नेपाल टेलिकमकाे वेबसाइटबाटै चाहिएको फोन नम्बर पाइने

काठमाडौँ । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकताबमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल टेलिकमको वेब पेजमार्फत यस प्रकारको पिएसटीएन टेलिफोन सोधपुछ प्रणाली सञ्चालनमा ल्याइएको छ । त्यसको लागि कम्पनीको वेबसाइट https://www.ntc.net.np/pstn मा लगअन गर्नुपर्छ ।

त्यहाँ दिइएको ‘टेलिफोन इन्क्वाइरी’मा आफूलाई चाहिएको व्यक्ति वा संस्थाको नम्बर खोज्न सकिन्छ । व्यक्तिगत ग्राहकको हकमा व्यक्तिको नाम साथै ठेगाना र जिल्ला लेखेर नम्बर पत्ता लगाउन सकिन्छ । त्यसैगरी संस्थागत ग्राहकका हकमा कम्पनीको नाम, ठेगाना र जिल्लाअनुसार टेलिफोन नम्बर प्राप्त गर्न सकिन्छ ।

विगतमा पनि पिएसटीएन टेलिफोन नम्बर खोज्नको लागि कम्पनीको मुख्य वेब पेजमार्फत वेबमा आधारित इन्क्वायरी सिष्टम सञ्चालनमा रहेको थियो । हाल सोही सेवालाई पुनःपरिमार्जितरुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीका डाटा प्रयोगकर्ताको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको कारणले गर्दा पनि ग्राहकलाई वैकल्पिकमाध्यमबाट बिनाझण्झट जुनसुकैबेला सेवा उपलब्ध गराउन यो व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया