दुई स्थानिय तहलाई स्वास्थ्य सामग्री

हुम्ला । कोरोना संक्रमण हुन नदिनको लागि त्यससँग सम्बन्धित स्वास्थ्य सामग्री विभिन्न गैर सरकारी संस्थाले हुम्लाका स्थानिय तहलाई हस्तान्तरण गर्न थालेका छन् । हालसम्म हुम्ला जिल्लामा कोरोनाको कुनै लक्षण नदेखिएको भएता पनि आगामी दिनमा यसबाट जोगिनको लागि सरसफाई लगायतका स्वास्थ्य सामग्री स्थानिय बासिन्दालाई वितरण गर्नको लागि गैर सरकारी संस्थाले पहल गर्न थालेका छन् ।

स्थानिय तहको बजेट कम भएको र कोरोनाको महामारी नफैलियाेस् भन्नको लागि यस्ता स्वास्थ्य सामग्री प्रदान गरिन थालिएको हो । हिमाली शिक्षा र विकास (हेड नेपाल) नामक गैर सरकारी संस्थाले जिल्लाको सिमकोट र सर्केगाड गाउँपालिकाको सबै वडाका बासिन्दालाई कोभिड १९ प्रतिरक्षा कार्यक्रम अगाडि ल्याएको हो । दुवै स्थानिय तहको ८ वटा वडामा यस्ता सामग्री वितरण गरिएको हेड नेपालका निर्देशक छिटुप दोर्जी लामाले बताए ।

मिसन ईष्टको आर्थिक सहयोग र किर्डाक र महिला कल्याण सेवा सहजिकरणमा हेड नेपालले विगत केही हप्ता अगाडिदेखी आवश्यक पर्ने सामग्री स्थानिय तहको स्वास्थ्य शाखालाई हस्तान्तरण गर्न लागेको छ । जसमध्ये हात धुने साबुन ३६ हजार १ सय ५६, लुगा धुने साबुन १२ हजार ५२, साबुन राख्ने भाँडो ६ हजार २६, झोल साबुन ३ सय ३० बोतल, मास्क ६ हजार ३ सय, ग्लोभ्स २ सय १० पेटी, स्यानिटाईजर ३ सय १५ बोतल, बाल्टी १ सय ५ वटा, ईन्फ्राईड थर्मोमिटर ४२ वटा, जनचेतनामूलक प्रचार सामाग्री २१ वटा स्थानिय तहमा पठाइएको लामाले जानकारी दिए ।

भौगोलिक कठिनाइको भएकाले ढुवानीमा केही समस्या भएको छ । संस्थाले नेपालगञ्जबाट हवाईजहाजमार्फत् र सिमकोटबाट स्थानिय तहमा हस्तान्तरण गर्न खच्चडको माध्यमबाट ढुवानी गरेको छ । जनचेतना फैलाउनको लागि ह्याण्ड माईक २० वटा, प्लाष्टिक प्याकिङ ब्याग ७ हजार थान, हेभी ड्युटी माईक २ सय ४० वटासमेत स्थानिय तहलाई पठाईएको छ । सर्केगाड र सिमकोटको लागि सिमकोट बाट नै स्वास्थ्य सामग्री ढुवानी गरिएको छ भने दक्षिणी भेगका पालिकामा पनि सहयोग गर्नको लागि आगामी दिनमा पहल भइरहेको संस्थाले जानकारी दिएको छ ।

यसअघि हरेक घरधुरीलाई साबुन र मास्क संस्थाले वितरण गरेको छ । साथै, स्थानिय तहमा कोरोनाबाट जोगिनको लागि आवश्यक पर्ने सूचना जानकारीलगायत स्थानिय सञ्चार माध्यमबाट गरिरहेको छ । आफ्ना फिल्ड कर्मचारीमार्फत गाउँ–गाउँमा जनचेतना फैलाइरहेको छ । हाल बाहिरबाट जिल्लामा भित्रिने यात्रुको लागि भने क्वारेन्टाईनको व्यवस्थापन उचित हुन सकेको छैन । स्थनिय तहले कुनै प्रतिरक्षात्मक कार्यक्रममा तदारुकता नदेखाउँदा क्वारेनटाईनमा कोही पनि बसका छैनन् । लकडाउनको केही पनि प्रभाव नपरेको स्थानियको गुनासो रहँदै आएको छ ।

हरेक वडामा ३ वटा क्वारेनटाईनको बेड निर्माण गरेको भनेको सर्केगाड गाउँपालिकाको कुनै पनि क्वारेनटाईनमा जिल्ला बाहिरबाट आएका व्यक्ति बसेका छैनन् । ‘भनेको मान्दैनन्, प्रहरीको संख्या थोरै भएको कारण पनि यसको निगरानीमा कमी भएको छ, स्थानिय आफैले थाहा पाउनुपर्ने हो, केही वास्ता गर्दैनन्, हामीलाई टेर्दैनन्,’ सर्केगाड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर शाहीले भने ।

यसको लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशसन कार्यालयमा रिपोर्ट गरेको भएता पनि केही सुनुवाई नभएको शाहीको भनाई छ । सर्केगाड गाउँपालिकाले विपद् व्यवस्थापन गर्नको लागि हुम्ला जिल्लाकै अन्य स्थानिय तहभन्दा बढी रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले बताए ।

विपद् आएमा त्यसको तयारी र रोकथामको लागि गाउँपालिकाको कार्यपालिका वैठकले १ करोड १ लाखको रकम विनियोजन गरेको रोकायाको भनाई छ । पालिका भित्रिने नाकामा हेल्थ डेस्कको व्यवस्था उचित गरिएको भएता पनि साधनस्रोतले सम्पन्न नभएको कारण समस्या परेको अध्यक्ष रोकायाले बताए । हेड नेपालले प्रदान गरेको यस्ता स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मी र स्थानियवासीलाई सहज हुनेमा रोकायाको विश्वास छ ।

प्रतिक्रिया