अन्तर्राष्ट्रिय टेस्टमा दाजु–भाइबीचको प्रतिस्पर्धा !

लन्डन । युसुफ पठान–इरफान पठान, हार्दिक पाण्डेय–क्रुनाल पाण्डेय, स्टिभ वा मार्क त्यस्ता भाइ हुन जसले एउटै टिमबाट खेलेका थिए । तर, यस्तो पनि एक परिवार छ, जसका तीन भाइ अन्तर्राष्ट्रिय क्रिकेटमा एकसाथ एक–अर्काविरुद्ध उत्रिएका थिए ।

यो घटना १२८ वर्ष पहिलेको हो । सन् १८९२ को मार्च १९ तारिख साउथ अफ्रिका र इंग्ल्यान्डबीच केप टाउनमा भएको टेस्ट खेलमा उक्त दृश्य देखिएको थियो ।

यस खेलमा एउटै परिवारका तीन भाइ फ्रान्क हेर्न, एलेक हेर्न र जर्ज गिब्सन हेर्नले खेलेका थिए । फ्रान्क दक्षिण अफ्रिका टोलीका सदस्य थिए भने जर्ज र एलेक इंग्ल्यान्ड टोलीका सदस्य थिए ।

फ्रान्कले यसअघि इंग्ल्यान्ड टोलीबाट तीन वर्ष खेलेका थिए । तर, आश्चर्यको विषय यो हो कि फ्रान्क दक्षिण अफ्रिकाबाट डेब्यु गर्दै थिए । यता एलेक र जर्ज पनि सोही खेलमा इंग्ल्यान्ड टोलीबाट डेब्यु गर्दै थिए ।

उक्त खेलमा एक सौतेला भाइ पनि रहेको रिपोर्टमा उल्लेख छ । उनको नाम ज्याक हेर्न हो । विश्व अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा एकै परिवारका चार सदस्य एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको यो नै पहिलो र अन्तिम घटना भएको रिपोर्टमा उल्लेख छ ।

खेलको कुरा गर्ने हो भने इंग्ल्यान्डले खेल १८९ रनले जितेको थियो । दक्षिण अफ्रिकाले पहिलो पारीमा सबै विकेट गुमाउँदै ७९ रन जोडेको थियो । यता इंग्ल्यान्डले भने ३ सय ६९ रन जोड्यो ।

त्यस्तै दोस्रो पारीमा दक्षिण अफ्रिका ८३ रनमा अलआउट भयो । उक्त खेलमा फ्रान्क २३ रन जोड्दै दक्षिण अफ्रिकाका लागि सर्वाधिक रन जोड्ने खेलाडी बने । उनले पहिलो पारीमा २४ रन जोडेका थिए ।

यता इंग्ल्यान्डका लागि एलेक हेर्नले ९ रन र ज्याक हेर्नले ४० रनको पारी खेलेका थिए । जर्ज हेर्न भने शून्य रनमा पेभिलियन फर्किएका थिए ।

प्रतिक्रिया