प्रतिक्रियावादी राष्ट्रवाद र प्रगतिशिल अन्तर्राष्ट्रियतावाद

कोरोना (कोभिड१९)ले विश्व युद्ध सुरुवात गरिसकेको वेला चीनवाट केही राम्रा शिक्षाहरु अवश्य पनि ग्रहण गर्न पर्दछ । तर चीनले केही गम्भीर गल्तिहरुपनि गरेको छ, त्यसलाई अरु देशले अपनाउनु कदापि हुँदैन ।

चिनियाँ शासकहरुले कोरोनाको सुरुवाती चरणमा गरेको वेवास्ता, लापरवाही, यसको सम्भावित खतरावारे सचेत गराउने डाक्टरलाई गरेको तानाशाही व्यवहार आदिवाट विश्वका र नेपालका वर्तमान शासकहरुलेपनि सिक्न पर्ने हो । तर युरोप अमेरिकाका शासकहरुले सोही गल्तिहरुलाइ दोहो¥याएकोले अहिले समस्याले विकराल रुप लिइरहेको छ र अनाहकमा निरपराध जनताको ज्यान गैररहेको छ ।

नेपालको नेकपा सरकारले अझैपनि गम्भीरतासाथ र तीब्रतासाथ कोरोना महामारी विरुद्ध लजिष्टिक्सको तयारी नगरेको, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र सम्वद्धहरुलाई सुरक्षा सामाग्री जुटाइदिन ढिलाइ गरेको, निजी अस्पतालहरुलाइ उपचारमा संलग्न गराउन कडाइ नगरेको, श्रमिक जनतालाई राहत प्याकेज ल्याउन ढिलाइ गरिरहेको, दिर्घकालीन योजना वनाउन नसकेको आदि गुनासाहरु अहिले व्याप्त छन् । वाघले घिच्याउन थालेपछि चिच्याएर फाइदा हुन्न भन्ने जनताको आवाज जायज छन् ।

चीनमा कोरोना फैलिएपछि अन्य देशले चीनवाट आउने हवाइ तथा स्थल मार्ग वन्द गर्र्न थाल्दा चिनियाँ शासकहरुले तीब्र विरोध गर्दै चीनलाई एक्ल्याउन खोजेको आरोप लगाएको थियो र नेपाल जस्ता साना देशहरुलाइ त्यसो नगर्न दवाव दिएको थियो । तर अहिले भने चीनले विदेशी यात्रीहरुलाई चीनमा आउन प्रतिवन्ध लगाएको छ । चीनको यो दोहोरो मापदण्डले तथा चीन वाहिर जानेहरुलाईपनि समय मै प्रतिवन्ध नलगाएकोले यो समस्या विश्वव्यापी हुन गयो ।

अहिले सबै जसो देशका शासकहरुले वाहिरवाट आफ्नो देशमा आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । तर आफ्नो देशवाट वाहिर जानेहरुलाई भने क्वारेन्टाइनमा राखेर कोरोना नभएको प्रमाणित गरेर पठाउने गरेको छैन । यो भनेको प्रतिक्रियावादी राष्ट्रवादको उदाहरण हो । अहिले चाहिएको प्रगतिशील अन्तराष्ट्रियतावाद हो, प्रतिक्रियावादी राष्ट्रवाद होइन ।

आफु भलो त जगत भलो, जसरी भएपनि आफु वाँचौ भन्ने पूँजीवादी विचारधारावाट मात्र कोरोना विरुद्ध लड्न सकिन्न भन्ने प्रष्ट भैसकेको छ । जगत भलो त आफु भलो, संसार वाँचे आफु पनि वाँच्न सकिन्छ भन्ने साम्यवादी विचारधाराको महान हतियारले मात्र कोरोना महामारीहरु विरुद्ध विजय पाउन सकिने स्पष्ट देखिंदैछ ।

कुनै एक देशमा, एक शहरमा, एक गाउँमा , एक व्यक्तिमा कोरोना भाइरस रहे सम्म कोरोना भाइरसको यस्तो महामारी फेरि आउने कुरा वैज्ञानिक यथार्थ हो । सबै मिलेर अन्तराष्ट्रियतावादी सोच र योजना अनुसार यस महामारीका विरुद्ध युद्ध गर्नु अहिलेको आवश्यकता हो ।

यस महामारीले पूँजीवादी विचारधारा, पूँजीवादी स्वास्थ्य व्यवस्था, पूँजीवादी अर्थ व्यवस्था, पूँजीवादी राजनैतिक व्यवस्थाको सीमा, प्रतिक्रियावादी स्वरुप र महामारी लगायत वहुसंख्यक जनताका गम्भीर समस्याहरुका विरुद्ध लड्न सक्ने असक्षमता उजागर गरेको छ ।

प्रतिक्रिया