सहकारी सदस्यलाई रकम उपलब्ध गराउन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमणको चुनौती सामना गर्न जारी लकडाउनको अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरूलाई आग्रह गरेको छ ।

कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर सो परिपत्र गरेको हो ।

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र संक्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, संक्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताए ।

सहकारीमा न्यून तथा मध्यम आय भएका व्यक्तिले थोरैथोरै गर्दै गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरूको यो बचत भोलि आउने अप्ठ्यारोका लागि हो । विभागका उपनिर्देशक सुमन अधिकारीले भने, ‘अहिले शहरी गरिब तथा न्यून र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेको छ ।

उनीहरूलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नुस् ।’ उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।

प्रतिक्रिया