खोजखबर

पर्यटकको पर्खाइमा दैलेखका पर्यटकीय स्थल

कृष्णप्रसाद अधिकारी २०७६ फागुन ७ गते ९:४९ मा प्रकाशित

कृष्णप्रसाद अधिकारी

दैलेखको भगवतीमाई गाउँपालिका पर्यटकीय हिसाबले निकै आकर्षक गन्तव्य हो । प्राकृतिक सुन्दरताको एक टुक्रा हो भगवतीमाई । तर, पर्यटन विकासमा एक पाइलासमेत हिँड्न सकेको छैन । अर्थात् पर्यटनको सम्भावना हुँदाहुँदै प्रचारप्रसारको अभावमा आन्तरिक तथा वाहृय पर्यटक भित्रिन सकेका छैनन । पर्यटनको प्रचुर सम्भावना बोकेको गाउँपालिका पर्यटकको पर्खाइमा छ । यो गाउँपालिका–१ को कुम्री खोलादेखि वडा–४ को मनघरचौरसम्म करिब १८ किमी भूभाग मध्यपहाडी लोकमार्गमा जोडिएको छ ।

दैलेख जिल्लामा रहेका ११ वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकामदेखि करिब २२ किमी पूर्वमा जाजरकोट र सुर्खेत जिल्लाको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय २६ मिटर उचाइमा पर्छ । गाउँपालिकाकोे कार्यालय समुन्द्री सतहदेखि १ हजार मिटरको उचाइमा पर्छ । गाउँपालिकाको सिमाना पूर्वमा जाजरकोट, पश्चिममा डुंगेश्वर गाउँपालिका र नारायण नगरपालिका, उत्तरमा नौमूले गाउँपालिका र दक्षिणमा गुराँस गाउँपालिकासँगै जाजरकोट जिल्लाको केही भूभाग पर्छ ।

भगवतीमाई गाउँपालिका कृषि, स्लेट ढुंगा र वन सम्पदाका हिसाबले अत्यन्त सम्भावना बोकेको गाउँपालिका हो । केही भूभाग बेँसी, खाँेच, केही भूभाग मध्य पहाड र केही क्षेत्रहरू उच्च पहाडी क्षेत्रमा पर्ने भएकाले मिस्रित खालको हावापानी गाउँपालिकामा पाइन्छ । यस गाउँपालिकाकोे सामाजिक रीतिरिवाज र चाडपर्वमा लोपोन्मुख नाच लहरेपैचरी, गर्रा, मारुनी, लोकदोहोरी, लोकगीत, लोकदेउडा, ठाडोभाका लगायतका स्थानीय कला संस्कृतिहरू हुन् । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय स्थलहरू पर्यटकीय गन्तव्य बन्न सक्ने संभावनायुक्त स्थलहरू गाउँपालिकामा छन् । प्राकृतिक सौन्दर्यताले यहाँको सुन्दरतामा थप निखार ल्याएको छ ।

 

नयाँमालिका
गाउँपालिकाको वडा–१,२ र नारायण नगरपालिकाको वडा–११ को बीचमा करिव ३३ मिटर उचाइमा रहेको मालिका लेकमा बाजुरा जिल्लामा रहेको बडीमालिका देवीकी बहिनीको वासस्थान रहेको संस्कृतविद्हरू बताउँछन् । यो मन्दिरमा परम्पराकालदेखि नै पूजाआजा गर्दै आएको र यस ठाउँमा मागेको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । मालिकामाईको दर्शन गरेर निःसन्तानलाई सन्तान प्राप्त भएदेखि मालिकामाईलाई सबैले आशाको केन्द्रको रूपमा लिएर मालिकामाईको दर्शन गरिन्छ । मालिकामाईको मन्दिर उच्च पहाडी भेगमा रहेकाले यो क्षेत्र धेरै रमणीय छ । वरिपरी हरियाली जंगल र शान्त र सुन्दर जतिसुकै तनाव भएको भए पनि यो ठाउँमा पुगे सबै तनावमुक्त हुने विश्वास गरिन्छ । विभिन्न जनावर ः कस्तुरी, भालु, बँदेल, स्याल, बाघ, गुना, बाँदर, मृग, ब्वासो, दुम्सी, खरायो, मलछाप्रो, चराचुरुंगी ः डाँफे, कालिज, च्याखुरा, ढुकुर, हलेसो, चिल, गिद्ध, लाटोकोसेरो, तित्रा, कोइली आदी प्रमुख छन् । यस मालिका मन्दिरमा विशेष गरेर १ वैशाख र १ माघमा मेला लाग्ने गर्दछ । यस मेलामा साविक पगनाथ, रुम, विन्ध्यवासिनि, सल्लेरी, चौराठा, र नारायण नगरपालिकाबाटसमेत भक्तजनहरू आउने गर्दछन् । अझै यसको महत्व सबैतिर फैलाउनसके आन्तरिक तथा बाह्य पर्यटकको अत्यन्तै सम्भावना रहेको देखिन्छ ।

शिखरद्वारी
यस गाउँपालिको वडा–७ मा करिव लोहोरे खोलादेखि दुई हजार मिटर उचाइमा रहेको शिखरद्वारी मन्दिर र चमेरे गुफा पर्यटकीय हिसाबले हेर्नलायक गन्तब्य हुन् । यहाँ वातावरणीय सुन्दरताले मनै लोभ्याउने ठाउँहरू छन् । शिखरद्वारी मन्दिरको धार्मिक ठूलो विश्वास रहेको छ । लेकमा सुन्दर र शान्त वातावरणमा जंगलसँगै रहेको चमेरे गुफा पनि एक सुन्दर पर्यटकीय क्षेत्र हो । तर, प्रचारप्रसारको कमीले गर्दा गोठालाहरूको लुकामारी गर्ने ठाउँको रूपमा सीमित छ । यसको प्रवद्र्धन र प्रचारप्रसार गर्नसके केही हदसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिय गाउँपालिकाको आर्थिक उन्नतिमा टेवा पुग्ने देखिन्छ ।

 

शिव मन्दिर
शिव मन्दिर भगवतीमाई गाउँपालिकाको केन्द्र नजिककै रहेको धार्मिक पवित्र स्थल हो । यो मन्दिर जान मध्यपहाडी राजमार्गदेखि मन्दिरसम्म ५सय ७६ वटा सिडी चढेर मन्दिरसम्म पुग्न सकिन्छ । अग्लो पहाडमाथि रहेको यो मन्दिर धार्मिक सांस्कृतिक हिसाबले धेरै महत्व बोकेको ठाउँ हो । यो मन्दिरमा महाशिवरात्रीमा ठूलो मेला लाग्ने गर्दछ । यस मेलामा स्थानीय भक्तजनहरूको भिड लाग्दछ । पर्यटनको हिसाबले पनि धेरै रमणीय ठाउँ भएकाले एकपटक यस ठाउँमा पुगेर रमाउ,ँ र पूण्य कमाऊँ ।


गाउँपालिकाको नाम नै मन्दिरको नामबाट भगवतिमाई
यस गाउँपालिकाकै अर्को महत्वपूर्ण पर्यटकीय क्षेत्र हो वडा–३ मा रहेको भगवतिको मन्दिर । वर्षमा दुई दिन मंसिर दशमी तथा (दसैका दिन चैत महिनाको दशमी) यस यस मन्दिरमा मेला लाग्ने गर्दछ । वर्षमा दुईपटक लाग्ने मेलामा रमाईलोसँगै हजारौँ राँगा तथा बोकाको बलि दिने प्रचलन रहेको छ । भगवति यस मन्दिरमा आई कबुल गरे मनले चाहेको पुग्ने विश्वासले दैलेख, सुर्खेत जाजरकोट कालिकोट अछामलगातका जिल्लाबाट भगवतिमाईको दर्शन गर्ने आउनेको भिड हुन्छ । यस मन्दिरको नामबाटै यस स्थानीय तहको नामसमेत रहेको छ ।

गाउँपालिकाको नामाकरण गर्ने समयमासमेत अन्य कुनै नाम उपयुक्त नहँुदा र मन्दिरको प्रचारप्रसार गर्नकै लागि गाउँपालिकाको नाम भगवतिमाई राखिएको छ । वरिपरि गाउँ बीचमा कैयौँ वर्ष पुरानो भगवतिको मन्दिर पूजा आराधनाका लागि अति नै राम्रो मानिन्छ । यसको संरक्षण गर्ने सकेको खण्डमा गाउँपालिकाकै एक महत्वपूर्ण पर्यटकीयस्थल बनाउन सकिनेसमेत गाउँका स्थानीयहरू बताउँछन् । तर, गाउँपालिकाले भने यसतर्फ खासै ध्यान दिन सकेको छैन ।

भैरी लेक
भगवतिमाई गाँउपालिका दैलेख र जुनिचादे गाउँपालिका तथा छेडाघाट नगरपालिका (जाजरकोट) को सीमानामा रहएको यो स्थान अहिले पर्यटकको मनै लोभाउन सक्छ । समयसँगै परिवर्तन हुने यो लेक कहिले हिउँले सेताम्मे त कहिले गुराँस फुलेर राताम्य भएको देख्न सकिन्छ । यो क्षेत्रको जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यस ठाँउमा विभिन्न प्रजातिका पशुपंक्षी, जीव, जनावर र चिसो हावापानी गर्मी समयको लागि दैलेखको गुराँसेभन्दा कुनै कमी छैन, विभिन्न प्रजातिका लालीगुराँस फुलेर मनै लोभ्याउने दृश्य र सुमधुर कोइलीको धुन डाँफे, मयुरको नाच हेर्न र लगभग १ सय ५० बढी प्रजातिका चराहरूको आवाज सुन्न पाइने यस ठाउँमा बसन्त ऋतुमा त्यहाँ पुगे साच्चिकै कसको मन नलोभिएला र ! यदि कोही बिरामी यस क्षेत्रमा पुग्न सकेमा त्यहाँको सुन्दरता र मधुरताले उसको केही दिन आयुसमेत बढ्ने अनुमान सहजै लगाउन सकिन्छ । यस क्षेत्रमा अनगिन्ती जडिबुटीसमेत रहेका छन् । यस क्षेत्रका जडिबुटी मात्र संकलन गरी प्रशोधन गर्न सकेको खण्डमा गाउँपालिकाले कसैसँग सहयोगका लागि हात थाप्नु पर्दैन ।

‘गोठी झरना’
भगवतिमाई गाँउपालिका–६ मा पर्ने यो झर्ना बेस्तडा बजारदेखि करिब २० किमी टाढा प्रर्दछ । यस झरनाले भगवतिमाई गाँउपालिकाको शोभा बढाउने र पयर्टनको आकर्षण गर्ने गरेको छ । यस झरनाको कसैले पनि हालसम्म नाप नगरेकाले यसको महत्व घटे पनि यसको नापी गरी पर्यटन आर्कषणको केन्द्र बनाउन स्तानीयको चासोको विषय बनेको छ । वरिपरि घनाजंगलको बीचमा रहेको यो झरना गर्मी समयका लागि एकदमै उत्तम स्थान हो । लेकाली हावापानी पाइने यो स्थानमा लोपोन्मुख प्रजातिका जनावरहरू देख्न पाइन्छ । केही समय पहिलेसम्म पैदलयात्रा मात्र गर्नुपर्ने भएकोले कम महत्व पाएको यस ठाउँमा अहिले सडक सञ्जालले जोडिएपछि पर्यटनहरूको घुइँचो लाग्ने गर्दछ ।


यस्तै सम्भावना हुँदाहुँदै पनि आन्तरिक तथा बाह्य ठाउँबाट पर्यटन भित्र्याउन सकिएको छैन । आजको युगमा युवाहरू विदेशिने लहर मात्र छ । जतिसुकै सम्भावना भए पनि केही बाध्यता त केही लहलहैमा लागेर विदेशमा जानेहरूको कमी छैन तर गएर फर्कदा कतिको राम्रो त कतिको सम्झेपछि मन भक्कानिन्छ, आँसु झरेर आउँछ । हजारौँको न घर न सम्पति सबै सखाप भएका घटनासमेत बाहिर आउने गरेको छ । यस क्षेत्रका अधिकांश मानिस कृषि पेसामा आवद्ध छन् ।


चैत महिना नलाग्दै धान लगाउन सुरु हुने यस क्षेत्रमा बर्षातको समयमा धान लगाएका फाँटलेसमेत पर्यटकको मन लोभ्याउन सक्छ ।
नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षरूपमा स्वागतसमेत गरिरहेको वेलामा यस गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन मजस्तो सचेत वर्गले सबैलाई बुझाउन पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरेर विदेशी पर्यटकहरू भित्र्याउनसके काम गर्नेकै लागि खाडी मुलुकमा दास बन्नुपर्ने अवस्था कम हुने थियो ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय