गच्छदारको संस्मरण र वर्तमान

                                      कृष्ण बोहोरा

जेलका नीति नियम के कस्ता छन् त्यो पनि मलाई थाहा थिएन । विजयकुमार गच्छदार भन्ने पनि मलाई थाहा थिएन । तर पनि हामीलाई एउटै वार्ड र कोठा पनि एउटैमा राखिएको रहेछ । गच्छेदार दुई तीन बेड पर्तिर हुनुहुन्थ्यो । म जेल परेको आठ दश दिनपछि एउटा न्यूज पेपर झिकेर उहाँले देखाउनुभयो र भन्नुभयो ल बोहरा जी तपाईंको न्यूज आएको रहेछ भनेर पेपर पढन दिनुभयो,मैले पेपर लिएर पढेँ ।

२०४१ शाल चैत्र महिनाको कुरा हो । तेस्रो प्रयासमा प्रहरीले मलाई काठमाडौं मीन भवन क्याम्पसको परीक्षा हलबाट नै पक्रन सफल भयो । करिब सय डेड सय जत्था नै लिएर तीन वटा मोटरका साथ प्रहरी त्याहाँ पुगेका रहेछन् । परीक्षा त मैले कसरी दिनु र ? जवकी परीक्षा हलमानै गार्ड बनेर सिभिल ड्रेसमा डिएसपी स्वयम् बसेका थिए । ढोकाको सिधा पल्लो बार्दलीमा दुईजना पुलिस सिभिल ड्रेसमा आँखा नबिराई मलाई हेर्ने गरी बसेका थिए । जो अघिल्लो पटकको पक्रने क्रममा असफल प्रयासमा उनीहरूले मलाई चिन्दथे । जुन कुरा मलाई उनीहरूले पक्रीसकेपछि खुल्न आयो । तीन पटक समातेर पनि उम्किन सफल भएकाले पनि उनीहरू त्यति सजग भएका थिए ।

अर्को कुरा विद्यार्थीहरूको पनि उनीहरूलाई त्यतिकै डर थियो । दोस्रो कुरा उनीहरूले मलाई त्यतिखेर पिस्करको गुरिल्ला नै सम्झेका थिए । मलाई ९ जना वाकी टकी बोकेका प्रहरीका साथमा एउटा जीपमा राखिएको थियो भने दुईवटा भ्यान मेरो पछि पछि थियो । इमर्जेन्सी हर्नको साथमा उनीहरूले मलाई त्यहाँबाट दौडाए, म अचम्ममा परे । जम्मा ४७ केजी तौल भएको एउटा अपरिपक्व मानिस थिएँ म त्यो बेला । बाटोमा न्यूरोड पीपलबोट र यस्तै मानिस जमघट हुने ठाउँमा गाडी पुग्दा मलाई उनीहरूले खुब जोडले हप्काउथे । खबरदार नकरा भन्थे । म कराउँछु र उम्कन्छु भन्ने पनि उनीहरूलाई लागेको रहेछ भन्ने महसुस गर्न मलाई समय लागेन । मलाई सिधै हनुमान ढोका डीएसपी कार्यालयमा पु¥याईयो । ६ दिनको हत्कडीसहितको कष्टकर बसाई पछि साँझपख मलाई सेन्ट्रल जेल लगियो । सेन्ट्रल जेल सुन्धारामा पुगेपछि भने, मैले केही राहत महसुस गरेँ । पिस्करका आफ्नै साथीहरूलाई मैले त्याहाँ भेटेँ ।

