चार स्वर्णसहित ९ पदक

काठमाडौं । पौडीमा सनसनी मच्चाइरहेकी १७ वर्षीया गौरिका सिंहले सागमा चौथो स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् । यो पदकसँगै उनी यो क्षेत्रीय खेलकुदको एकै संस्करणमा चार स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर फ्रिस्टाइल र २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण चुमिसकेकी गौरिकालाई पौडीको अन्तिम दिन सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् । साथै उनले सागमा सबैभन्दा धेरै स्वर्ण जित्ने तेक्वान्दोको दीपक विष्टको कीर्तिमान पनि बराबरी गरेकी छन् । दीपकले चार संस्करणमा चार वटा स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित पौडी पोखरीमा महिला सय मिटर फ्रिस्टाइलमा गौरिकाले भारतीय प्रतिस्पर्धीलाई ०.०२ सेकेण्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी ५८ दशमलव १३ सेकेण्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी शिवांगी शर्माले रजत जितिन् । उनले उक्त दूरी ५८ दशमलव १५ सेकेण्डमा पूरा गरेकी थिइन् ।

यसअघि १७ वर्षीया ओलम्पियन गौरिकाले दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल तथा चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । जारी प्रतियोगितामा उनको यो नवौं पदकसमेत हो । यसअघि उनले दुई रजत र तीन कांस्य पदकसमेत जितेकी छन् । सोमबार नै ४०० मिटर मिड्ले रिलेमा गौरिका संलग्न नेपाली टोलीले कांस्य पदक जितेको थियो । उनले यो सागमा ९ वटा इभेन्टमा सहभागी भएकी थिइन् भने सबैमा पदक जित्न समेत सफल भइन् ।

सागमा सबैभन्दा धेरै पदक जित्ने सूचीमा भने गौरिका दोस्रो स्थानमा रहेकी छन् । उनले १३ औँ संस्करणमा ८ पदक (चार स्वर्ण, २ रजत र ३ कांस्य) र अघिल्लो संस्करणमा १ रजत र ३ कांस्य जितेकी थिइन् । उनको कुल पदकको संख्या १२ पुगेको छ । सबैभन्दा बढी पदक जित्नेमा भारोत्तोलनका दिवंगत सुनीललाल जोशी रहेका छन् । उनले सागको ६ संस्करणमा ५ रजत र ९ कांस्य गरी १४ पदक जितेका थिए ।

सागको नवौँ दिनसम्म आइपुग्दा नेपालको स्वर्ण संख्या ४९ पुगेको छ । नवौँ दिन थप चार स्वर्ण पदक जित्दै नेपाल तालिकाको दोस्रो स्थानमा यथावत् छ । नेपालले ५३ रजत र ८७ कांस्य गरी १८९ पदक जितेको छ । शीर्ष स्थानमा रहेको भारतको स्वर्ण मात्र १४९ पुगिसकेको छ । उसले ८७ रजत र ४३ कांस्य गरी पदक संख्या २७९ बनाएको छ ।

तेस्रोमा श्रीलंकको ३६ स्वर्ण, पाकिस्तानको ३२ स्वर्ण, बंगलादेशको १९ स्वर्ण र माल्दिभ्सले एक स्वर्ण जितेको छ । भुटानले भने अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन । सागको अन्तिम दिन नेपालले भुटानसँग पुरुष फुटबलको स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया