भारतमा एकदिने जनता कर्फ्यु

एजेन्सी । भारतमा आइतबार जनता कर्फ्यु लागू भएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि भन्दै भारतमा आइतबार कर्फ्यु लगाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा भएको जनता कर्फ्यु १४ घन्टा मात्रै भएको अधिकारीहरुले जनाएका छन् ।

जनता कर्फ्युबाट एक अर्बभन्दा धेरै मानिस प्रभावित भएको उनीहरुको भनाइ छ । स्थानीय समयअनुसार बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म कर्फ्यु लागू हुने जनाइएको छ । सामाजिक सञ्जाल ट्वीटरमा प्रधामन्त्री मोदीले जनता कर्फ्युलाई पालना गर्न र कोरोनाविरुद्धको लडाइँमा एकजुट हुन आह्वान गरेका छन् । उनले आइतबारका लागि जनता कर्फ्यु लगाउन अधिल्लो हप्ता नै आह्वान गरेका थिए ।

यो जनता कर्फ्युबाट भाइरसविरुद्ध लड्ने भारतीय क्षमता परीक्षण हुने उनको भनाइ छ । जनता कर्फ्युमा सबै जनता आफ्नै घरभित्र बस्ने र बाहिर ननिस्कने व्यवस्था गरिएको छ । जनता कर्फ्युका कारण भारतमा आइतबार आवश्यक सामग्री बेच्नेबाहेक सबै पसल, यातायातका साधनलगायत बन्द भएका छन् भने बजार सुनसान रहेका छन् । भारतका कतिपय स्थानमा यसअघि नै लामो समयका लागि बन्द घोषणा गरिएको छ ।

प्रतिक्रिया