तमोर लिफ्टिङ खानेपानी योजना प्रमद्वारा उद्घाटन

पाँचथर । जिल्लाको दक्षिणी क्षेत्र यासोकमा, तमोर लिफ्टिङ खानेपानी आयोजनाको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन भएको छ । प्रम ओलीले सुक्खाक्षेत्रका मानिसले अब ढाड खुस्कने गरी दिनभरी पानी बोक्ने दिन गए, जनतालाई सुलभ सेवा दिन सरकार लागिपरेको जनाउँदै विकास निर्माणका काम तपाईंहरूले नै गर्नुपर्ने भन्दै धन्यवाद दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, पूर्वसभामुख शुभाषचन्द्र नेम्वाङले प्रदेश–१ को विकास तीव्रगतिमा लम्किएको विचार व्यक्त गरे । ओलीले देश विकास भए बिजुलीको महसुल तिर्न नपर्नेसमेत व्यक्त गरे ।

यसक्षेत्रका नागरिकलाई खानेपानीको अभावले प्रत्येक वर्ष सयौँको संख्यामा बसाइँ सर्ने गरेको कुम्मायक गाउँपालिकाअन्तर्गत यासोक, रानीगाउँ र स्यारुम्बाबाट अब बसाइँ सर्ने क्रम रोकिने उपभोक्ता समितिका अध्यक्ष एवं पूर्वमन्त्री डम्बरसिं सम्वाहाम्फेले बताए । तमोर खोलाबाट ९ दशमलव १४६ किलोमिटर टाढाबाट पम्पिङ गरेर ल्याएको पानी यासोक बजारसम्म आइपुगेको जानकारी समितिका अध्यक्ष सम्वाहाम्फेले व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री, साथै पाँचथरे युवा मन्त्री ईन्द्रबहादुर आङ्बो, पूर्वसभामुख शुभाषचन्द्र नेम्वाङ लगायतको उपस्थिति रहेको पूर्वमन्त्री सम्वाहाम्फेले जनाएका छन् ।

यासोक रानीगाउँ स्याबरुम्वा क्षेत्रका ३ हजार ४३ घरधुरीलाई पानी खुवाउने महत्वकांक्षी योजनाका रूपमा ०७२ सालबाट सुरु गरिएको थियो । हाल यो योजनाबाट २ हजार २ सय घरधुरीलाई पानी खुवाउन थालिने समितिले जनाएको छ ।

घरघरमा पाइपलाई जडान गर्ने कार्य तीव्ररूपमा भइरहेको र केहीक्षेत्रमा भने बाटो निर्माणका कारणले ढिलो भइरहेको छ । मिटर जडान लगायतका केही कामहरू बाँकी रहे पनि पानीको महसुल कसरी लगाउने भन्नेमा समिति अन्योलमा परेको छ ।

पानीको मुहान लुभुघाट तमोरदेखि १ हजार ४ सय ३४ मिटरको उचाइमा रहेको यासोकसम्म पानी पम्पिङ गर्नलाई सात वटा पम्प स्टेसनको निर्माण गरिएको छ । ओलीको जन्मदिनमा जन्मघर आठराई इवामा मनाउने क्रममा पाँचथर आई पानी उद्घाटन गरेका हुन् । आफ्नो जन्मघरमा जन्मदिन मनाउन आएका प्रम ओलीले छातेढुंगा–५ सुकेपोखरीदेखि ताप्लेजुङ ढुंगेसाँघुमा रहेको मदन भण्डारीको जन्मघर जाने सडक शिलान्यास गरे ।

त्यस्तै त्यसक्षेका १ हजार ५ सय विद्यार्थीलाई शैक्षिक साम्रग्री हस्तान्तरण गरे । त्यस क्षेत्रका चार सय वृद्धवृद्धालाई न्यानो कपडासहित सम्मान पनि गरे । यसै अवसरमा प्रम ओलीले आठराईस्थित संक्रान्तिबजारमा नेपाल बैंक लिमिटेडको कार्यालय पुनःस्थापनाको उद्घाटनसमेत गरेका छन् ।

प्रतिक्रिया