आफ्नै साथीहरूको चुलोचौकामा खाना खान पाइयो । झापाका मानकुमार तामाङ र छिनताङका साथीहरूलाई पनि मैले त्याहाँ भेटेको थिएँ । मैले यतिसम्म कुरा लेख्नुको कारण मैले आफ्नो जेल वृतान्त लेख्न खोजेको भने होइन । २०४७ सालपछिको बहुदलीय व्यव्स्था र अहिलेको गणतन्त्र कालमा समेत सत्ताका पारखी र समयअनुसार चल्न सक्ने सत्ता राजनीतिका माहिर खेलाडी विजयकुमार गच्छदारलाई पनि मैले त्याहाँ भेटेको थिएँ । म जेलमा पुगेको पन्ध्र–बीस दिन मात्र भएको थियो । जेलका नीति नियम के कस्ता छन् त्यो पनि मलाई थाहा थिएन । गच्छदार भन्ने पनि मलाई थाहा थिएन । तर पनि हामीलाई एउटै वार्ड र कोठा पनि एउटैमा राखिएको रहेछ । सँगैको अर्को बेडमा एउटै केसका मेघनाथ पौडेलजी हुनुहुन्थ्यो । गच्छदार दुई तीन बेड पर्तिर हुनुहुन्थ्यो ।

म जेल परेको आठ दश दिनपछि एउटा न्यूज पेपर झिकेर उहाँले देखाउनुभयो र भन्नुभयो ल बोहरा जी तपाईंको न्यूज आएको रहेछ भनेर पेपर पढ्न दिनुभयो,मैले पेपर लिएर पढेँ । सम्पूर्ण परिवार जेलमा भन्ने शीर्षकमा एउटा समाचार छापिएको रहेछ । त्यसपछिका दिनमा उहाँको व्यवहार मलाई राम्रै लागेको थियो । भोलिपल्ट साथीहरूलाई गच्छदारको बारेमा सोधेँ । अखिलका फणिन्द्र तिमल्सिनालाई मारेको केसमा उनी जेलमा परेको कुरा साथीहरूबाट थाहा लाग्यो । यसपछिका दिनहरू पनि सामान्य रूपमा चल्यो । जेलमा ज्यान केसमा परेका र लामो जेल जीवनमा रहेका राजनीति केस बाहेकका पढेलेखेका मानिसहरूलाई जेलको स्कुलमा मास्टरी जागिर पनि दिने चलन रहेछ । गच्छेदार पनि जेलमा मास्टरी गर्दथे । एक दिनको कुरा हो मेरो साथी मेघनाथ पौडेल र म एउटा पुस्तक पल्टाएर छलफल गर्दै पढदै थियाैँ । बेलुकी साढे आठ जति बजेको हुँदो हो । गच्छदारले हामीलाई खाउँला जस्तै गरी हेरे र भने के राति राति हल्ला गर्छ ।

हाम्रो स्वर त्यति ठुलो पनि थिएन । जेलभित्रको बसाई थोरै त हामीलाई पनि थाहै थियो । उनी आफू पनि सुतेका भने थिएनन् । केही पढ्दै थिए उनी । मैले पनि केही जवाफ दिएँ । सुत्न मन भए सुत्ता भो । हामी दुबै जना यसपछि बिछ्यौनामा लम्पसार पर्यौँ । मनमा भने नमिठो अनुभूति भैरहेको थियो । उनले हामीलाई राम्रैसित सम्झाउन पनि सक्दथे, त्यो भएन । यसैले मैले उनलाई यसपछिका दिनमा एउटा सन्की मान्छेको रूपमा धारणा बनाएँ । यही सनकको कारण एक जनाको ज्यान गयो होला अर्को मान्छे जेलमा छ भन्ने लाग्यो । मर्ने बेलामा पीडाकै अवस्थामा फणिन्द्रले पनि गच्छदारको एउटा आँखा झिकिदिएको कुरा मानिसहरू भन्ने गर्दथे । यसैले कालो चस्मा उनको आँखामा कहिल्यै टुट्दैन पनि थियो । जसरी पनि सत्ताको खेलमा पहिलो हुनुपर्ने उहाँका सत्ता राजनीतिका यस पछिका घटनक्रमले पनि देखाउँछ ।

बिचरा फणिन्द्र जो एउटा आदर्श समाज निर्माणका लागि सहिद भए । तर, उनकै आदर्श बोक्ने साथीहरू र गच्छदारले आजसम्म सत्ता राजनीतिमा खेलेका खेलमा फरक भेटाउन हम्मे हम्मे परिरहेछ यसपछिका दिनहरूमा । भ्रष्टाचार दिन दुईगुना रात चौगुनाका हिसाबले बढिरहेका छन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीलेले राम्रो कामको थालनी गरेका धेरै असफल प्रयासहरू पनि छन् । हालैका दिनहरूमा अख्तियारद्वारा भ्रष्टाचारको छानबिनको क्रममा सत्ताका माहिर खेलाडीहरू पनि परेका छन् । भलै गच्छदारलाई नै अख्तियार लागोस् त उनले भनेनन् होला । गच्छदार भ्रष्टाचारी नै हुन पनि म भन्न सक्दिनँ । तर, देश आजसम्म उँधो लागेको प्रमुख कारण भनेको देशभित्र मौलाएको भ्रष्ट संस्कार नै हो । यो अकाट्य तथ्य पनि हो । यो माथिदेखि तलसम्मै छ । साच्चै भनु भने अहिले देश भ्रष्टाचारमय भएको छ । अझ यो तलबाट हैन माथिबाट तलतिर आएको हो । अथवा भ्रष्टाचार माथिकाले सिकाएकाले तलकाले पनि सिक्दै गएका हुन् ।

यसकारण ठूला भ्रष्टाचारी शासक प्रशासक र सत्ताका माहिर खेलाडीहरू नै हुन् । उनीहरू नै इज्जत प्रतिष्ठा कमाएर अरूका नजरमा कृतिम रूपमा सम्मानित जीवन जिइरहेका छन् । यो कुरा घाम जत्तिकै छर्लङ्ग छ । उनीहरूलाई अनुसन्धानको दायरामा तान्दा हाम्रा सम्मानित मानिसलाई समातेर हाम्रो पार्टी सिध्याउन लाग्यो भन्नुको तात्पर्य के हो ? भन्ने मात्र हैन कोकोहोलो नै मच्चाइरहेका छन् । उनीहरूका मानिसहरूलाई छुँदै छोएन पनि भनिरहेका छन् । विपक्षीले भनेको कुरा ठिकै होला अख्तियारले सत्ता पक्षलाई छुँदै छोएन होला । सत्ता पक्षको मानिसलाई अख्तियारले कार्यबाहीको दायरामा नल्याएका कारण विपक्षका कुनै पनि नेता भ्रष्टाचारी हुँदै होइनन् भन्ने त नहुनु पर्ने हो । विपक्षीकै भनाइलाई एकैछिन मानौँ अख्तियार सरकारको लाचार छाया भयो ।

उसले कांग्रेसजति छानी छानी सिध्याउने भयो । यस भनाइलाई पनि ठिकै मानौँ । यसो हो भने पनि विचार पु¥याउनुहोस् कानुनको पाटो एउटा होला जसले सबैलाई समान व्यवहार गर्नुपर्ने हो । भए तापनि विश्वमा कहीँ पनि आफैँले आफैँलाई कारवाही गरेको एउटा पनि उदाहरण पाउन सकिदैन । यस्तै सकेसम्म नजिकका आफ्नालाई पनि जोगाउन चाहन्छ मान्छे । यसैले विपक्षीले आफ्नो मानिसलाई अनुसन्धानको दायरामा ल्याएकोमा विरोध गर्ने होइन बरू सत्ता पक्षका पनि दोषीलाई कारबाही गर भनी दबाब दिने हो । यसो भयो भने बल्ल भष्टाचारीको मुटु हल्लिन थाल्छ । यही कुराले जन जनको मन छुन्छ ।

जनतालाई चित्त पनि बुझ्न थाल्छ । तपाईंले तताउन खोजेको सडक यसपछि पो बल्ल तात्छ की ? नत्र सडक तताउने मात्र भनेर के सडक तात्ला र ? पक्ष वा विपक्ष कुनै पनि नेतालाई अख्तियारले तानेमा अहिलेको सन्दर्भमा जनता सडकमा जाने पक्षमा छैनन् । जनताका काम राम्रोसँग केही गरेर जनताको मन जित्न सफल केही अपवाद हुन सक्लान् । नत्र तपाईंहरूलाई त रमाईलो लागिरहेको होला तर जनतालाई भ्रष्ट संंस्कार र भ्रष्टाचारीदेखि वितृष्णा जागिसकेको छ । नेता कार्यकर्ता सडकमा जम्मा भएर मात्र सडक तातेको मानिदैन पनि ।
भ्रष्टाचार राख्ने की फाल्ने भन्ने कुरा सत्ता पक्ष, विपक्ष र,देशका आम नागरिक, सर्वसाधारण सबैको चासोको विषय हो । भ्रष्टाचारीको कुनै देश हुदैन तर भ्रष्टाचार देशभित्रै हुन्छ भन्छन् । सामान्यतः कसैले पनि आफूलाई भ्रष्टाचारी हुँ भनेर घोषणा गर्दैन । पृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा भनेका थिए घुस दिन्या र लिन्या दुवै देशका शत्रु हुन् । भ्रष्टाचारकै कारण देश खाक्रो भैसकेको छ । यस्तो अवस्थामा अमुक भाषामा भ्रष्टाचारको विरोध गरेर हुनेवाला केही छैन । निरंकुश भनिएको पञ्चायत कालमा विदेशीले बनाई दिएको त्यत्रा उद्योगहरू कहाँ गए ? ती सबै उदारवादी अर्थतन्त्रको हिमायतीहरूले खाईदिए । ती सबै प्रजातन्त्र भनेर कहिल्यै नथाक्ने मानिसहरूका तरकारीमा राख्ने मिठो मसलाका परिकार बने । यसैले नेपाली सर्वसाधारणका छोरा छोरी खाडीमा प्रचण्ड गर्मीमा पसिना बगाउन बाध्य छन् । देशभित्र कुनै रोजगारी छैन । प्रजातन्त्र र लोकतन्त्र नेपालमा भित्रीसकेपछि भित्रिएको कुनै उद्योग छ ? कुनै नयाँ आयमूलक काम कृषिमा सरकारको आफ्नै योजनामा भएको छ ? कुनै उदाहरण छैन भने त के तपाईंहरूको लोकतन्त्र र प्रजातन्त्र खाएर जनताले सधैँ अब चित्त बुझाउलान् त ? राजावादीहरूले टाउको उठाउने प्रयास गर्नुको कारण पनि यही हो । तपाईंहरूलाई यसको कुनै मतलब छैन । आ–आफ्नो दुनो सोझ्याउन भ्याईनभ्याई छ । कुनै वेला दक्षिण कोरियामा भोकमरी पर्दा चामल सहयोग गर्ने नेपाल अहिले कहाँ छ,? कोरिया कहाँ पुग्यो । मलेसिया कहाँ छ, चीन कहाँ पुग्यो ? सायद हामीलाई भ्रष्टाचारी को हुन भन्ने नै थाहा छैन । भ्रष्टाचारी तिनै कृत्रिम सान सौकतमा ईज्जत र प्रतिष्ठित जीवनयापन गरिरहेका मानिसहरू हुन् । त्यो पिउनदेखि हाकिमसम्म हुनसक्छन् । त्यो पुलिसका ठुला पदमा पनि हुन सक्छन् । त्यो अदालतभित्र हुन सक्छन् । त्यो आजकल जन्मेको नवधनाढ्य वर्गमा हुन सक्छ । सबैलाई अनुसन्धानको दायरामा मात्र ल्याउन सकियो र कारबाही गर्न सकियो भने देश विकासको लागि पैसा खोज्न युरोप अमेरिका लाग्नुपदैन । अरूका स्वार्थमा कुनै नेपाल र नेपालीले घुँडा टेक्नुपर्ने दिनको अन्त्य हुनेछ । नेपाल धनी छ कृत्रिम गरिबी सृजना गरिएको मात्र हो ।

प्रतिक्रिया