काठमाडौं । हालसम्म कोभिड १९ संक्रमितको संख्या ५२ पुगेकोमा १६ जना उपचारपछि घर फर्केका छन् । केही दिन यता नयाँ संक्रमित फेला परेका छैनन् ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनंसख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकी ३६ जनाको उपचार भइरहेकोमा सबैको अवस्था सामान्य रहेको बताए ।
पिसिआर विधिबाट दश हजार ४७१ र र्यापिट डाइनोस्टिक टेस्ट (आरडीटी) बाट ४३ हजार ६३ गरी कूल ५३ हजार ५३४ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा देशभर दुई हजार १८४ जनाको परीक्षण गरिएको छ ।
प्रवक्ता देवकोटाले भने, ‘प्रदेश–१ मा हालसम्म चार हजार ५४५, प्रदेश–२ मा पाँच हजार २०८, वाग्मतीमा सात हजार ६२६, गण्डकीमा चार हजार ९२६, प्रदेश नं ५ मा तीन हजार ४७१, कर्णालीमा पाँच हजार २२८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९६१ आरडीटीबाट परीक्षण भइसकेको छ ।’ आरडीटीबाट परीक्षण गर्ने ४२ हजार ६३ पुगेको छ ।
क्वारेनटाइनमा बस्नेको संख्या २० हजार १९५ र आइसोलेशनका बिरामीे संख्या १०६ छन् । त्यसमा उपत्यकाभित्र आठ र उपत्यका बाहिर ९८ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई हजार ११९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।
मन्त्रालयले सञ्चालन गरेको मोबाइल एप्स हाम्रो स्वास्थ्य र वेभ पेजमा हालसम्म आफ्नो स्वमूल्यांकनको लागि ‘इन्ट्री’ गर्नेको संख्या २७ हजार ५४२ पुगेको प्रवक्ता देवकोटाको भनाइ छ । गत २४ घण्टामा ७४१ जनाले आफ्नो स्वमूल्यांकन फाराम भरेकोमा आठ जना रेडजोनमा परेका छन् ।
हालसम्म कूल रेडजोनमा हुनेको संख्या ३०४ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनको लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने काम भइरहेको छ । प्रवक्ता देवकोटाले संक्रमणको प्रकृति हेरिकन लकडाउन खोलाउनेबारे के गर्ने भन्ने निर्णय हुने बताए ।
संक्रमितको संख्या बढ्दै गएको कारण लकडाउनलाई निरन्तरता दिनुपर्ने देखिएको उनको भनाइ छ । सोही अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्यकर्मीको बारेमा जानकारी दिँदै कोरोना लागेको शंका लागेको खण्डमा जुन विधिबाट भएपनि तत्कालै परिक्षण गर्न आग्रह गरे।
प्रतिक्रिया