एसिड हान्नेलाई ८ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने अभियुक्तबाट एक करोड बढी उपचार खर्च भराउन आदेश दिएको छ । युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई दोषी ठहर गर्दै अदालतले ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला पनि गरेको छ ।
जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो । केशरीले हेटौंडा उपमहानगर–२ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए । अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन अदालतले आदेश दिएको छ । अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

केशरीलाई साविकको मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नम्बर मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।  केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकारले पीडितलाई मनासिब माफिक अर्थात् उचित उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ । उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए । प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० साल वैशाख ९ मा कंसाकारको अनुहारमा एसिड प्रहार गरेर गरेका थिए । एसिड प्रहार गर्ने केशरी हेटौंडामा व्यापार गर्थे । उनलाई ६ वर्षपछि बाराको जितपुर–सिमरा उपमहानगर–२३ भलोहीस्थितबाट गत कार्तिक १४ पक्राउ गरिएको थियो । त्यसको एक सातापछि सहयोगी मण्डललाई हेटौंडाबाटै पक्राउ गरेको थियो । सफल व्यवसायी र समाजसेवी बन्ने लक्ष्य लिएकी बिन्दावासिनीको एसिडबाट बनेको घाउमा क्रिम तथा औषधिमा मासिक करिब २० हजार खर्च हुने गरेको छ । उपचारका क्रममा हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया