काठमाडौं । तीन–तीन महिनामा कलेजो प्रत्यारोपण गर्दै आएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई यस पटक पनि सफलता हात परेको छ । शुक्रबार डा। रमेशसिंह भण्डारी नेतृत्वको प्रत्यारोपण टोलीले काठमाडौं बौद्धकी २७ वर्षे छोरीले दिएको कलेजो ५७ वर्षे बाबुमा प्रत्यारोपण गरेसँगै चौथोपटक सफलता भएको हो । कलेजो प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डा. भण्डारीका अनुसार यो कलेजो प्रत्यारोपण गर्नको लागि ९ घण्टा लागेको थियो ।
हाल बाबुछोरीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । दुवै जनालाई अहिले आइसियुमा राखिएको छ । ८–१० दिन आइसियुमा नराखी स्वास्थ्य अवस्था के हुन्छ भन्न नसकिने भण्डारीले जानकारी दिए । डा. भण्डारीको टोलीले भारतको दिल्लीस्थित फोर्टिक्स अस्पतालबाट आएका प्रत्यारोपण सर्जनको सहयोगमा प्रत्यारोपण गरेको हो । त्रिवि शिक्षण अस्पतालमा १८ जेठका दिन पहिलो कलेजो प्रत्यारोपण भएको थियो । उक्त पहिलो प्रत्यारोपणमा ३३ वर्षे छोरीले ५८ वर्षे बाबुलाई कलेजो दिएकी थिइन ।
यो चौथो सफलतासँगै अस्पतालप्रति बिरामी र संलग्न टोलीको आत्मविश्वास थप उचो भएको भण्डारीले सुनाए । यो सफलतासँगै नेपालमा कलेजो प्रत्यारोपणले स्थायित्व पाउने विश्वास डा. भण्डारीले व्यक्त गरे । ‘जति धेरै केसहरू गर्दै गयो, उति हाम्रो हौसला बढ्दो छ’, उनले थपे, ‘वषौँदेखिको यो सपना अब स्थायीरूपमा साकार हुने बाटोमा छ ।’ यसअघि ३ साउनमा दोस्रो र १ कात्तिकमा तेस्रो पटक कलेजो प्रत्यारोपण गरिएको थियो । पहिलो प्रत्यारोपणमा छोरीले बाबुलाई दिएकी थिइन्, दोस्रो प्रत्यारोपणमा ज्वाँईले ससुरालाई, तेस्रो प्रत्यारोपणमा छोराले बाबुलाई र यो चौथो प्रत्यारोपणमा पुन छोरीले बाबुलाई कलेजो दान गरेका हुन् ।
कलेजो प्रत्यारोपणका लागि उपत्यका बाहिरका कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) भरतपुर र चितवन मेडिकल कलेज भरतपुरले समेत लाइसेन्स पाएको छ । तर उक्त दुई मेडिकल कलेजहरूले यो सेवा सुरु गरेका छैनन् । कलेजो प्रत्यारोपणका लागि भारतमा ७० लाखभन्दा बढी खर्च लाग्ने भएपनि त्रिवि शिक्षण अस्पतालमा करीब २५ लाख रूपैयाँ खर्च हुने डा. भण्डारीले जानकारी दिए । कलेजो दान परिवारभित्रको र नजिकको नातेदारले मात्र गर्न सक्नेछन् । डा. भण्डारीका अनुसार १८ देखि ५५ वर्षसम्मको स्वस्थ व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । नेपालमा कलेजो प्रत्यारोपणको सुरुआत भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट भएको थियो । अहिलेसम्म उक्त केन्द्रले पाँचौँ कलेजो प्रत्यारोपण गरिसकेको जनाएको छ ।
प्रतिक्रिया