पूर्वसचिव कार्कीकी श्रीमती मुनाको हत्यापछि कामदारले गरे आत्महत्या !

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमतिको हत्या गरी कामदारले आत्महत्या गरेको प्रहरीले सुरुआती निष्कर्ष निकालेको छ । ललितपुरको सानेपास्थित कार्कीकै घरमा सोमबार बिहान दुवै जना मृत अवस्थामा फेला परेका थिए । कोही नभएको मौका पारी घरमा सहयोगीका रूपमा राखिएका १८ वर्षीय कामदार विजय चौधरीले ४९ वर्षीया मुना कार्कीको हत्या गरेका सिसिटिभी फुजेटमा देखिएको हो ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले कार्कीको घरमा रहेका तीनवटा सिसिटिभी क्यामेराबाट रेकर्ड गरिएका दृश्य सोमबार दिउँसो हेरेको थियो । प्रहरी स्रोतका अनुसार बिहान १० बजेर १० मिनेटमा चौधरीले मुनाको हात बाँधेको दृश्य देखिएको छ भने त्यसपछि ती दुवैबीच केहीबेर घम्साघम्सी भएको पनि रेकर्ड भएको छ । तर, त्यसबीच १३ मिनेटसम्म कुनै दृश्य देखिँदैन ।

‘१० बजेर २३ मिनेटमा चौधरीले मुनाको टाउकोमा केही चिजले सातपटक हिर्काएको पनि फुटेजमा देखिन्छ । त्यसपछि ४५ मिनेटसम्म उनी घटनास्थलमै ओहोरदोहोर गरिरहेको देखिन्छ’, एक प्रहरी अधिकारीले भने । फुजेटअनुसार बिहान ११ बजेर ८ मिनेटसम्म उनी किचेनमा ओहोरदोहोर गरिरहेको देखिन्छ ।

११ बजेर २० मिनेटमा घर आइपुगेका पूर्वसचिव कार्कीले चौधरीको शव झुण्डिएको अवस्थामा देखेका थिए । ‘प्लास्टिकको पहेँलो डोरीले पछाडिबाट मुनाको हात र घाँटीमा कसेको देखिन्छ,’ स्रोतले भन्यो, ‘त्यसपछि मुना भुईंमा लडिन् । अनि निलो पिर्काले मुनाको टाउकोमा हानेका थिए ।’ यो घटना भान्साकोठामा भएको थियो । त्यसपछि चौधरीले मुनालाई बाँधेको डोरीमा समातेर घिसारेको पनि सिसिटिभी फुटेजमा देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यसपछि चौधरीले किचनसँगैको बरण्डामा गएर डोरीमा झुन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । यद्यपि, यसविषयमा प्रहरीका कुनै पनि अधिकारीले आधिकारिक रूपमा केही बताएका छैनन् । स्रोतका अनुसार चौधरीले बलात्कार गरेपछि हत्या गरेर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । चौधरीको ‘अन्डरवेयर’मा रगत र विर्य लत्पतिएको देखिएको प्रहरी स्रोतले जानकारी दियो । पूर्वसचिव पत्नी मुनाको मासिकश्राव चलिरहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

मुनालाई अपराह्न सवा १२ बजे स्थानीय केही छिमेकीले सानेपास्थित स्टार अस्पताल ल्याएका थिए । अस्पताल ल्याउनेबित्तिकै मुनालाई डाक्टर मन्जिता बज्राचार्यको टिमले हेरेको थियो । ‘उहाँलाई यहाँ ल्याउँदा पल्स थिएन । आँखा निलो भइसकेको थियो । हामीले तत्काल इसिजी गरेर हे¥र्यौं, त्यो पनि फ्ल्याट भइसकेको थियो’, एक चिकित्सकले भने, ‘हातमा डोरी बाँधिएको अवस्थामा उहाँलाई यहाँ ल्याइएको थियो । यहाँ ल्याउँदा घाँटीमा, आँखा मुनि र निधारमा चोट लागेको प्रस्ट देखिन्थ्यो ।’ चिकित्सकले पनि मुनाको निधारमा कुनै गह्रुगो वस्तुले प्रहार गरेजस्तो देखिएको पुष्टि भने गरेका छन् ।

पूर्वसचिव कार्कीका अनुसार उनी घरमा नभएको मौका पारी घटना घटेको बताए । कार्की सधै बिहान गल्फ खेल्न विमानस्थल अगाडि रहेको गल्फ कोर्टमा जाने गरेका थिए । सोमबार बिहान करिब आठ बजेतिर उनी १० वर्षीया छोरालाई स्कुल पु¥याएर निस्किएका थिए । सधैँझैँ उनी गल्फ खेल्न नगई सोमबार भने पशुपतिनाथको दर्शनका लागि पुगेका थिए । पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरेपछि घर फर्किएका उनले सुरुमा कामदारको झुन्डिएको अवस्थामा शव देखेका थिए ।

त्यो देख्नेबित्तिकै आत्तिएका कार्कीभित्र पुग्ने बित्तिकै भान्छाकोठामा पत्नी मुनालाई रगताम्ये अवस्थामा फेला पारेका थिए । पत्नीलाई देख्ने बित्तिकै उनी बेहोस भएका थिए । त्यसपछि उनले चिच्याएर गुहार मागेपछि छिमेकी पुगेको थिए । घटनाबारे सुनाउदै कार्कीले भने,‘ ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौरु’ भगवानमाथिको भरोसा टुटेको भन्दै उनी विलाप गरिरहेका थिए । श्रीमती गुमाउँदाको घोर पीडामा रहेका उनी रुँदारुँदै वाक्य पनि बसेको छ । आफूलाई भेट्न आउनेहरूलाई उनले सोध्ने गरेका छन्, ‘म कसरी सहनुरु मैले कसरी यत्रो पीडा खप्नुरु दुर्घटना होइन यो, आफ्नै घरमा कसैले मारेको छ ।’

घटना कति बजेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन, न त कार्कीले आफैँ भन्न सक्छन् । स्थानीयले घटना साढे १० बजे आसपास भएको अनुमान गरेका छन् । मुना र चौधरी मात्रै घरमा रहेका कारण अरूले थाहा पाएनन् । स्थानीयका अनुसार कार्कीले दश वर्षअघि मात्र त्यो घर बनाएका थिए । साढे दुई तले घर बनाएर कार्की परिवार बानेश्वरबाट सानेपा सरेको थियो ।

आफन्तका अनुसार कार्की र उनकी पत्नीबीच प्रगाढ प्रेम थियो । पत्नी आफैँ खाना पकाउँथिन् । श्रीमतीलाई घरको काममा सजिलो होस् भनेर कार्कीले ६ वर्षअघि दाङका चौधरीलाई कामदारका रूपमा राखेका थिए । तीन सन्तान रहेका कार्कीका दुई छोरी उच्च शिक्षाका लागि अमेरिका र अस्ट्रेलियामा छन् । १८ वर्षे चौधरी कार्कीका १० वर्षे छोराको हेरचाहदेखि घरको कामकाजमा खटिन्थे । कार्की परिवार चौधरीको कामबाट सन्तुष्ट थियो ।

फागुन १७ गते छोराको व्रतबन्धको कार्यक्रम राखेका कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छाप्न जाने योजनामा थिए । अर्को महिना छोराको व्रतबन्ध गर्ने योजना मुनाकै चाहनामा बनेको आफन्तले बताए । के कारणले घटनाको मोड हत्यासम्म पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, पोस्टमार्टमको रिपोर्ट आएपछि मात्र थप भन्न सक्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया