चीनबाट ल्याइएका नेपाली खरिपाटीमा

काठमाडौं । चीनको वुहानबाट ल्याइएका एक सय ७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ।

आइतबार बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि सबै जनालाई भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको हो।

उनीहरुलाई विमानस्थलबाट एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटीसम्म पुर्‍याएको थियो । क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अवतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो।

नेपाल आउन आवेदन दिएका एक सय ८५ मध्ये ६ जनाको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरु चीनमै रोकिएका छन् भने चार जनाले नेपाल फर्कन अस्वीकार गरेका चीनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार नेपाल फर्किएका हुन्। चीनमा वुहानबाट ५५ जना, झिङझाओबाट ४८, सियनबाट २९ जना, इन्सीबाट २६ जना, जिङमेनबाट ९ जना र यिचाङबाट ८ जना गरि एक सय ३४ जना पुरुष र ४१ जना महिलासहित एक सय ७५ जना नेपाल ल्याइएको हो ।

उनीहरुलाई नेपाल ल्याउनुअघि चीनमा दुई पटक तापक्रमसहित अरु स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसक्रममा ६ जनामा उच्च ज्वरो देखिएपछि उतै रोकिएका हुन्।

प्रतिक्रिया