बत्ती निभाएर अभियन्ताको हत्या !

जनकपुरधाम । मिथिला नगरपालिकाभित्रको अधिकांश नदी एवं खोलाहरूमा अवैध उत्खनन्को आतंक छ । गाउँ र चुरेलाई समेत जोखिम बढाउने गरी नदीजन्य गिट्टी बालुवा उत्खनन् भइरहेको छ ।

यस्तो कार्यको विरूद्धमा गाउँले र स्थानीयवासीले पटक–पटक स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका थिए । तर, कसैले पनि उनीहरूको आवाज नसुनेको स्थानीयको भनाइ छ । मिथिला नगरपालिका–५ श्रीपुरको भित्री खोलामा स्थानीय ठेकेदारले उत्खनन्को नाममा दोहोन गर्दै आएका छन् । उत्खनन्को विरोधमा एक अभियन्ता थिए, २४ वर्षीय दिलीपकुमार महतो ।

उनकै अगुवाईमा आन्दोलन गरेपछि स्थानीय खोलामा अनियन्त्रित उत्खनन रोकिएको थियो । तर, नगरपालिकाले मेसिन प्रयोग नगर्ने गरी ४ करोड ५१ लाख रुपैयाँमा नदीजन्य गिट्टी बालुवा उत्खनन् गर्न ठेक्का दिएको थियो । नगरपालिकाले मेसिन प्रयोग गर्न रोक लगाए पनि क्रसर उद्योगले रातको समयमा खोलामा मेसिन चलाउँथे । मेसिन प्रयोग गरी गिट्टी बालुवा उत्खनन गर्नेमा चुरियामाई बालुवा प्रशोधन उद्योग अगाडि थियो, जसको सञ्चालक विपिन महतो हुन् ।

मेसिन प्रयोग गरेको विषयमा आवाज उठाउँदा उल्टै क्रसर व्यवसायीले आवाज उठाउनेहरूलाई धम्की दिने गरेका थिए । प्रहरी र स्थानीय सरकारको अकर्मण्यता र मिलेमतोका कारण व्यवसायी र टिपर सञ्चालकको आतंक झन् झन् बढ्दै गएको स्थानीयवासीको आरोप छ ।

दिलीपले यस विषयमा पटक–पटक आवाज उठाउँदै आइरहेका थिए । उनलाई पनि चुप लागेर घरमा बस्न पटक–पटक धम्की आइरहेको थियो । परिवारका अनुसार सबैभन्दा बढी धम्की दिएका थिए, औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपिनले । तर, धम्कीको पर्वाह नगरी दिलीप यो अभियानमा सक्रिय रहे ।

महतोका बुबाले कृष्णा भनिने रामजीवन महतोले पाँच कठ्ठा जग्गा क्रसर उद्योगी विपीनलाई दिएका थिए । सोही जग्गाको भाडा उठाउन जाँदा केही दिनअघि विपिनले छोरालाई सम्झाइदिन भन्दै चेतावनीसमेत दिएका थिए । दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइदिनु । नत्र कुनै दिन जिउमै टिपर चढाइदिन्छु ।’

भारतको भोपालमा इन्जिनियरिङ पढ्ने गरेका महतो केही दिनअघि आफ्नो गाँउ श्रीपुर आएका थिए । तर, शुक्रबार बिहानै हत्या गरिएको अवस्थामा महतोको शव भेटियो । उनलाई क्रसरमा रहेको टिपरले किचेर हत्या गरेको परिवारको दाबी छ । केही दिनअघि मात्रै क्रसर सञ्चालकले टिपरले किचिदिने धम्की दिएलगत्तै यो घटना भएपछि आशंका व्यवसायीतर्फ मोडिएको छ । दिलीपको बिहान साथीसँग मर्निङवाक गएका वेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।

‘उत्खनन्विरुद्ध आवाज उठाउँदा ज्यानै गुमाउनुप¥र्याे,’ वीरेन्द्रले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकहरूले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए । तर, भाइले त्यसको पर्वाह गरेन । अन्ततः उसको ज्यानै लिइयो ।’ गाउँलाई नै जोखिममा पारेर दुवै खोलामा भइहेको अतिक्रमण विरुद्ध गाउँलेलाई दिलीपले नै जगाएका थिए । खोलामा भइरहेको उत्खनन विरूद्ध लागेका उनको समूह र टिपरसहित क्रसर चालकहरूको बेलाबेलामा विवाद पनि भएको थियो ।

डेढवर्षअघि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको संलग्नतामा बसही खोलामा भएको अवैध उत्खनन र खोला अतिक्रमणको विरोधमा दिलीपकै नेतृत्वमा अभियान सञ्चालन भएको थियो । उनीहरूले जनकपुरबाट पत्रकार टोली बोलाएर घटनाको भण्डाफोर गरेका थिए । स्थानीय जग्गा ठेकेदार राजाराम महतोले ढल्केबरको पूर्वमा रहेको बसही खोला अतिक्रमण गरेको जानकारी पनि उनीहरूले दिएका थिए ।

शुक्रबार बिहान करिब ४ बजेतिर दिलीपलाई उनका साथी रोशन यादवले बोलाएर लगेका थिए । त्यही विपिनको क्रसर उद्योगमा रहेको ना.७ख ६४१३ नम्बरको टिपरले किचेको थियो । आफूलाई फोन गरेर घटनाबारे जानकारी दिइएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादव भन्छन्, ‘म दौडिएर पुग्दा सबै भागिसकेछन्, रोशन मात्र त्यहाँ थियो ।’

त्यसपछि आफूले प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्कासमेत नगरी शव उठाएको उनले सुनाए । ‘चौकीमा आएपछि मैले कसरी घटना भयो भनेर रोशनलाई सोधेको थिएँ’ वडाध्यक्ष यादव भन्छन्, ‘उनले बताएअनुसार क्रसरमा लाइटहरू अफ गरिएको थियो रे । उनी पछाडि र दिलीप अगाडि गएका थिए रे ।’

दिलीपलाई टिपरले किचिसकेपछि थाहा पाएको र एम्बुलेन्स बोलाउन आग्रह गर्दा क्रसरका सबै भागेको रोशनले आफूलाई बताएको वडाध्यक्ष यादवको भनाइ छ । घटना हेर्दा आफूलाई पनि दिलीपलाई जानीजानी मारेको भन्ने लागेको उनले सुनाए । यसैबीच, प्रहरीले टिपरका चालक मुनीन्द्र महतोलाई पक्राउ गरेको छ ।

बर्दिवास घर भएका महतोलाई इलाका प्रहरी कार्यालय, ढल्केवरले नियन्त्रणमा लिएको हो । टिपरलाई बिहानै नियन्त्रणमा लिए पनि चालकलाई भने अपराह्न ढल्केवर पश्चिमबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया