प्युठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले प्युठान जिल्लामा पठाएको स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि पठाईएका स्वास्थ्य सामग्री आईतबार प्युठान नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नेता गौतमको सहयोग र प्रदेश ५ का प्रदेश कमिटि सदस्य नेकपाका युवा नेता विजयविराज विष्टको सक्रियातामा संकलित व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), स्यानिटाईजर, माक्स, हेडक्याप जिल्लाका सबै स्थानीय तहमा वितरण गरिएको छ । ७ वटा गाउँपालिकाको लागि १२ सय थान माक्स, २ प्याकेट हेड क्याप, ९ थान पिपिई, ७५ सेट स्यानिटाईजर र १०० पिस पञ्जा वितरण गरिएको नेकपा प्युठानका अध्यक्ष तुल्सीराम शर्माले जानकारी दिए ।
त्यस्तै, २ वटा नगरपालिकाको लागि २ हजार थान माक्स, २ प्याकेट हेडक्याप, ९ थान पिपिई, ९० पिस स्यानिटाईजरका दरले उपलब्ध गराईएको छ । नेकपाले स्थानीय तहमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । यस्तै जिल्ला प्रहरी कार्यालय प्युठान र जिल्ला अस्पताललाई समेत केही थान स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।
‘प्रदान गरिएको स्वास्थ्य सामग्री प्रयाप्त नभए पनि विपद्को अवस्थामा सबै एकजुट हुन आवश्यक छ’, अध्यक्ष शर्माले भने, ‘कोरोना संक्रमणबाट बच्न सबैले आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छं । स्वास्थ्य सेवाबाट कसैलाई बन्चित हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको भन्दै प्यूठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतीले सहयोगीलाई धन्यवाद दिए ।
यसैबीच युवा नेता विष्टको सक्रियता तथा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठको संयोजनमा जिल्ला स्वास्थ्य कार्यालय प्युठान र प्राथमिक स्वास्थ्य केन्द्र खलंगालाई पनि विभागको तर्फबाट केही स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । खलंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई ५०० माक्स, १० पिस थर्मल गन, १० लिटर सेनिटाईजर, ५ पिस एन ९५ माक्स, सर्जिकल ग्लोब्स २०० जोर प्रदान गरिएको हो । स्वास्थ्य कार्यालयलाई २ हजार थान माक्स, १० थान एन ९५ माक्स, ३० लिटर सेनिटाईजर, २०० जोर सर्जिकल ग्लोब्स, २५ थान गाउन र १५ सेट पिपिई उपलब्ध गराइएको हो ।
प्रतिक्रिया