लोकदोहोरी प्रतिष्ठानले गर्यो संगीत प्रशिक्षणको शुभारम्भ

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोकदोहोरी क्षेत्रको विकास र प्रवर्धनको लागि गायन तथा संगीत प्रशिक्षणको शुभारम्भ गरेको छ । शनिबार राजधानीको टोखास्थित प्रतिष्ठानको केन्द्रीय कार्यालयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीको प्रमुख आतिथ्यमा ६ महिने गायन तथा संगीतको प्रशिक्षण शुभारम्भ गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले जानकारी दिए ।

शुभारम्भ कार्यक्रममा हामी नदीका दुई किनारा’, ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ लगायत गीतका गायक सुदेशराज शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्वी थकाली, पूर्वअध्यक्ष चन्द्र शर्मा, महासचिव सुवास केसी, गायक दिपक खड्का, गायिका राधिका हमाल, देवी घर्तिमगर, रिता थापामगर अमृता लुंगेली मगर, जमुना राना लगायत केन्द्रीय सदस्य कलाकारहरुको सहभागिता रहेको थियो । प्रशिक्षणमा भाग लिनेहरुका लागि सहजता र सस्तो सुलभ शुल्क रू तीन हजार रहेकाे अध्यक्ष रमेश बिजिले बताए ।

‘गायन र संगीतबाट कलाकारितामा भविष्य खोजेर आउनेहरुका लागि सहज र राम्रो वातावरणमा प्रतिष्ठानले यो अवसर प्रदान गरेको हो, यसमा इच्क्षा र चाहना हुनेहरु देशैभरिका जो आएपनि स्थान दिइन्छ,’ अध्यक्ष बिजिले भने । त्यस्तै प्रमुख अतिथि कल्याणकारी कोषका संरक्षक दुर्गा रायमाझीले प्रतिष्ठानको स्थापनाकाल देखिनै सुरुवात गरिनुपर्ने यो कार्य रमेश बिजिले आफ्नो कार्यकालमा शुभारम्भ गरेको जिकिर गरे ।

उनले भने, ‘प्रतिष्ठानको स्थापना भएको पनि यतिका बर्ष भइक्याे, तर यस्तो कार्य हुन सकेको थिएन, रमेश बिजीको कार्यकालमा हुन सफल भयो । त्यस्तै गायक सुदेशराज शर्माले कलाकार बन्नेहरुका लागि प्रतिष्ठानले दिएको यो सुवर्णअवसर अहिलेसम्मकै पुण्य र प्रभावकारी भएको प्रतिक्रिया दिए । उक्त प्रशिक्षणका लागि चाहिने सम्पूर्ण बाद्यवादक सामाग्री उपलब्ध गराउँनमा सल्लाहकार पृथ्वी थकालीले सहयोग गरेका छन् ।

प्रतिक्रिया