लिंगासैनी युथ क्लवद्वारा सर्जिकल पञ्जा वितरण

कालिकोट । महामारीको रूपमा फैलिँदै गएको कोरोना भाईरस अर्थात कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि कालिकोटका युवाहरू सक्रिय देखिएका छन् । लिंगासैनी युथ क्लव कालिकोटले जिल्लामा रातदिन नभनि सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई तीन सय पिस सर्जिकल पञ्जा वितरण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियालाई सर्जिकल पंञ्जा हस्तान्तरण गरीएको छ । कालिकोटमा कार्यरत सुरक्षाकर्मी तथा बजारमा रहेका बैंक, वित्तिय संस्था, केही व्यापारीहरूलाई सोमबार पञ्जा वितरण गरिएको लिंगासैनी युथ क्लवका अध्यक्ष हिक्मतजंग मल्लले जानकारी दिए ।

उनले यतिबेला कोरोनाबाट बच्न युवाहरूले महत्वपुर्ण भूमिका खेल्नु पर्ने र बृद्ध बृद्धाहरूलाई कोरोनाबारे धेरै जानकारी नभएकाले समाजमा रहेका युवाहरू सक्रिय भएर लाग्नुपर्ने बताए । युवा रमेशविक्रम शाही,महेश भारती,अम्मरजंग शाही आज दिनभर कालिकोटको सदमुकाम मान्ममा पञ्जा तथा सेनिटाईजर वितरण गर्नमै व्यस्थ छन् ।

देशभर लकडाउनको बेला कसैलाई माक्स अपुग छ भने कसैलाई सर्जिकल पञ्जा अभाव भएको छ । कालिकोटका विभिन्न स्थानमा रहेका विद्यालयमा क्वारेन्टाईन बनाइए पनि कतिपय ठाउँमा बनेका क्वारेन्टाईन रित्तै छन् । भारत तथा अन्य देशबाट आउने नेपाली नागरिकहरूलाई सबै युवाहरूले १४ दिनसम्म क्वारेन्टाईनमा बस्न पहल गर्नुपर्ने रमेश विक्रम शाहीले बताए ।

‘आफ्नो ज्यान बचाऔँ, अरुलाई पनि बचाऔँ’ भन्दै सबैजना कोरोनाविरुद्ध लडिरहेका छन् । कालिकोटमा रहेका स्वास्थ्य संस्थाहरूमा आवश्यक सामग्री अपुग हुँदा स्वास्थ्यकर्मीहरु उपचारमा खटिन मुस्कील भएको छ । भारतवाट ज्याला मजदुरी गरी नेपाल फर्केका नागरिकसँग भरपर्दो स्वास्थ्य सामग्री विनै स्वास्थ्य जाँच गर्नुपर्दा आफूहरू चिन्तामा रहेको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका संयोजक रविन्द्र सेजुवालले बताए ।

‘धेरै स्वास्थ्य कर्मीहरूको गुनासो एउटै छ, भारतवाट घर फर्किनेको अहिले लर्को छ, पालिकाले निर्माण गरेका क्वारेन्टाईनमा राखेका छाँ , तर कतियप नागरिकहरू क्वारेन्टाईनमा बस्न नमानेर भागिरहेका छन्’, उनले भने । चेकजाँच गर्दा प्रयोग हुने, पिपिई लगायतका भरपर्दो स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा छैन ।

जोखिम मोलेरै जाँच गर्नु बाध्यता परेको स्वास्थ्यकर्मीहरूले सुनाउने गरेका छन् । लिंगासैनी युथ क्लवले कोरोनाबाट बच्न संस्थाको लगानीबाट विभिन्न किसीमका सामग्रीहरू वितरण गरिहेको छ । यसअघि पनि उक्त क्लवले कर्णाली अञ्चलकै पहिलो भलिवल प्रतियोगिता सञ्चालनमा ल्याई सफलरूपमा सम्पन्न गरेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया