त्रिशुलीपारि समानान्तर सडक

मुग्लिन–नारायणगढ सडक खण्डको विस्तारपछि सरकारले पृथ्वी राजमार्ग विस्तारको योजना अघि बढाएको छ । यातायातका साधनहरूको चापलाई हेर्ने हो भने पृथ्वीराजमार्ग विस्तार अपरिहार्य भइसकेको छ । तर, विस्तारको काम मुग्लिन–नारायणगढ सडक खण्डकै मोडेलमा गर्ने कि विकल्प खोज्ने ? भन्ने विषयमा सरकार क्रियाशील रहेको देखिएको छ । मुग्लिन–नारायणगढ सढक विस्तारका क्रममा जनताले धेरै सास्ती पाएका थिए । ३ वर्षमा सक्ने भनेर थालिएको काम पाँच वर्ष लागेको थियो । निर्माणका क्रममा दैनिक १० घण्टा सडकमा यातायातका साधन चल्न निदिइएका कारण धेरै ठूलो समस्या उत्पन्न भएको थियो । ७० डिग्रीको भिरालो जमिनमा ९ मिटर चौडाइको सडक निर्माण गरिएकोले भू–क्षय पनि उत्तिकै भएको थियो । निर्माण सम्पन्न भएको दुई वर्ष पुग्न लाग्दासमेत वेलावेलामा पहिरो खस्ने र यात्रुहरूले दुख पाउने क्रम जारी छ । यदि, यही मोडेलमा पृथ्वीराजमार्गको विस्तार गर्ने हो भने अझ बढी सास्ती र नोक्सानी बोहोर्नुपर्ने निश्चित छ । मुग्लिन–नारायणगढ खण्डमा भन्दा काठमाडौं–मुग्लिन खण्डमा झण्डै दोब्बर यातायातका साधन गुड्छन् । एक घन्टा मात्रै सडक अवरुद्ध भयो भने २४ घण्टासम्म यात्रुहरूले सास्ती बेहोर्नु परेका उदाहरण छन् । त्यसैले विकल्प खोज्न विज्ञहरूले धेरै पहिलेदेखि सुझाब दिँदै आएका थिए । पछिल्लो समयमा त्यो सुझाबलाई सरकारले नोटिसमा लिएको जस्तो देखिएको छ ।

विकल्पका लागि धादिङको गल्छीदेखि मुग्लिङसम्म त्रिशूलीपारी (दायाँकिनारमा) समानान्तर सडक निर्माणका लागि सरकारले सम्भाव्यता अध्यायन सुरु गरेको छ । प्रारम्भिक अध्ययनअनुसार करिब ६० किलोमिटर सडक निर्माण गर्ने हो भने गल्छीदेखि मुग्लिन छिचोलिन्छ । ६० किलोमटिर मध्ये ५० किलोमिटर जति स्थानीयस्तरमै कच्ची सडक निर्माण भइसकेको छ । त्यो ५० किलोमिटरलाई स्तारोन्नति गरे पुग्छ । मुआव्जा दिइरहनु पर्ने अवस्था छैन । बाँकी १० किलोमिटर पनि सरकारी बुट्यान क्षेत्र पर्छ । त्रिशुली वारीपारी जोड्ने स वटा पक्की पुल निर्माण भइसकेका छन् । थप केही पुलहरू निर्माण हुने चरणमा छन् । त्यसैले, त्रिशुलीपारी अर्थात् दाहिने किनार तर्फ ६० किलोमिटर सडक निर्माण गरेर मात्रै साविकको पृथ्वीराजमार्ग विस्तारको काम थाल्ने हो भने यात्रुहरूले सास्ती बेहोर्नु पर्दैन । राजधानी काठमाडौंमा सामान आपूर्ति ठप्प हुने गरी सडक विस्तार गर्नुपर्ने वाध्यता हट्छ । पारी सडक निर्माण भइसकेपछि साविकको पृथ्वीराजमार्गको चौडाइ बढाउनका लागि भिर खोतल्नुपर्ने बाध्यता पनि हट्छ ।

सडक भनेको स्थानीय क्षेत्रको विकासका लागि मेरुदण्ड पनि हो । त्रिशूली नदीको दाया“ किनार अर्थात् साविकको पृथ्वीराजमार्ग आसपासको क्षेत्र राजधानी काठमाडौंजस्तै गुल्जार छ तर पारी पट्टी अर्थात् त्रिशुलीको दाहिने किनारको क्षेत्र कर्णालीजस्तै विकट छ । एउटा किनारामा मात्रै सडक फराकिलो बनाएर पहिरोको जोखिम निम्त्याउनुभन्दा त्यो खर्चले दाहिने किनारमा पनि समानान्तर सडक बनाउने हो भने वारी र पारीका जनताको जिवनस्तर समान हुन्छ । कथंकदाचित एउटा सडक अवरुद्ध भयो भने अर्को सडक प्रयोगमा ल्याउन सकिन्छ । पृथ्वीराजमार्ग अति व्यस्त त छ“दैछ त्यसमा पनि राजधानी काठमाडौं तथा पर्यटकीय सहर पोखराका लागि श्वास नली जस्तै हो । सम्भव भएसम्म श्वास नली दुईवटा भएको राम्रो हो । काठमाडौं–मुग्लिन सडकखण्डमा दैनिक १५ हजारभन्दा धेरै सवारीसाधन गुड्ने गरेका छन् । समय क्रमसँगै सवारी चाप बढ्ने सम्भावना यथावत छ । केरुङ नाका अझ व्यवस्थित भए पछि भोली चीन र भारतबीच व्यापार हुने छोटो रुट पनि यही सडक हुँदैछ । त्यसैले, गल्छीपारिदेखि धादिङको कल्लेरीटार, बेलिनटार, आदमटार, पीपलटार, सलाङघाट, बेनीदोभान हुँदै गोरखाको सिउरेनीटार, बुटार, रागीनास, छेवाटार हु“दै मुग्लिङ जोड्ने करिब ६० किमी समानान्तर सडक अनिवार्यजस्तै बनेको छ ।

प्रतिक्रिया