सप्तरी । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा ठूलो संख्यामा पिसीआर परीक्षणमा तीव्रता दिइएको छ । प्रदेश नं २ का पाँच तथा सप्तरी, सिरहाको सिमानामा रहेको जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएपछि शनिबारदेखि सप्तरी, सिरहा, सर्लाहीसहित प्रदेश नं २ मा पिसीआर परीक्षण तीव्र बनाइएको स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले जनाएको छ ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा शिलाजित र हिङ बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारीसहित बोदे बर्साइनका ११३, डाकनेश्वरी नगरपालिकाका २८, सुरुङ्गा नगरपालिकाका १२, खडक नगरपालिकाकाका दुई र बलान बिहुल गाउँपालिकाका तीन जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार लहानमा ६९, गोलबजारमा ६४, मिर्चैयामा ५०, अर्नमामा ४८, धनगढीमाईमा १०, कर्जन्हामा सात र विष्णुपुर गाउँपालिकामा दुईको गरी २५० जनाको नमूना संकलन गरिएको छ ।
यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिकाबाट ७५, धनकौल गाउँपालिकाबाट २६ र ईश्वरपुर नगरपालिकाबाट १५ जनाको स्वाब संकलन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । स्वास्थ्य सेवा विभाग इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पिपिइ र भिटिएमसहित विज्ञ प्राविधिकको टोली पठाएपछि स्वाब संकलन कार्य तीव्र बनेको हो ।
आज पनि सप्तरीको सुरुङ्गा र सप्तकोशी नगरपालिकामा १५० तथा सिरहाको कल्याणपुर र सिरहा नगरपालिकामा १५० जनाको स्वाब संकलन गरिने लक्ष्य रहेको महाशाखाका फणिन्द्र ज्ञवालीले बताए । ज्ञवालीका अनुसार इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मेलान, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीबाट खटिएको प्राविधिक टोलीले प्रदेशको २७ स्थानबाट एक हजार ५२० को पिसीआर नमूना संकलन गर्न लागिएको छ ।
पिसीआर नमूना संकलन गर्न केन्द्रीय प्रयोगशाला काठमाडौंबाट आएको छ र जनकपुरको दुई गरी आठ टोली स्वाब संकलनमा परिचालित भएको प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । सप्तरीको स्वाब परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रदेश नं २ का अन्य जिल्लाका स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशाला पठाइने ज्ञवालीले बताए ।
प्रतिक्रिया