काठमाडौं । पूर्वी नवलपरासीको बुलिङटार गाउंँपालिका वडा नं १ कोटथर र २ भाङबारीमा निःशुल्क स्वास्थ्य शिविर बिहिवार सम्पन्न भएको छ । त्यहाँका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको पत्रकार सन्दिपकुमार श्रेष्ठले जानकारी दिए । गंगा स्वास्थ्य दर्पण फाउण्डेशनका अध्यक्षसमेत रहेका श्रेष्ठले बुलिङटार गाउंँपालिका र गंगा स्वास्थ्य दर्पण फाउण्डेशनको संयुक्त आयोजनामा भएको बताए ।
उक्त शिविरमा मुटुरोग, मेरुदण्ड, हाडजोर्नी तथा नशारोग र महिला रोगसम्बन्धी उपचार गरिएको उनको भनाई थियो । श्रेष्ठका अनुसार २ दिन सञ्चालित शिविरमा मुटुरोगका १ सय ४० जना, हाडजोर्नीका २ सय १९ जना र बाँकी महिला रोगका १ सय ३१ जना सहित ४ सय ९० जनाले स्वास्थ्य परीक्षण गराएका थिए।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनोजकुमार श्रेष्ठका अनुसार हार्ट फेलर, बाथ मुटुरोग, धेरै जनामा उच्च रक्तचापको समस्या देखापरेको छ । त्यस्तै, हाडजोर्नी रोग विशेषज्ञ डा. विश्वराज अधिकारीले बिरामीमा मेरुदण्ड खिइएको, ढाडको नशा च्यापिएको, युरीक एसीड, कुमको जोर्नी जामको समस्या बाट पिडित बिरामी बढी देखिएको बताए । चिकित्सकका अनुसार ५ जना महिलाहरुमा आङ खसेको समस्या र धेरैजसो बिरामी सेतो पानी बग्ने समस्याबाट पीडित रहेको उपचारमा संलग्न चिकित्सहरुले जानकारी दिए ।
शिविरमा ‘कलेज अफ मेडिकल साईन्सेस’ का वरिष्ठ मुटुरोग विशेषज्ञ मनोजकुमार श्रेष्ठ, भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा. विश्वराज अधिकारी, डा. उडय दिवाकर र डा. सिर्जना न्यौपानेलगायतको चिकित्सकीय टोलीले सेवा दिएका थिए। शिविरमा मुटुको ईकोकार्डियोग्राफी सेवा प्रदान गरीएको थियो । शिविरमा प्राविधिक सहयोग मौलाकालिका अस्पताल प्रालि भरतपुर, कलेज अफ मेडिकल साईन्सेस भरतपुर र बिरामीका लागि आवश्यक औषधि भेगा फर्मास्युटिकल्स प्रालि काठमाडौंले सहयोग गरेको थियो।
औपचारीक कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका प्रमुख अशोककुमार श्रेष्ठले गंगा फाउन्डेशनसँग बुलिङटार गाउँपालिकाले स्वास्थ्य कार्यक्रमलाई यसरी हातेमालो गरी सबै वडामा सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमकी प्रमुख अतिथि गाउंँपालिकाकी उपाध्यक्ष मैना विकले यस्ता शिविरबाट बिरामिहरू घरबाट स्थानिय स्वास्थ्य संस्था हुदै थप उपचारका लागि आवश्यक भएमा शहरमा रहेका सुविधा सम्पन्न अस्पतालहरुमा जानका लागी कोसेढुङ्गा साबित हुने बताइन् । गाउंँपालिकाका बाँकी ५ र ६ नम्बर वडामा चैत्र महिनाभित्र शिविरको आयोजना सम्पन्न गर्ने फाउण्डेसनका अध्यक्ष तथा पत्रकार श्रेष्ठले बताए ।
प्रतिक्रिया