बाँके । भेरी अस्पतालमा कोभिड—१९ को परीक्षणका लागि काठमाडौंबाट विज्ञसहितको टोली बिहीबार यहाँ आउने भएको छ । विज्ञको टोलीले पिसिआर (पोलिमरेज चेन रियाक्शन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालीम दिएपछि सम्भवतः शुक्रबारदेखि परीक्षण शुरु हुने अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डा.प्रकाशबहादुर थापाका अनुसार कोरोना परीक्षण गर्ने पिसिआर मेशिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण सुरु हुन सकेको थिएन । नेपालगञ्जमा परीक्षणको शुभारम्भपछि टोली सुदूरपश्चिमको सेती अञ्चल अस्पताल जाने कार्यक्रम रहेको डा.थापाले बताए ।
प्रदेश नं ५ सरकारले भेरी अस्पतालबाट कोरोना भाइरसको पिसिआर परीक्षण गर्ने निर्णय गर्नासाथ यसको तयारी सुरु गरिएको थियो । त्यसका लागि अस्पतालले एक माइक्रोबायोलोजिष्ट र अन्य ल्याब टेक्निशियनलाई तयारी अवस्थामा समेत राखिसकेको छ ।
डा. थापाका अनुसार अस्पतालमा रु २५ लाख मूल्यको पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएका छन् । आवश्यक जनशक्ति र पर्याप्त किट्स भएमा दिनमा १०० भन्दा बढी नमूना जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।
घर घरमा सामाजिक सुरक्षा भत्ता
चन्द्रौटा– कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ का ७५ वर्षीय मतिउल्ला मुसलमानलाई नगरपालिकाका प्रतिनिधिले घरमै आएर वृद्धाभत्ता दिएपछि खुशी छन् । सधैँ वृद्धा भत्ता लिन अर्को टोलमा जानुपर्ने भए पनि यस पटक आफ्नै घरमा आएर रकम दिएको उनले बताए ।
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि स्थानीय तहले सामाजिक सुरक्षा भत्ता घर घर पुगेर वितरण गरेका छन् । बैंकिङ प्रणाली लागू नगरेका स्थानीय तहले अहिले घर घरमा पुगेर भत्ता वितरण गरेका हुन् । कपिलवस्तुको विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर वितरण गरिसकेका छन् ।
कृष्णनगर नगरपालिकाले चार हजार ८९० जनालाई भत्ता वितरण गरेको छ । नगरमा रहेका १२ वडामध्ये एउटा वडा मात्र बाँकी रहेकाले बिहीबारसम्म सबैलाई वितरण गरिने नगरपालिकाका सूचना अधिकारी साकिर अहमद साहले जानकारी दिए । दोस्रो चौमासिकअन्तर्गत घर घरमा पुगेर रु चार करोड २३ लाख ९१ हजार ७०० वितरण भएको उनले बताए ।
संकटको बेलामा सरकारले प्रदान गर्ने भत्ता वितरण गरेपछि नागरिकको जीविकोपार्जनमा केही सहजता भएको नगप्रमुख रजतप्रताप साहले बताए । उनले वडाध्यक्ष र वडा सचिवलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा दिएको बताए ।
त्यस्तै लकडाउनलाई मध्यनजर गर्दै विपन्न परिवारलाई प्राथमिकता दिएर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले बताए । गाउँपालिकामा रहेका सात वटै वडाका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई रु दुई करोड ५६ लाख वितरण गरिएको उनले बताए ।
शिवराज नगरपालिकाले पनि बैंकिङ प्रणालीबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । वडा सदस्यबाट विपन्न परिवारको नामावली लिएर उनीहरुलाई दैनिक २५ जनाभन्दा कमलाई बैंकमा उपस्थित गराई वितरण गर्ने योजना बनाएको छ । विपन्न नागरिकलाई शुरुमा प्रदान गरिने शिवराज नगरपालिका–३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया