सांस्कृतिक प्रतिरोध दिवस

काभ्रे । कोभिड–१९ का कारण हरेक वर्ष ५ चैतमा अनैकोटमा मनाइने सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष अनौपचारिकरुपमा मात्रै मनाइएको छ । सशस्त्र माओवादी विद्रोहका बेला जनकलाकारले सांस्कृतिक कार्यक्रमका माध्यमबाट क्रान्तिको चेतना जगाउनेक्रममा विसं २०५५ चैत ५ गते काभ्रेको पाँचखाल नगरपालिका–१ अनैकोट (साविक अनैकोट गाविस) सातजना कलाकारको हत्या भएको थियो ।

एक स्थानीयको घरमा आश्रय लिएर बसिरहेका अवस्थामा तत्कालीन राज्यपक्षका सुरक्षाकर्मीबाट घरमा घेरा हाली सात जनकलाकारको घरमा आगो लगाइ हत्या भएको थियो । सो क्रममा माओवादी संस्कृतिकर्मी च्याङ्बा लामा, गुम्बासिंह तामाङ, निर्मला देवकोटा, सुभद्रा सापकोटा, मञ्जु कुँवर, चिनीमाया लामा र डम्बर श्रेष्ठको हत्या भएको थियो ।

कोरोना भाइरस सन्त्रासले ठूला कार्यक्रम गर्न नमिल्ने भएपछि नेकपा पार्टी कमिटी अनैकोट र जिल्लाका नेताको उपस्थितिमा सांस्कृतिक सहिदको शालिकमा टीका र माल्यार्पण गरी मनाएको हो । नेकपा काभ्रेका अध्यक्ष रुक्कु चौलागार्इँले सहिदको अधुरो सपना पूरा गर्न पार्टीपंक्ति र आफू सधैँ दृढताका साथ लागिरहने प्रतिबद्धता व्यक्त गरे । अब अनैकोटको सहिद भूमिको विकास र सहिद पार्कलाई पूर्णता दिनका लागि अनैकोट सांस्कृतिक प्रतिष्ठान गठन गर्ने कामलाई तीव्रता दिने काममा आफू छिट्टै लाग्ने उनले बताए । अहिले सो ठाउँमा सातजना सहिदको शालिक निर्माण गर्नुका साथै सहिद स्मृति मञ्च निर्माणको काम भइरहेको छ ।

त्यससँगै सहिद स्मृति पार्क निर्माण गर्न डिपिआर तयार गर्ने काम भइरहेको वडा नं २ का वडाध्यक्ष हरि खतिवडाले बताए । ‘करिब तीनदेखि चार करोडको डिपिआर तयार हुँदैछ, करिब दुई हप्ताभित्रमा त्यो सम्पन्न हुने कुरा भइरहेको छ’, उनले भने, ‘त्यसका लागि करिब ७०÷८० रोपनी जग्गामा सहिद स्मृति पार्क निर्माण गर्ने तयारीमा छौँ ।’ विसं २०७० देखि नै सो ठाउँमा सहिद स्मृति पार्क निर्माण गर्ने कुरा उठाइरहेको भए पनि अझै त्यसलाई पूर्णता दिइएको छैन । यसैबीच जनसांस्कृतिक महासंघले पनि कोरोना भाइरसका कारण यस वर्षको सांस्कृतिक प्रतिरोध दिवस नमनाउने निर्णय गरेको महासंघका सहसंयोजक सरल सहयात्रीले जानकारी दिए ।

प्रतिक्रिया