काठमाडौं । कोभिड–१९ का संदिग्धहरुको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् । हालसम्म भने कर्णालीमा करीब ८०० जनाको स्वाब संकलन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सुर्खेत प्रदेश अस्पतालमा स्थापित कोरोना परीक्षण प्रयोगशालाबाट आएको प्रतिवेदनले परीक्षणका लागि पठाइएका थ्रोट स्वाबको रिपोर्ट सबै नेगेटिभ देखिएको छ ।
रिपोर्टअनुसार कर्णाली प्रदेशका नागरिक यतिबेलासम्म सुरक्षित नै रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । मन्त्री रावलले भने, ‘यही प्रतिवेदनका आधारमा ढुक्क भइहाल्ने अवस्था छैन । यदि भइहाले त्यससँग कसरी जुध्ने भन्नेमा रणनीति बनाएर सरकार तयारी अवस्थामा रहेको छ ।’
यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई केन्द्रमा राखेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश अस्पताल सुर्खेत र चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमलाई कोरोना परीक्षण प्रयोगशाला बनाउनतर्फ पहल भइरहेको उनले बताए ।
स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन तीनवटै स्वास्थ्य संस्थामा प्रदेश सरकारले रु दुई करोड ५० लाख बजेट सहयोग गरेको उनले जनाए । उनले भने, ‘प्रदेश सरकारअन्तर्गतको जनस्वास्थ्य सेवा निर्देशनलाय, प्रदेश अस्पतालसहित १० जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकार अघि बढिरहेको छ । त्यसका लागि रु ६ करोड बजेट परिचालन गरिएको छ ।’
प्रदेश सरकारले यहाँका पाँच हजार जनाको नमूना परीक्षणका गर्ने उद्देश्यले पाँच हजार किट ल्याइसकेको उनको भनाइ छ । उनका अनुसार प्रतिष्ठान, प्रदेश तथा चौरजहारी अस्पताल गरेर झण्डै आइसोलेशन वार्ड निर्माण गर्न थालिएको छ । हाल १७ आइसियु कक्ष र आठ वटा भेन्टिलेटर यो प्रदेशमा व्यवस्था गरिएको छ । कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रण तथा उपचारका निम्ति २२ किसिमका औषधि खरीदका लागि प्रदेश सरकार जनस्वास्थ्य सेवा निर्देशनालयले आजै बोलपत्र आह्वान गरेको छ ।
कर्णाली प्रदेश सरकारले यो तीन हप्तामा हेल्थ डेस्कबाट यहाँका एक लाख नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ । कोरोना प्रतिकार्यलाई केन्द्रित गरेर यो प्रदेशभरि बनाइएका ५४ वटा हेल्थ डेस्कबाट एक लाख १७ हजार ६४२ जना नागरिकलाई स्वास्थ्य जाँच सेवा प्रदान गरिएको मन्त्री रावलले बताए ।
‘यो प्रदेशका चार हजार १२ क्वारेन्टाइन निर्माण गरिएकामा ७९२ जना क्वारेन्टाइनमा रहेका थिए । त्यसमा चैत १५ गतेदेखि वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा बनाइएको क्वारेन्टाइनमा राखिएका १८३ जना सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट, जुम्ला र अछामका नागरिकलाई प्रदेश सरकारले आजै सम्बन्धित जिल्लातर्फ पठाएको छ,’ उनले भने ।
कर्णाली प्रदेश जनस्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी (भण्डारी) ले प्रदेश सरकारले करीब आठ सय जनाको स्वाब संकलन गरिएको बताइन् । अहिलेसम्म ३१६ जनाको रिपोर्ट आएकामा सबै नेगेटिभ देखिएको र केन्द्रबाट अझै ३२९ जनाको रिपोर्ट आउन बाँकी रहेको उनले बताइन् । उनका अनुसार पाँच हजारको नमूना परीक्षण गर्न ९ जिल्लामा किट पठाइसकिएको र डोल्पामा भने भोलि पठाइनेछ ।
यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मङ्गल रावलले जुम्लाबाट नमूना परीक्षणका लागि पठाएको ३२४ जनाको स्वाब रिपोर्ट आज बेलुकासम्म आइपुग्ने जनाए । जुम्लाबाट हालसम्म ९ जनाको स्वाब सकंकन गरी नमूना परीक्षण गरिएकामा नौजनाकै नेगेटिभ देखिएको उनको भनाइ थियो ।
प्रदेश सरकारले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, नियन्त्रणार्थ दल तथा नागरिक तहदेखि सबै क्षेत्रलाई समेटेर लैजाने रणनीतिलाई अघि सारेको छ । कोरोनाको भोलि आउने सम्भावित जोखिमलाई सामना गर्ने गरी स्वास्थ्य क्षेत्रको जनशक्ति परिचालन, सुरक्षा व्यवस्था व्यवस्थापन र वडास्तरमा स्वयंसेवक खटाउने गरी सरकारले तयारी थालेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले जानकारी दिए ।
प्रतिक्रिया