सिमीले बजार नपाएपछि चामलसँग साट्दै किसान

रुकुमपूर्व । रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ । किसानले एक पाथी चामल बराबर त्यति नै सिमी साट्ने गरेका छन् । सिस्ने गाउँपालिका वडा नम्बर १ का सबै ठाउँमा सिमी फल्छ । सबैले बराबर परिमाणमा सिमी दिएर चामल साट्ने गरेका छन् । उनीहरूले चामल लिएर घरमा आउने जो कोहीलाई सिमी दिएर पठाउँछन् ।

सिस्ने गाउँपालिका वडा नम्बर १ का मनराज बुढाले प्रशस्त मात्रामा सिमी उत्पादन भएपनि बजार नपाउदा चामलसँग साट्न थालेको बताए । भुमे गाउँपालिका वडा नम्बर २ की बलकुमारी बुढाले पनि आफूले उत्पादन गरेको सबै सिमी बिक्री गरिसकेकी छन् । शिक्षक र व्यापारीले समेत चामलसँग सिमी साटेर बजारसम्म पुर्याउने गरेका छन् ।

चामलसँग साट्दा सिमीको कम मूल्य पर्ने गरेको स्थानीय नन्दराम बुढाले बताए । भुमे गाउँपालिकाको वडा नम्बर १, २, ३ र अन्य वडामा पनि प्रशस्त मात्रामा सिमी उत्पादन हुने र चामलसँग नै सिमी साट्ने गरिन्छ । व्यापारीले दुई बोरा चामल दिएपछि आफुले एक बोरा सिमी दिने गरेको र त्यो सिमी व्यापारीले बजारमा लगेर दोब्बर रुपैयाँमा बेच्ने गरेको बलकुमारीले बताइन् ।

गाउँबाट चामलसँग साटेर ल्याएको सिमी व्यापारीले बजारमा रु ६ सयदेखि १ हजार रुपैयाँ प्रतिपाथी बेच्ने गरेका छन् । जिल्लाको अधिकांश क्षेत्रमा धान उत्पादन हुँदैन, मुख्य खाद्यान्न बाली भनेकै मकै, गहुँ, आलु हो । भात खानका लागि हुनेहरूले सिमी साटफेर गर्छन् भने नहुनेले किनेर खान्छन् ।

गाउँको उत्पादनले भनेजस्तो बजार नपाएको सिस्ने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मानबहादुर बुढाले बताए । सडकसञ्जालमा नजोडिएको त्यस क्षेत्रमा उत्पादन हुने हरेक बस्तुहरूको अवस्था यस्तै रहेको छ । प्रशस्त मात्रामा उत्पादन हुने आलु पनि बजार पुर्याउन नसक्दा कुहिएर खेर जाने गरेको छ । वडामा जहिलेसम्म सडक पुग्दैन त्यतिबेलासम्म समस्याको अन्त्य नहुने वडा अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया