कृषिमा भविष्य बुन्दै पोखरेल दम्पती

समाजमा कृषिप्रतिको अनिच्छा बढ्दै गएका अवस्थामा यहाँका एक दम्पतीको कृषिप्रतिको लगाव भने अरूका लागि पनि अनुकरणीय बनेको छ । कृषिकै माध्यमबाट रामपुर नगरपालिका–६ तालपोखराका ६४ वर्षीय कृषक दुल्लभ पोखरेल र उनकी ५८ वर्षीया श्रीमती डिल्लीमाया पोखरेलले वर्तमान मात्रै सपारेका छैनन्, भविष्यका लागि पनि सुनौला सपना सजाएका छन् । छोराछोरी पढाउनका लागि अन्य कुनै रोजगारी, व्यवसाय, उद्योगधन्दा नै गर्नुपर्छ भन्ने पनि छैन भन्ने दरिलो प्रमाण बनेको छ यो दम्पती ।

पोखरेल दम्पती कृषि व्यवसायबाटै पाँच सन्तानलाई स्नातकोत्तर तहसम्मको शिक्षा पूरा गराउन सफल भएका छन् । परिवारका पाँचै सन्तानले बुबाआमाले लगानी गरेअनुसार राम्रो शिक्षा आर्जन गरेकोमा उनका आफन्त, छिमेकी पनि दंग छन् । पाँच जना सन्तानलाई चल सम्पत्ति नहुँदा हुर्काउन र पढाउन निकै कष्ट थियो । छोराछोरीको उचित भविष्यका लागि उनीहरूले जीवनमा ठूलो संघर्र्ष गरेका थिए । आफूहरूको मेहनत र दुःखअनुसार नै छोराछोरीले लगनशील भएर पढेकोमा पोखरेल दम्पती यति बेला अत्यन्तै खुसी छन् ।

उनीहरूले २०५६ सालमा आयस्रोतका निम्ति काँक्रा खेतीबाट व्यवसाय सुरू गरेका हुन् । काँक्राबाट नसोचेको आम्दानी भएपछि व्यवसायलाई बर्सेनि थप गर्दै लगे उनीहरूले । आजभन्दा भोलि व्यवसायबाट मनग्ये आम्दानी हुने र तरकारी बेचेर हातमा दाम पर्न थालेपछि उनीहरूको हौसला पनि चुलिँदै गयो छोराछोरीको उज्ज्वल भविष्यका लागि रामपुरदेखि बाहिर शहर बजारमा पढाउन थाले । कृषिबाटै छोराछोरीको पढाइ खर्च पूरा गरे उनीहरूले । परिवारको पालनपोषण, पठनपाठन रामै चलेको छ ने उनीहरूको लगन र सफलता अरू छरछिमेक र आफन्तका लागि पनि उदाहरणीय बनेको छ ।

कम्तीमा पाँच रोपनी र बढीमा दश रोपनीमा तरकारी खेती निरन्तर गर्छ उनीहरू । तरकारी खेतीसँगै बाख्रापालन, भैँसीपालन, केरा व्यवसाय पनि अँगालेका छन् । उनको घरमा अहिले १९ वटा बाख्रा, दुई वटा भैँसी छन् । केराखेतीबाट राम्रै आम्दानी हुने भएपछि एक रोपनी जमिनमा मा केरा लगाएका छन् । सबै व्यवसायबाट वर्षमा करिब चार रूपैयाँ लाखसम्म आम्दानी गर्न सफल भएक छन् पो परिवार । छोराछोरीले बुबाआमाले गरेको दुःख सम्झेर गरेको शैक्षिक सफलताले खुशी लागेको दुल्लभ पोखरेल बताउछन् ।

‘दुःख गरेर छोराछोरीका लागि कृषि पेशा गरी त्यसैबाट लगानी गरेअनुसार नै उनीहरूले राम्रो शिक्षा आर्जन गरे, जागीर पनि सुरू गरिसकेका छन्,’ उनले भने, ‘अहिले यो देख्दा हिजोको दुःखका दिन आज बिर्सिएको छु ।’ पाँच सन्तानमध्ये जेठी छोरी सिर्जना पराजुलीले नेपाली विषयमा स्नातकोत्तर तह सकेर जागीर गर्दै छीन भने जेठो छोरा कुश्माखरले अङ्ग्रेजी विषयमा एमफिल सकाएर हाल पाल्पा सदरमुकाम तानसेनमा रहेको जनता माध्यमिक विद्यालय र तानसेन बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका छन् ।

माइली छोरी सरिता गणित विषयमा स्नातकोत्तर तह उत्तीर्ण सकाएर अहिले तनहुँको भिमाद नगरपालिकास्थित धर्म माविमा प्रावि स्थायी दरबन्दीमा कार्यरत छीन् । कान्छो छोरा सुमन विज्ञान विषयमा स्नातकोत्तर तह सकाएर हाल काठमाडांै केएमसी कलेजमा अध्यापन गर्दै छन् । त्यस्तै कान्छी छोरी सविता व्यवस्थापन विषयमा स्नातकोत्तर तहको पढाइ सकाएर लोकसेवा आयोगको परीक्षाको तयारीमा लागेकी छन् । यति बेला उनको तरकारी व्यवसाय सँगै सन्तान समेत सफलता पूर्वक अघि बढीरहेका छन् ।

समाजमा अचल सम्पत्ति प्रशस्त रहे पनि व्यवसाय गर्न चल सम्पत्ति नहुँदा आफन्त, छिमेकीले सकेसम्म व्यवसायमा लगानी गर्न सहयोग गर्दैनन् । कमाउने हुँदा सबैका हाइहाइ नहुँदा कोही न कोही भनेझँै थियो, पोखरेल दम्पतीका विगतका दिन । अहिले समय फेरिएको छ, उनका हातमा दिनहुँ दाम परिरहेका छन्, यो देखेर टाढिएका आफन्त, छिमेकी सबै नजिकिने गरेका छन् । उनीहरूको मिहनत र सफलताले पनि उनीहरूलाई अहिले सबैको नजिक बनाएको छ ।

‘घरपरिवार समाजमा पढ्नुपर्छ भन्ने सोच पनि थिएन, हामीले पढ्ने रहर भए पनि पढ्न पाइएन, त्यही सम्झेर आफूले दुःख गरेर छोराछोरीलाई शिक्षा दिएका हौँ,’ विगत सम्झँदै डिल्लीमायाले भनीन, ‘धेरै जना छोराछोरी जन्मिए, कसरी पढाउने हुर्काउने भन्ने पीरले रातदिन सताउँथ्यो, तर तरकारी लगाउन सुरू गरेपछि अचम्मको उत्पादन हुन थाल्यो, त्यसैबाट छोराछोरीको इच्छाअनुसारको पढाइ खर्च धानियो ।’ अहिले उनीहरूका लागि आर्थिक समस्या छैन, न त कुनै चिन्ता नै ।

बुबाआमाले कृषि व्यवसायबाट कमाएको रकमले शिक्षामा लगानी गरेर छोराछोरीका लागि दुःख गरेर भविष्य बनाइदिएको उनको माइली छोरी सरिता बताउछीन् । ‘बुबाआमाले गरेको मेहनत, दुःख सम्झेर नै हामीले पनि पढाइमा निकै मेहनत गरेर पढ्यौँ, हामी सानै थियौँ,’ उनले भनिन्, ‘परिवारमा कमाएर दिने कोही थिएन, तरकारी लगाएर, बाख्रा बेचेर, दूध बेचेर पाँचै जना छोराछोरीलाई भेद्भाव नगरिकन सबैलाई राम्रो शिक्षा दिनुभयो ।’

बुबाआमाले शिक्षामा लगानी नगरेको भए अहिले बीचमै पढाइ छाडेर बाँच्नका लागि मजदुरी गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । छोराछोरीको प्रगति देखेर ढल्कँदो उमेर भए पनि कामधन्दा भने जवानी अवस्थाकै जोश जाँगर छ । आफूले सक्दासम्म कृषि व्यवसायलाई निरन्तरता दिने पोखरेल दम्पतीको भनाइ छ । मान्छेले लगनशिलताका साथ काम गर्ने हो भने बाँच्नका लागि समस्या हुँदैन भन्ने दह्रो उदाहरण पनि हो यो परिवार ।

प्रतिक्रिया