खोजखबर

सरकार ढाल्ने तयारीमा कांग्रेस छैनः निधि

सौर्य अनलाइन २०७६ फागुन ५ गते १४:१९ मा प्रकाशित

चितवन । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पारे ।

सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उनको भनाइ छ । उपसभापति निधिले भने, ‘हामी सरकार ढाल्ने तयारीमा छैनौँ, आफ्नै महाधिवेशनको तयारीमा छौँ ।’ उनले नेपाली कांग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको बताए ।

कांग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उनले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न कांग्रेसले नै रोकेको उनले बताए । कांग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उनको भनाइ छ । उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय