्ट भएका छन् । मार्क्सलाईमात्र होईन, लेनिनलाई अध्ययन गरेर अनी माओको नेतृत्वमा भएको जनवादी क्रान्तिका अनुभवहरूलाई संगालेर कम्युनिस्ट भएका छन् ।

त्यती मात्र होईन, होचिमिन्ह, फ्रीडेल क्यास्ट्रो र पुष्पलालका आदर्शलाई समातेर कम्युनिस्ट हुनेको संख्या व्यापक छ । पछिल्लो चरणमा कयौ मानिसहरू कमरेड मदनकुमार भण्डारीको निष्ठा र आदर्शलाई हेरेर कम्युनिस्ट भएका छन् । संसार भरी कम्युनिस्ट पार्टी समाप्त भइरहेको समयमा हाम्रो देशमा त्यसै कम्युनिस्ट पार्टी फस्टाएको होईन । लामो समय शोषण दमन सहेर आएको नेपाली समाजले त्यसै कम्युनिस्ट पार्टीलाई साथ दिएको होईन् । समाजमा व्याप्त अन्याय, अत्याचार र भ्रष्टाचारको घनघोर जातो मुनि पिल्सिएको नेपाली समाज त्यसै कम्युनिस्ट पार्टीको उर्वर भूमी भएको होईन । नेपाली समाजले कम्युनिस्ट आन्दोलनलाई साथ दिनुमा यस भित्र निहित आदर्श नै प्रमुख आकर्षण थियो र अझै छ ।

हाम्रो नेपालमा पछिल्लो चरणमा आएर कम्युनिस्ट पार्टी गरिवको पार्टीको रूपमा प्रचारित भयो । गाउका गरिव जनता ले ‘गरिवको पार्टी कम्युनिष्ट पार्टी’ भनेर नारा लगाए । ‘मजदुर किसानको पार्टी कम्युनिष्ट पार्टी’ भनेर आवाज उठाए । २०४८ सालको संसदिय चुनाव देखि यो कुरा अझ बढी स्थापित भयो । कम्युनिस्ट पार्टी दिन दुखिहरूको सेवा गर्ने वर्गिय पार्टी पार्टी हो भन्ने कुरा स्थापित भयो । अझ २०५१ सालमा नेकपा एमालेले केही समय सरकार चलाएपछि कम्युनिष्ट पार्टी दलित, महिला र वृद्ध वृद्धाहरूको सेवा गर्ने पार्टीको रूपमा समेत परिचित भयो । गाउँको विकास र प्रगती कम्युनिस्ट पार्टीको नेतृत्वमा मात्र सम्भव छ भन्ने कुरा स्थापित भयो ।

यती वेलासम्म अवोध नेपाली गरिव तथा शोषित पीडित जनताहरू कम्युनिस्ट पार्टीलाई निष्कपट माया गर्न लागि सकेका थिए । कम्युनिस्ट पार्टीको नेतृत्वको एकल सरकार वनाएर गरिवको राज्य ल्याउने ध्याउन्नमा लागेका थिए । नेपाली जनताको दुर्भाग्य ठिक यसै वेला एउटा कम्युनिस्ट पार्टीले जनयुद्धको नाममा हतियार उठायो अर्को तिर नेकपा एमाले विभाजित भयो । जनताका सवै आशा एकै पटक चकनाचुर भए । यसमा कहि कतै नेपाली जनता दोषि छैनन । दोषि छन त, कम्युनिस्ट पार्टीको नाममा आफ्नो कोटरी चलाउने अनी गुटवाजी खेलेर आफु र आफ्नो साम्राज्यको कल्पनामा रमाउने अहंकारी नेताहरू ।

यती हुदाँ पनि नेपाली जनताले हार खाएनन् । कम्युनिस्ट पार्टीलाई माया मारेनन । नेकपा एमालेलाई संसदमा सधै शक्ति शाली पार्टी कै रूपमा उभ्याई रहे । नेकपा माओवादीलाई समेत युद्धदेखि शान्तिसम्म प्रचुर अवसर दिए । यसका पछाडी उनिहरूले पुष्पलाल श्रेष्ठको त्याग सम्झेका थिए । श्रध्देय मनमोहन अधिकारीको सम्पूर्ण समर्पणलाई आफ्नै आँखाले देखेका थिए । जन नेता कमरेड मदन भण्डारीको देश प्रतिको निष्ठा हेरेका थिए । स्वयम कमरेड प्रचण्डका तिलस्मी कथाहरू सुनेका थिए ।

यी सवै चिजहरूको आधारमा नेपाली जनताले कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा सुन्दर समाजको छवि परिकल्पना गरेका थिए । अहिले उनिहरू आफ्नो मनको कम्युनिस्ट छवि र हाम्रा काम गराईलाई तुलना गरेर हेरिरहेका छन् । उनिहरूले मनमा साचेको न्याय र समानता सहितको समाज र अहिलेको हाम्रो चमत्कारलाई दाँजेर हेरीरहेका छन । दुवैलाई मिलाउने प्रयास गरिरहेका छन् । कता कता आनको तान फरक छ । जति मिलाउन खोजे पनि कुरो मिली रहेको छैन । अव दोष कसलाई दिने ? जवाफ कसले दिने ?

सत्ता वडो दम्भी हुन्छ । उसले कहिल्यै कमजोरी स्वीकार गर्दैन । आजसम्मको इतिहासमा कम्युनिस्टहरू मात्र त्यस्ता शासक हुन, जस्ले कमजोरी स्वीकार गरेकाछन् । कमजोरी स्वीकार गर्नेमात्र होईन सुधार पनि गरेका छन् । कम्युनिस्ट आदर्शले त्यहि भन्छ । हामी त आफुलाई सच्याउन भन्दा आलोचना गर्ने माथि जाई लाग्न उद्दत छौ । मैले पढेको त कम्युनिस्ट पार्टीमा प्रसंसा भन्दा आलोचनाको मुल्य वढिहुन्छ ।

चिनियाँ क्रान्तिका अध्यक्ष माओत्सेतुङ्ले अनावश्यक प्रसंसा गरेर वस्ने मित्र भन्दा आलोचना गर्ने शत्रु वढि उपयोगी हुन्छ भन्नु भएको थियो । अर्थात प्रसंशाले व्यक्तिलाई बेवकुफ वनाई रहेको हुन्छ । रियलमा आलोचनाले नेतालाई सुध्रिन मद्दत गरीरहेको हुन्छ । कसैले आलोचना गर्छ भने उस प्रति आक्रामक हुने होईन । उसका कुरालाई गम्भीरता पूर्वक सुनेर सहज ढंगले लिनु पर्दछ र अझ राम्रो काम गरेर देखाउनु पर्दछ । तर, हामी कता गइरहेका छौ ?

गज्जवको कुरा हामीकहाँ सुधारको छनक देखिएको छैन । यहा त जंगबहादुर राणाको पालाको कथा जस्तो हुदैछ । वाङ्गो रूखलाई पनि सोझै देख्नु पर्ने अवस्था छ । कसैले वाङ्गो रूखलाई वाङगो भनिदिए मात्र पनि गर्दन चिलाउने खतरा छ । यो शासकिय दम्भ वाहेक अरू केही होईन । भनिन्छ जव वादशाह घोडाबाट झर्छ अनिमात्र उसको हैसियत थहाहुन्छ । अहिले नेकपा भित्रको द्वन्द्व र रडाको पनि त्यही दम्भको परिणाम हो । यो रडाको जनता र कार्यकर्ताहरूको कमजोरीले मच्चिएको होईन ।

जनताको सेवा कसरी गर्ने, देश कसरी वनाउने, पार्टीको निती कसरी लागू गर्ने भनेर रडाको चलेको होईन । कालापानी कसरी फिर्ता गर्ने, कोरोनाबाट कसरी मुक्ति पाउने, अनी देशका असहाय गरिव गुरूवाहरूलाई कसरी उद्धार गर्ने भनेर चलेको रडाको होईन । कमिटीको वैठक राख्नु, यस्ता एजेण्डामा खुव वहस गर्नु, रडाको मच्चाउनु अनि त सुधार भैहाल्थ्यो नी । त्यसो होईन जनताले नेताहरूलाई दरो गरी सत्तामा पुर्याई दिए । अव सत्तालाई कसरी एकलौटी वनाउने र आफ्नाहरूको सेवामा लगाउने भन्नेमा पो पिरपरेको देखिन्छ ।

कम्युनिस्ट पार्टी सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । कम्युनिस्ट पार्टीको सरकारमा सवैले अपन्त्व पाउनु पर्दछ । कम्युनिस्ट पार्टीको सरकारलाई सम्पूर्ण नेता कार्यकर्ताहरूको सामुहिक उपलब्धि वनाउनु पर्दछ । कम्युनिस्ट पार्टीको सरकार स्थापित कमिटी प्रणालीबाट चलाउनु पर्दछ । पार्टीको सरकारलाई निजी उपलब्धि र निजी सत्ता ठान्ने भूल गर्नुहुदैन । पार्टीका नेताहरू कदापी वादशाह होईनन् । प्रमुख नेताहरूले आफुलाई वादशाह ठान्न छोड्नु पर्दछ । उनिहरूले आफुलाई जनताको निम्ती निती वनाउने र जनताको सेवामा लागिरहने अभियन्ता वुझ्नु पर्दछ ।

अझ कम्युनिस्ट पार्टीका नेताहरूले जनकार्य गरेर, जनता विचमा खारिएर मात्र स्थापित हुनुपर्दछ । हामीलाई थाहा छ खोक्रा भाषण र नक्कली आश्वासन विरूद्धको विद्रोह नै कम्युनिस्ट आन्दोलन हो । ईमान्दार कम्युनिस्टहरूले विद्रोहमा आफैले लगाएका नाराहरूलाई व्यवहारमा लागु गर्नसक्नु पर्दछ । देश रोई रहेको वेला पीडालाई सम्वोधन गर्नुको साटो उपदेशक र मालिक हुन खोजिरहेका छौ हामी । यस्तो मालिक प्रवृतिले कम्युनिस्ट पार्टीको चरित्र बदलिन सक्छ । अहिले नेकपामा पनि त्यो खतरा वढिरहेकोछ । भनिन्छ अहिलेसम्म नेकपाको चरित्र बदलिएको छैन । समयमा सच्याउन सकिएन भने त्यो दिन धेरै टाढा छैन । सवैलाई चेतना भया ।

प्रतिक्रिया