नेपालमा कोलाजको प्रथम प्रयोक्ता

नेपाली कला क्षेत्रमा लामो यात्रा तय गरेर सफलता हासिल गरेको व्यक्तित्वका रूपमा कलाकार कान्छाकुमार कर्माचार्यलाई चिनिन्छ । साढे पाँच दशक लामो कलायात्रामा उहाँले कलाका विविध आयाम र शैलीमा काम गरिसक्नुभएको छ । उहाँलाई नेपालमा पहिलोपटक कोलाज बनाउने कलाकारको श्रेय पनि जान्छ ।

२००४ सालमा काठमाडौँमा जन्मिनुभएका कर्माचार्यले ०२२ सालमै कोलाज कला प्रदर्शनीमा राख्नुभएको थियो । कोलाज फ्रेञ्च भाषाको ‘कोल’ (ऋयििभच) बाट आएको हो । कोल अर्थात् यसलाई गम पनि भनिन्छ । कोलाज विभिन्न आकारका वस्तुलाई जोडेर आकार प्रदान गरिन्छ । यसका लागि कागज, कपडा, वा यस्तै विभिन्न वस्तुका टुक्रा जोडेर बनाइन्छ । साथै फोटोका टुक्रा, अन्य कलाकृतिका अंश आदिलाई चित्रसतहमा टाँसेर कोलाज तयार पारिन्छ ।

आधुनिक कला जगतमा कोलाजको सुरूवात् बिसौँ शताब्दीबाट भएको मानिन्छ । विशेषगरी घनवादी कलाकार पाब्लो पिकासो तथा जर्ज ब्राकले कोलाजको प्रयोग गरी कलाकृति बनाएका थिए । यसलाई संश्लेषणात्मक घनवादका रूपमा चिनिन्छ । कलाकारद्वय पिकासो र ब्राकले यसरी कलाकृति बनाउने विधिलाई कोलाज नामाकरण गरेका थिए । हुनत कोलाज जसरी कला बनाउने प्रचलन निकै अघिदेखि भएको मानिन्छ । तर यसलाई कलाको एक विधि र प्रयोगात्मक ढंगले भने बीसौँ शताब्दीदेखि लिन थालिएको हो ।

नेपालमा कलाकार कर्माचार्य २०२२ सालमा कोलाजमा कृति तयार पारी प्रदर्शन गर्नुभएको थियो । यसरी नेपालमा कोलाज कलाको विधिवत् प्रवेश गराउने कलाकार कर्माचार्यले कलाका विविध शैलीमा काम गर्नुभएको छ । त्यसवेला नेपालमा यथार्थपरक चित्र रचना गर्ने प्रचलन व्यापक थियो ।

कर्माचार्यले कोलाज बनाएपछि प्रदर्शित कलाका बारेका विभिन्न टिप्पणी भएको उहाँ सुनाउनुहुन्छ । बुझेरै यस विधिमा कला बनाएकाले उहाँले ती टिप्पणीलाई ऊर्जाको रूपमा लिएको बताउनुभयो । त्यसवेला कलाका बारेमा लेख्ने कतिपय लेखकले समेत उहाँको नवीन प्रयोगका बारेमा खासै चर्चा र चासो नदिएको उहाँको गुनासो छ ।

कलाबाट समाजका विषयलाई उठान गर्नु र झक्झकाउने काममा उहाँका कलाकृतिको भूमिका विशिष्ट रहेको छ । सामाजिक, राजनीतिक, सांस्कृतिक जागरणका लागि उहाँले जागिरे जीवनमै पनि कलामार्फत आफ्नो भूमिकालाई अगाडि बढाइरहनुभयो । वास्तवमा राजनीतिक, सामाजिक विषयमा जागरण ल्याउन बनाइएका पोस्टर या दृष्टान्तचित्रले उहाँको व्यक्तित्वलाई आममानिससमक्ष पु¥याउन मद्दत गर्यो ।

सानै उमेरदेखि चित्रकलाप्रति झुकाव राख्नुभएका कर्माचार्यले ६ वर्षको अध्ययनपछि जुद्धकला पाठशालाबाट २०२१ सालमा कला प्रवीण उतीर्ण र त्रिभुवन विश्वविद्यालयबाट २०३१ सालमा स्नातक पूरा गर्नुभयो ।

हुलाक सेवा विभागमा कलाकारको रूपमा जागिर खानुभएका कर्माचार्यले सयौँ पुस्तकमा दृष्टान्तचित्र बनाउनुभएको छ । विशेष गरी बालसाहित्यका क्षेत्रमा कार्माचार्यको योगदान विशिष्ट रहेको छ ।

त्यसका साथै उहाँले मूर्त, अमूर्त तथा सामाजिक विषयमा केन्द्रित रही सयौँ कलाकृति रचना गर्नुभएको छ । कलाप्रतिको लगाव र निरन्तरको यात्राले उहाँलाई कुशल कलाकार मात्रै बनाएन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिजस्तो महत्वपूर्ण भूमिकासमेत प्राप्त भएको छ ।

उहाँका कलामा मानवीय पीडा, संस्कृति, प्रकृति, सामाजिक जनजीवन, समानता लगायतका सामाजिक न्यायका विषय समेटिएको पाइन्छ । उहाँका पछिल्ला कलाकृतिमा गतिशीलताका विषयलाई अनुभूत गर्न सकिन्छ । ‘मोसन’ अर्थात् ‘गति’ शृंखलामा उहाँले बनाएका चित्रमा प्रकृति र मानवीय जीवनको कलात्मक संयोजन रहेको पाइन्छ । रङको प्रयोग र संरचनामा विशेष ध्यान दिने कलाकार कर्माचार्यका क्यानभासमा प्रकृतिको रूपलाई गतिशीलता प्रदान गरेको अनुभूत गर्न सकिन्छ ।

जीवनलाई गतिशील बनाउनुपर्छ भन्ने मान्यता राख्ने कर्माचार्यले समाजप्रति कलाकार उत्तिकै उत्तरदायी हुनुपर्ने विचार राख्नुहुन्छ । रङको जादुमय प्रयोग र प्रकृतिको मिहिनतालाई उत्खनन गर्ने उहाँका कलाकृतिले आफ्नैपन र शैली निर्माण गरेको पाइन्छ ।

मूलतः विषय दृष्टिकोणका आधारमा उहाँका कलामा यथार्थ विषयको प्रधानता रहेको पाइन्छ । मूर्त तथा अमूर्त कलालाई समेत उत्तिकै ध्यान दिएर रचनाकर्ममा तल्लीन कर्माचार्यले अमूर्त कलामा भने प्रकृति र मानवीय संवेदनाका विषयलाई संयोजन गरेको पाइन्छ । यसले उहाँको छुट्टै पहिचान स्थापित गरेको छ ।

२०२४ सालदेखि हुलाक सेवामा जागिर खानुभएका कर्माचार्यले ४ सय ७ भन्दा बढी हुलाक टिकटको डिजाइन गर्नुभएको छ । हुलाक टिकट डिजाइनरका रूपमा ३७ वर्ष ९ महिना हुलाक सेवामा बिताउनुभयो । उहाँले राष्ट्रिय विभूति अरनिको, साहित्यकारहरू ज्ञान दिलदास, सिद्धिदास अमात्य, सोमनाथ सिग्द्याल, पहलमानसिंह स्वाँर, जयपृथ्वीबहादुर सिंह, सूर्यविक्रम ज्ञवाली, बालकृष्ण सम, युद्धप्रसाद मिश्र लगायतका साहित्यिक स्रष्टाको मुहारचित्रलाई टिकटमा सजाइदिनुभएको छ ।

त्यसैगरी, स्वरसम्राट नारायणगोपाल, नेपाली ललितकला फाँटका मूधन्र्य व्यक्तित्व कलाकार चन्द्रमान मास्के, नेता बी.पी. कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी लगायतको व्यक्तित्वलाई हुलाक टिकटमा आफ्नो कलामार्फत प्रस्तुत गर्नुभएको छ ।

उहाँले नेपाली बालसाहित्यका क्षेत्रमा समेत उत्तिकै योगदान दिनुभएको छ । उहाँ दर्जनौ बालसाहित्य सम्बन्धित पत्रपत्रिकामा लामो समयसम्म दृष्टान्तचित्र बनाउनुभएको छ । वास्तवमा नेपालको दृष्टान्तचित्र बनाउने कलाकारको रूपमा उहाँको नाम अग्रपंक्तिमा आउँछ । उहाँले सयौँ साहित्यकारका पुस्तकको आवरण चित्र तथा दृष्टान्तचित्र बनाउनुभएको छ ।

नेपाल बाल साहित्य समाजबाट चारपटकसम्म उत्कृष्ट चित्र पुरस्कार प्राप्त गरिसक्नु भएका कर्माचार्य ‘उत्कृष्ट हुलाक डिजाइनर’ का रूपमा फिलाटेलिक सोसाइटीबाट समेत सम्मानित हुनुभएको छ । कर्माचार्यले तेजबहादुर चित्रकार, चन्द्रमान सिंह मास्के, जीवरत्न शाक्य, कालीदास श्रेष्ठ र चन्द्रबहादुर मानन्धरलाई आफ्नो कलागुरू मान्नुहुन्छ ।

२०६६ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव बन्नुभएका कर्माचार्य एक वर्षदेखि सोही प्रतिष्ठानको कुलपतिको जिम्मेवारी सम्हालिरहनुभएको छ । उहाँ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, नेपाल कलाकार समाज, नेपाल बाल साहित्य समाज, बाल वाङ्मय अनुसन्धान केन्द्र, आर्टिष्ट सर्कल, सिर्जना कलेज अफ फाइन आर्टस् लगायतका संघसंस्थामा आबद्ध रहेर सामाजिक कार्यमा समेत सक्रिय रहनुभएको छ ।

उहाँको एक दर्जनभन्दा बढी नेपाल तथा विदेशका विभिन्न मुलुकमा एकल प्रदर्शनी भएको छ । उहाँले चीन, भारत, जर्मनी, दक्षिण कोरिया, बंगलादेश, जापानलगायतका मुलुकमा कला प्रदर्शनी गर्नुभएको छ ।

त्यस्तै, उहाँले दर्जनाैँ पटक सामूहिक कला प्रदर्शनीमा सहभागी भइ आफ्नो सिर्जनशील क्षमतालाई देश विदेशमा चिनाउनुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई गतिशील संस्थाको रूपमा अगाडि बढाउने लक्ष्यका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कलाक्षेत्रको विकास र विस्तारका लागि हरेक प्रदेशमा गएर प्रादेशिक ढंगबाट कलालाई विस्तार गर्नुपर्छ ।’ उहाँले नेपाली कलालाई विश्वमा चिनाउने गरी प्रतिष्ठानले कार्ययोजना तयार गरिरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली कलाको स्थान कहाँनेर हो भन्ने स्थिति अहिले ठ्याक्कै नभए पनि विश्वमा हेर्दा हाम्रो कलाको प्रवृत्ति अग्रगामी नै भएको पाउँछौँ । हामी त्यहाँसम्म पुग्नलाई अझै केही समय लाग्छ ।

हुनत हामीले विश्वका विभिन्न देशमा भएका कला प्रदर्शनीमा भाग पनि लिइरहेका छौँँ ।’ कुलपति कर्माचार्यले विश्वमा नेपाली परम्परागत कलाले विशिष्ट स्थान पाएको तर त्यसको अझ प्रवद्र्धन र विस्तारको काम हुन बाँकी रहेको सुनाउनुभयो । उहाँले नेपालका लोककला, परम्परागत तथा अन्य समुदायमा आधारित कलाको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘नेपालको पहिचान भनेकै परम्परागत र लोककला हुन् । हाम्रो पहिचानको हिसाबले परम्परागत, मिथिला, थाङ्का, पौभा, हाम्रै जनजातिका कलाकारका राम्रा–राम्रा कलाहरू छन् । यस्तालाई हामीले प्रवद्र्धन गर्नुपर्छ । बाहिर लगेर प्रचारप्रसार पनि गर्नुपर्छ ।’

प्रतिक्रिया