खोजखबर

कोरोना संक्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान

सौर्य अनलाइन २०७६ चैत १८ गते १३:५२ मा प्रकाशित

बागलुङ । बागलुङकी कोरोना भाइरसकाट संक्रमित १९ वर्षीया युवतीलाई पोखराबाट उनको घरसम्म पुर्यार्उने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ्रे गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ ।

उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् । युवतीलाई गत शनिबार कोरोना संक्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुल्न आएपछि उत्त गाडीका चालकको खोजी सुरु भएपछि आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आएका हुन् । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।

स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको जानकारी दिए।

हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उनले बताए । ‘चालक अहिले हामीहरूको दैनिक निगरानीमा रहनुभएको छ, उहाँमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन’, वडाध्यक्ष लम्सालले भने ।

चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले चालक आफूहरूको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताए । व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना संकलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षितसाथ बस्न आग्रहसहित पठाइएको उनले जानकारी दिए ।

गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ

गण्डकी प्रदेशमा कोरोना भाइरसको आशंकामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि संकलन गरिएकोमा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।

कोरोना संक्रमण फैलन नदिनका लागि हालसम्म प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ श्यया तयारी अवस्थामा राखिएको छ । केही क्वोन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत बताइन्छ ।

त्यसैगरी हालसम्म विभिन्न अस्पतालमा २९९ आइसोलेशन श्यया तयार गरिएको छ । प्रदेशमा एक जना संक्रमित भेटिइ सकेकाले संक्रमण थप फैलन नदिनका लागि संक्रमितको उपचार र व्यवस्थापन, कन्ट्र्याक्ट ट्रेसिङ, द्रुत प्रतिकार्य टोली (आआरटी) परिचालनलगायतलाई तीव्रता दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कोरोनाका बारेमा जानकारी लिन–दिनका लागि बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म ‘हेल्लो डक्टर हटलाइन सेवाः १०९२’ सुरुआत गरिएकामा हालसम्म १०५ जनाले सेवामार्फत कोभिड–१९ तथा अन्य स्वास्थ्यसम्वन्धी परामर्श लिएको छ । हटलाइन सेवामा सर्वसाधारणले कोरोनाका बारेमा सम्पूर्ण जानकारी तथा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको परामर्शसमेत लिन सक्ने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय