‘जनअपेक्षा अनुरूप काम गर्न सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुरूपको कार्य गर्न नसकेको आरोप लगाएको छ । सरकार गठन भएको दुई वर्ष पुगेको भोलिपल्ट पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले जनताको नाममा सरकारले जनविरोधी काम गरिरहेको आरोप लगाएको हो ।

विभिन्न अनुकूल परिस्थितिहरू भए पनि सहज समयको सदुपयोग सरकारले परिणाममुखी ढंगले विल्कुलै काम गर्न नसेकेको कांग्रेसले दाबी छ । दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नवीन गतिका साथ कार्य सरकारले गर्न सके पनि अधिनायकवाद उन्मुख आकांक्षाका कारण अनुकुल परिस्थितिलाई स्वयं आफैँले क्रमशः प्रतिकूल बनाएको कांग्रेसको ठहर छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको दुई वर्षलाई अयोग्यता, असफलता र अधोगतिको आठकोण सार्वजनिक गरेका छन् ।

राष्ट्रियता, लोकतन्त्र, संविधान र संघीयता, शान्तिसुरक्षा, सुशासन र समृद्धिको कोणबाट पनि सरकार असफल भएको उनको भनाइ छ । यसैगरी सदाचार र भ्रष्टाचार, रोजगारी सिर्जना र विस्तार एवं सांस्कृति रूपान्तरणमा सरकारको प्रर्दशन कमजोर रहेको कांग्रेसको ठहर छ ।

‘राष्ट्रियताको प्रधान मुद्दामा सरकारको दुई वर्षलाई अन्य कुनै पनि घटनामा भन्दा बढी कालापानी प्रकरणमा बुझ्नु पर्ने हुन्छ, जसमा सम्पूर्ण राष्ट्रिय एकताका बाबजुद प्रभावकारी अग्रसरता सरकारले राख्न सकेन’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कांग्रेसले विभिन्न विधेयकको नाममा जनताको अधिकार कुण्ठित गर्ने काम गरेको पनि आरोप लगाएको छ ।

‘जनताको अधिकार जनताबाट निर्वाचितले नै हनन् गर्दै फेरि पनि जनताकै नाममा जनतामाथि जनविरोधी शासन गर्ने, तर त्यसको शिरमा ‘जनता’ शब्द सजाइरहने गरेको कांग्रेसको आरोप छ । ‘यो भयानक प्रवृति आजको कम्युनिस्ट सरकारको मूल प्रवृति भएको छ कम्युनिस्ट सरकारबाट क्रमशः कम्युनिस्ट शासनतर्फ जो उन्मुख देखिन्छ’, विज्ञप्तिमा लेखिएको छ । यसैगरी कांग्रेसले ललिता निवास प्रकरणमा मुद्दा चलाइएका उपसभापति विजयकुमार गच्छदारको पक्षमा आफूलाई फेरि उभ्याएको छ ।

‘ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफँैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसले प्रस्ट गर्दछ आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको छ । यद्यपि उहाँले कानुनी रूपमा सामना गर्नु हुने र पार्टीले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको छ ।’

प्रधानमन्त्री ओलीले गत शनिबार संसद्मा सरकारका उपलब्धिबारे लामै सम्बोधन गरेपनि दुई वर्षमा न त द्वन्द्वपीडितको मुद्दा हल गरिसक्ने लक्ष्य हासिल हुन सक्यो न सीमा व्यवस्थापनको लक्ष्य पूरा भयो भनी प्रवक्ता शर्माले टिप्पणी गरे । कांग्रेसले परिमार्जित शिक्षा नीतिको लक्ष्य प्राप्ति, तुइन विस्थापनको घोषणा, भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, बजार मूल्य नियन्त्रणलगायत लक्ष्य पूरा हुन नसकेको आरोप लगाएको छ ।

नेकपाको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने नीति घोषणा गरेको कांग्रेसले यो अवधिमा शालीन र जिम्मेवार भूमिका निर्वाह गरेको उनले दाबी गरे । यस अवधिमा सरकारले अघि बढाएका कतिपय विधेयकलाई आधार मानेर विश्लेषण गर्दा सरकार क्रमशः अनुदार लोकतन्त्रको बाटोमा अग्रसर रहेको पुष्टि भएको प्रवक्ता शर्माले आरोप लगाए ।

सरकारले संविधानका प्रति अपनत्वको दायरा बढाउने गरी विभिन्न समुदायका भावना थप गाँस्ने आफ्नै वचनबद्धतालाई पनि अवरुद्ध तुल्याएको, संघीयतालाई सबल बनाउनतर्फ नभई संघीय सरकारले केन्द्रको ‘कमजोर शाखा’ का रूपमा प्रदेश सरकारलाई सीमित गर्ने व्यवहार प्रस्तुत गरेको कांग्रेसको आरोेप छ ।

प्रतिक्रिया