स्वामीकार्तिक क्वारेन्टाइनबाट ३४ जना घर फर्किए

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३४ जना घर फर्किएका छन् । लकडाउन पछि भारतबाट आएर १९ दिनसम्म क्वारेन्टाइनमा बसेका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट नेगटिभ अर्थात कोरोना संक्रमण नभएको पाएपछि गाउँपालिकाले घर पठाएको हो ।

गाउँपालिकाले घरमा पनि एक हप्तासम्म अलग्गै बस्न वा होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै शनिबार ३४ जनालाई घर पठाएको क्वारेन्टाइनका व्यवस्थापक तथा प्रशासन सहायक कर्णविर बुढाले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको निर्णय अनुसार उनीहरूलाई कम्तीमा सात दिन घरमै बस्न र उचित सामाजिक दूरी कायम गर्न भन्दै घर पठाइएको इलाका प्रहरी कार्यालय स्वामीकार्तिकका प्रमुख कर्णबहादुर घर्तिले बताए ।

लकडाउन पछि भारतबाट नेपाल फर्किदै गर्दा सीमा क्षेत्रमा अलपत्र परेका उनीहरूको गाउँपालिकाले उद्धार गरी आफ्नै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनबाट घर पठाउँने क्रममा उनीहरूका शरीरको तापक्रमको अवस्थासमेत परिक्षण गरिएको र गाउँमा गएर सरसफाई गर्ने, उचित सामाजिक दूरी कायम गर्न, नियमित रूपमा साबुन पानीले हात धुन नछोड्न र एक ठाउँबाट अर्को ठाउँमा नजान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर रोकाया र स्वास्थ्य संयोजक पारस शाहीले आग्रह गरेका छन् ।

घर पठाइएका उनीहरूको अवस्थाबारे स्वास्थ्य स्वयंसेविकाले निगरानी राख्ने र कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल गाउँपालिकामा जानकारी गराउनु पर्ने बताइएको छ । क्वारेन्टाइनमा बसेका स्वामीकार्तिक खापर गाउँपालिका– ३ का लंक कामीले आफूहरु सीमा क्षेत्रमा अलपत्र परेको अवस्थामा गाउँपालिकाले उद्धार गरी क्वारेन्टाइनमा राखी आवश्यक व्यवस्थापन राम्रो गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया