मत-विमत

सिंहदरबारमा ओलीको फोटो

अञ्जु कार्की २०७६ फागुन ६ गते ६:३२ मा प्रकाशित

प्रधानमन्त्री ओलीले पूर्ववर्तिहरूभन्दा लामो समय आफू प्रधानमन्त्री पदमा टिक्नु नै मुलुकका लागि मुख्य उपलब्धि भएको बताए । आफूले महसुस गरेको यो उपलब्धिलाई प्रधानमन्त्री ओलीले आफ्नो भाषणको पहिलो बुँदामै राखे । पञ्चायतकालमा सूर्यबहादुर थापाको ठाउँमा डा. तुल्सी गिरी प्रधानमन्त्री बन्नु र यतिवेला देउवाको ठाउँमा ओली प्रधानमन्त्री बन्नुमा जनताले तात्विक अन्तर महसुस गर्न सकेका छैनन् 

दुई वर्षअघि फागुन ३ गते तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै गर्दा वामगठबन्धनलाई मतदान गर्ने जनता मात्रै उत्साहित थिएनन्, अरू पार्टीलाई मतदान गर्ने जनता पनि खुशी थिए । अब केही होला भन्ने आशा ओलीले सिंगो मुलुकलाई जगाएका थिए । अरू पार्टीलाई भोट हाल्ने कतिपय व्यक्तिसमेत ओली नै प्रधानमन्त्री बनून् भन्ने चाहन्थे । यस्तो माहौल ल्याउन सक्ने नेता विश्वमा विरलै रहेको टिप्पणी त्यतिवेला प्रायः सबै मडियामा आयो, चिया पसल, चौतारा तथा चोक–चोकमा नवनिर्वाचित प्रधानमन्त्री ओलीको चर्चा परिचर्चा हुन्थ्यो ।

मत गणनाको प्रारम्भिक परिणाम आउनासाथ सत्ता हस्तान्तरणको अधैर्य प्रतिक्षमा जनता रहे । मतगणना नसकिँदै सत्ता हस्तान्तरणका लागि कतिपय मिडियाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिए । ‘वाम गठवन्धनको पक्षमा धमाधम मत गणनाको परिणाम आइसक्यो, दुई तिहाइभन्दा बढी सिट जित्ने निश्चित भइसक्यो, अझै पनि यो देउवाले किन राजीनामा दिँदैन ?’ भन्ने प्रश्न वामगठबन्धनमा मत हाल्नेले त गरे गरे, संविधान बुझ्नेहरूले समेत यो प्रश्न उठाए ।

चुनाव जित्दै गरेका ओलीले समेत तत्कालीन प्रधानमन्त्री देउवाको राजीनामाको माग सडकबाटै उठाए । त्यतिवेला देउवा अलोकप्रियताको पराकाष्ठामा थिए, कांग्रेसले बुरी हालतमा चुनाव हार्दै थियो, तर अर्को प्रधानमन्त्री नियुक्त नहुँदासम्म प्रधानमन्त्रीको कुर्सी छाडेर भाग्न मिल्ने अवस्था थिएन । निर्वाचन आयोगले अन्तिम परिणाम राष्ट्रपति समक्ष नबुझाएसम्म नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्न सक्ने अवस्था पनि थिएन । संवैधानिक वाध्यता थियो यो ।

प्रतिनिधिसभाको मतदान सम्पन्न भएपछिका दुई महिनाको माहोल यस्तो थियो कि–‘ मुलुकको प्रगतिको बाधक भनेकै नेपाली कांग्रेस हो, कम्युनिस्टहरूले चुनाव जिते, अब मुलुकको कायपलट हुन्छ, चुनाव हार्दा पनि देउवाले सत्ता नछाड्नुको मुख्य उद्देस्य मुलुकलाई अझै तवाह बनाउनु हो ।’ आवधीक निर्वाचन हुनु र आवधीक निर्वाचन मार्फत सत्ता परिवर्तन हुनु लोकतन्त्रको स्वभाविक नियम हो । लोकतन्त्रमा सँधै एउटै पार्टीको हातमा मात्रै सत्ता हुँदैन, जनताले सत्ता चलाउने म्याण्डेट परिर्वतन गरिरहन्छन् ।

तर, गत आमनिर्वाचनको परिणामलाई वामगठबन्धनका नेता तथा कार्यकर्ताहरूले लोकतन्त्रको सामान्य नियमका रूपमा लिएनन् । क्रान्तिको माध्यमबाट एउटा शासन व्यवस्थाको अन्त्य भई अर्को शासन व्यवस्था स्थापना भएको जस्तो गरी चरित्र प्रस्तुत गरे । २००७ सालको जनक्रान्ति, ०४६ सालको जनआन्दोलन र ०६२–६३ सालको जनआन्दोलनका उपलब्धिलाई भन्दा०७४ सालको प्रतिनिधिसभा निर्वाचनको मत परिणामलाई वामगठवन्धनका कार्यकर्ताले युगान्तकारी ठाने ।

जबकी यो मत परिणाम कुनै युगान्तकारी थिएन । एउटै पार्टीले दुई तिहाई बहुमत प्राप्त गरेकोले युगान्तकारी हो भनौ भने पनि २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले योभन्दा पनि ठूलो बहुमत हासिल गरेको थियो । एउटै पार्टीको बहुमतको सरकार बन्ने भएकोले युगान्तकारी भनौ भने पनि ०४८ साल र ०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेस एक्लैले बहुमत प्राप्त गरेको थियो ।

कम्युनिस्ट पार्टीको सरकार बन्न लागेकोले युगान्तकारी भन्ने हो भने पनि २०४६ साल पछिको अवधीमा सबै भन्दा धेरै समय कम्युनिस्टहरूले नै सत्ता चलाई सकेको अवस्था थियो । देउवा हटेर ओली प्रधानमन्त्री बन्ने बाहेक खासै ठूलो परिवर्तन थिएन । फरक यत्ति थियो कि, देउवा अरू पार्टीको टेकोमा प्रधानमन्त्री बनेका थिए, ओली विना वैशाखी प्रधानमन्त्री बन्दै थिए ।

देउवा मात्रै होइन, पहिलो संविधानसभाको निर्वाचन यताका सबै प्रधानमन्त्रीहरू अरू पार्टीको वैशाखीको सहारामा थिए । वैशाखी झिक्नेबित्तिकै ढलिहाल्ने अवस्था थियो । कोही प्रधानमन्त्रीको ९ महिनामा, कोही प्रधानमन्त्रीको १६ महिनामा, कोही प्रधानमन्त्रीको २६ महिनामा वैशाखी झिकिएको थियो । तर, आफ्नै खुट्टामा उभिएर हिँड्न सक्ने प्रधानमन्त्री भएका कारण ओलीले आफ्ना पूर्ववर्तीहरूको नियति बेहोर्नुपरेको छैन ।

गत शनिबार संसद्को रोस्ट्रममा उभिएर आफ्नो दुई वर्षे कार्यकालको उपलब्धि प्रस्तुत गरिरहँदा प्रधानमन्त्री ओलीले पूर्ववर्तिहरूभन्दा लामो समय आफू प्रधानमन्त्री पदमा टिक्नु नै मुलुकका लागि मुख्य उपलव्धी भएको बताए । आफूले महसुस गरेको यो उपलब्धिलाई प्रधानमन्त्री ओलीले आफ्नो भाषणको पहिलो बुँदामै राखे ।

कोही व्यक्ति प्रधानमन्त्री बन्नु र पदमा टिकी रहनु स्वयंका लागि उपलव्धी हो । तर, मुलुकका लागि केही पनि उपलब्धि होइन यो । एकीकरण भए यता नेपालमा चार दर्जन प्रधानमन्त्री बनिसकेका छन् । कोही कोही प्रधानमन्त्री त २५–३० वर्ष पदमा टिकिरहे, कोही कोही आजिवन प्रधानमन्त्री बने, तर मुलुकका लागि उपलब्धि भएको खोई त ? बरू थोरै समय प्रधानमन्त्री बनेकाहरूले पनि मुलुकका लागि उपलब्धी दिएका छन् ।

