पोर्चुगलमा पनि भेटियो तीन नेपालीमा कोरोना

पोर्चुगल । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजंग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे ।

यस्तै, संघका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटेर धैर्य गर्न अनुरोध गरेका छन् । ‘हामी संघका तर्फबाट उनीहरूलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ,’ उनले भने । उनले क्वारेन्टाइनमा राखिएका नेपालीमा संक्रमण नदेखिएकाले उनीहरूलाई स्वास्थ्य जाँचपछि छिट्टै छाडिने बुझिएको जानकारी दिए ।

सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको संक्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गरेका छन् । यस्तै, क्षेत्रिय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरे ।

कोरोनाबाट जोगिन दूतावासको आग्रह

नेपालीमा संक्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरूको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पुर्याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ । वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए ।

उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा संक्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । संक्रमणबाट बच्न पोर्चुगल सरकारले आपत्कालीन घोषणा गरिसकेको छ ।

प्रतिक्रिया