लिबिया संकट बारे चार देशका नेताहरुको छलफल

मस्को । लिबियामा बढ्दै गइरहेको संकटका बारेमा विभिन्न देशका नेताहरुका बीचमा छलफल भएको छ ।  रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका उनका समकक्षी एम्यानुएल मर्कोनले आइतबार कुराकानी गरेका हुन् । टेलिफोनमा भएको कुराकानीका क्रममा उनीहरुका बीचमा लिबिया संकट, युद्ध विरामको महत्वलगायतका विषयमा छलफल भएको रुसी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कार्यालयद्धारा जारी वक्तव्यका अनुसार दुवै नेताहरुले लिबियाको संकट समाधानको लागि आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए । संकट समाधानका लागि राजनीतिक तथा कुटनीतिक तवरबाट पहल थाल्ने र जर्मनीको राजधानी बर्लिनमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने बारेमा पनि उनीहरुले छलफल गरेको वक्तव्यमा जनाइएको छ ।

पुटिन र मर्कोनले युक्रेनको द्वन्द्वका साथै इरान र सिरियाको पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी गरेका थिए । यसअघि शनिबार पुटिन र जर्मन चान्सलर एञ्जेला मर्केलका बीचमा पनि कुराकानी भएको समाचारमा जनाइएको छ । त्यसैगरी जर्मनी चान्सलर मर्केलले टर्कीका राष्ट्रपति रेसेप तयप एर्डोगानसँग पनि लिविया संकटका बारेमा कुराकानी गरेका छन् ।

आइतबार भएको फोन कुराकानीका क्रममा उनीहरुले लिबियामा हालै विकसीत घटना क्रमको बारेमा छलफल गरेको टर्कीका सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुले क्षेत्रीय चासो र सरोकारको विषयमा पनि कुराकानी गरेको सरकारी निकायद्धारा जारी वक्तव्यमा जनाइएको छ ।

प्रतिक्रिया