३१ वर्ष प्रधानमन्त्री बनेका चन्द्रशमशेर भन्दा ६ महिना मात्रै प्रधानमन्त्री बनेका देवशमशेर जनताको मन मस्तिस्कमा छन् । पाँचपटक गरी करिव ९ वर्ष प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाभन्दा जीवनमा एकपटक मात्रै जम्मा १८ महिना प्रधानमन्त्री बनेका विपि कोइराला जनताको मनमस्तिस्कमा छन् । २०४६ सालको परिवर्तन यताकै कुरा गर्ने हो भने २०४७ सालमा प्रधानमन्त्री बनेको कृष्णप्रसाद भट्टराईले एक वर्षको अवधीमै प्रजातान्त्रिक संविधान ल्याएर आम निर्वाचन समेत सम्पन्न गराइदिए ।

गिरिजाप्रसाद कोइरालाले अन्तिमपटक प्रधानमन्त्री बन्दा छोटो समयमै शान्तिप्रक्रिया सम्पन्न गरे, अन्तरिम संविधान निर्माण गरे, संविधानसभाको नर्वाचन गराए, गणतन्त्रलाई संस्थागत बनाए । संविधानसभाको पहिलो निर्वाचनपछि पुष्पकमल दाहाल प्रचण्ड, माधवुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले कुल चार वर्ष मुलुकको शासन सत्ता चलाए तर संविधान ल्याउन सकेनन् । शुशील कोइरालाले करिब २२ महिनामा संविधान जारी गरे ।

जनताले दीर्घकालसम्म सम्झने भनेको लामो समय सत्ता चलाउनेलाई होइनकी मुलुकका लागि उपलब्धि दिनेलाई हो । प्रधानमन्त्री ओलीले यो दुई वर्षको अवधिमा जनताले दीर्घकालसम्म स्मरण गरिरहने कुन चाँही काम गरे त ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म फेला पर्न सकेको छैन । उनी आफैँले दुई वर्षका आफ्ना उपलब्धि प्रस्तुत गरे तर, सम्झन लायक बुँदा एउटा पनि भेटिएन । सिंहदरबारमा उनको फोटो त यस अघि प्रधानमन्त्री हुँदा नै झुण्डिइसकेको थियो ।

दूरदराजतिर नजाउँ, सिंहदरबार र वालुवाटारको नाक, कान र आँखै मुनि बसेका जनताले दुई वर्षको यो अवधीमा के परिवर्तन महसुस गरे त ? वार्षिक १ सय ५० रूपैंया मालपोत बुझाउँदै आएकाले ९ सय बुझाउनुपर्ने भयो । मालपोत मात्रै होइन सम्पत्तिकरको नाममा जनताको ढाड सेकिएको छ । यो दुई वर्षको अवधिमा जनताको आम्दानी बढेन तर महंगी २५ प्रतिशत भन्दा माथि बढ्यो । कर वापत जनताबाट उठाइएको यो रकम विकास निर्माणका लागि खर्च भयो भनौ भने पनि खानेपानीको समस्या झन् विकराल बनेको छ ।

राजधानी काठमाडौंका प्रायजसो घरमा महिनाका सरदर पाँच ट्यांकर पानी किनिन्छ । एक ट्यांकरको ३ हजार रुपैयाँ पर्छ । सडकको अवस्था हेर्ने हो भने ५० प्रतिशत मान्छेहरूको अनुहार माक्सले छोपिएको देख्न पाइन्छ । ओली प्रधानमन्त्री हुनुभन्दा अघिसम्म माक्सले अनुहार छोप्नेहरू फाट्ट–फुट्ट मात्रै देखिन्थ्यो । दुई वर्षअघि बनाइएका सडकका जेब्राक्रसिङ चिन्हहरू मेटिइसकेका कारण बुढाबुढी, केटाकेटी बिरामी तथा अपांगता भएकाहरूले सडक पार गर्न सक्ने अवस्था छैन ।

सार्वजनिक यातायातका साधनमा बुढाबुढी, केटाकेटी, बिरामी तथा अपांगता भएकाहरू चढ्न सक्ने अवस्था छैन । सरकारी अस्पतालको हालत त्यस्तै चौपट छ । पञ्चायतकालमा सूर्यबहादुर थापाको ठाउँमा डा. तुल्सी गिरी प्रधानमन्त्री बन्नु र यतवेला देउवाको ठाउँमा ओली प्रधानमन्त्री बन्नुमा जनताले तात्विक अन्तर महसुस गर्न सकेका छैनन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय