इंग्ल्यान्डको रोमान्चक जित

लन्डन । दोस्रो टि ट्वान्टी खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ रनले हराएको छ । इंग्ल्यान्डको रोमान्चक जितसँगै तीन टि ट्वान्टी सिरिज १–१ को बराबरी अवस्थामा पुगेको छ

जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २ रन बनायो । दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा अन्तिम दुई बलमा लगातार विकेट गुमाएपछि झिनो हार बेहोरेको हो ।

टम करनले दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका खर्चिएपनि अन्तिम दुई बलमा लगातार विकेट लिदै इंग्ल्यान्डलाई रोमान्चक जित दिलाए । दक्षिण अफ्रिका कप्तान क्विन्टन डी ककले २२ बलमा ८ छक्का र २ चौका सहित ६५ रनको विश्फोटक इनिङ खेलेपनि टोलीको झिनो हार टार्न सकेनन् । उनले मात्रै १७ बलमा अर्ध शतक पुरा गरेका थिए ।

रस्सी भान डर दुसेन २६ बलमा ३ छक्का र २ चौका सहित ४३ रनमा अविजित रहे । ओपनर तेम्वा वभुमा ३१, डेविड मिलर २१ र ड्वेन प्रिटोरियसले २५ रनमा आउट भए । इंग्ल्यान्डका मार्क वुड, क्रिस जोर्डन र टम करनले २(२ विकेट लिए । बेन स्टोक्सको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । इंग्ल्यान्डका मोइन अलीले ११ बलमा ४ छक्का र ३ चौका सहित ३९ रन जोड्दै म्यान अफ द म्याच चुनिए । बेन स्टोक्स ३० बलमा ४ चौका र २ छक्का सहित ४७ रनमा अविजित रहे ।

ओपनर जोसन रोय ४०, जोनी बेयरस्टो ३५ र कप्तान इयोन मोर्गन २७ रनमा क्याच आउट भए । दक्षिण अफ्रिका लुन्गी निग्डीले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । एन्डिले फेहलुकवेओको नाममा २ विकेट रह्यो । पहिलो खेलमा दक्षिण अफ्रिका १ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुने छ ।

प्रतिक्रिया