काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) ले नेपालमा औषधिको अभाव हुन नदिने बताएको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जनाएको हो ।
संघले अहिले देखिएको कोरानाले औषधिका उपलब्धतामा कुनै असर नपर्ने दाबी गरको हो । उनीहरूले कम्तिमा ६ महिना पुग्ने औषधि नेपालमा रहेको भन्दै उपलब्धतामा तत्काल कुनै असर नपर्ने दाबी समेत गरे ।
कोरोनाको त्रास र त्यसले औषधि बजारमा देखा पर्न सक्ने असरको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा एपोनका अध्यक्ष जी. नारायणबहादुर क्षेत्रीले औषधि उत्पादकसँग कम्तिमा तीन महिनालाई पुग्ने कच्चा पदार्थ भएको बताए । उनले बजारमा गएको तथा तयारी औषधिको मौज्दात तीन महिनालाई पुग्ने र यसले अबको छ महिनासम्म पुरै नाका नै ठप्प भए पनि औषधि अभाव नहुने बताए ।
उनले कोरोनाको प्रभाव अबको छ महिनासम्म अहिलेकै अवस्था नरहने समेत सुनाए । उनले थपे, ‘चीनले भ्याक्सिन बनाइसकेको दाबी गरेको छ, त्यसैले अब भाइरसको व्यवस्थापन हुन्छ । कोही पनि आत्तिनुपर्दैन ।’
कार्यक्रममा भारतले केही औषधिको निर्यातमा रोक लगाए पनि नेपालमा अभाव नहुने बताएका हुन् । नेपालमा अझै तीन महिनासम्मका लागि औषधि र कच्चा पदार्थ मौज्दात रहेको जानकारी दिएका हुन् । उनीहरूले भारतले रोक लगाएका औषधि तत्कालै अभाव हुन्छ भनेर डराउनु पर्ने अवस्था नरहेको पनि बताए ।
एपोनका महासचिव विप्लव अधिकारीले नेपालमा ६२ वटा एलोपेथिक औषधि उत्पादन गर्ने कम्पनी सञ्चालनमा रहेको र थप ४२ वटा कम्पनी निर्माण चरणमा रहेको जानकारी दिए । उनले कोरोनाको प्रभावका कारण भारतले २६ वटा उत्पादन र कच्चा पदार्थ निर्यातमा रोक लगाएको भन्दै त्यसका बाबजुद नेपालमा औषधिको अभाव नहुने बताए ।
उनले चाहिने भन्दा बढी औषधि खरीद नगर्न सबैलाई अनुरोध गरे । उनले भने, ‘कहिलेकाँही अभाव होला कि भनेर आवश्यकताभन्दा धेरै अनावश्यक रूपमा औषधि खरिद गर्ने चलन छ । यसले यत्तिकै भयावह अवस्था सिर्जना गर्छ । कृतिम अभाव सिर्जना हुनसक्छ । त्यसैले अनावश्यक औषधि खरीद गरेर नराखौँ । औषधि अभाव हुन्न ।’
कार्यक्रममा उनले स्वदेशी उद्योगलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताए । उनले भने, ‘हामी अहिलेकै अवस्थामा ७५ प्रतिशत आत्मनिर्भर हुनसक्छौँ तर राज्यले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउनुप¥यो । हाल हाम्रो बजार ४५ प्रतिशतको मात्रै छ ।’ उनले विदेशी कम्पनीको भर नहुने भन्दै स्वदेशी उद्योगलाई प्रवर्धन गर्नुको विकल्प नभएको बताए ।
त्यस्तै एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले नेपालमा उत्पादन हुने औषधि अभाव नहुने बताए । उनले अहिले पनि चीनबाट कच्चा पदार्थ आइरहेको भन्दै आम सर्वसाधारणलाई ढुक्क हुन आग्रह गरे । उनले भूकम्प ÷ नाकाबन्दीको समयमा पनि एपोनले औषधि अभाव हुन नदिएको भन्दै देशलाई संकट परेको बेला नेपाली औषधि उद्योगले एक मनले सहयोग गरेको बताए ।
प्रतिक्रिया