चिया कृषक पाठशाला सञ्चालनमा

फिदिम । पाँचथरमा यसअघि अदुवा, अलैंचीलगायत नगदेवालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ । कृषकहरूलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाई व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो । कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने अपेक्षा गरिएको छ । चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजना पाँचथरले फाल्गुनन्द गाँउपालिका–४ चिलिङदिनमा रहेको नामसामी चिया तथा कफी उत्पादक सहकारी संस्थामा पाठशाला सञ्चालनमा ल्याएको हो ।

उक्त कार्यालयले चालू आर्थिक वर्षको कार्यक्रमअनुसार कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यास चिया कृषक पाठशाला’ सुरुवात गरिएको कार्यालय प्रमुख प्रेमकुमार थिङले जानकारी दिए । निरन्तर प्रांगारिक चिया उत्पादन गर्दै आएको यस सहकारीमा आबद्ध कृषकलाई व्यावसायिक बनाउन पाठशाला सञ्चालनका लागि छनोट गरिएको उनले बताए ।

कृषक पाठशालामा उक्त सहकारीमा आबद्ध कृषकहरू प्रयोगात्मक सिकाइमा सहभागी हुने गरेका छन् । उक्त सहकारीमा पाठशाला सञ्चालन गर्न कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ । कृषि प्राविधिक दीपक चौधरीले चियाको नर्सरी गर्ने तरिका, काँटछाँट प्रविधि, रोग किरा नियन्त्रण, पत्ति टिपाइसम्बन्धी तालिमलगायत चिया खेतीका सीप र प्रविधि प्रयोगात्मक विधिद्वारा कृषकलाई जानकारी गराउँदै आएको बताए ।

सहकारीको चिया बगान करिब ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ । विसं ०५२ बाट बिरुवा रोपणको काम थालनी गरी ०६० सालबाट चिया उत्पादन सुरु गरिएको सहकारीका अध्यक्ष मोतिराज नेम्वाङले जानकारी दिनुभयो । सहकारीले प्रांगारिक प्रमाणित भएको हरियो चिया पत्ति बिक्री गर्दै आएको छ । बर्सेनि २० हजार किलोग्राम हरियो चिया पत्ति बिक्री हुँदै आएको अध्यक्ष नेम्वाङले बताउनुभयो । यहाँको हरियो चियापत्ती फिदिमस्थित कञ्चनजंघा टी स्टेटले खरिद गर्दै आएको छ ।

चियाको काँटछाँटका लागि आवश्यक यन्त्र तथा अन्य उपकरणको अभाव हुनु, ढुवानीको समस्याले दैनिक बिक्री गर्न नपाउनु, प्रांगारिक चियाको उचित बजार मूल्य नहुनु, उचित पारिश्रमिक उपलब्ध गराउन नसक्दा कामदारको अभाव हुनुलगायतले चिया सहकारीलाई व्यावसायिक उत्पादन गर्न समस्या पर्ने गरेको उक्त सहकारीको लेखा समिति संयोजक नरप्रसाद नेम्वाङको भनाइ थियो । कृषक पाठशालाको निरन्तरतासहित अन्य आर्थिक एवं प्राविधिक सहयोग हुनसके ग्रामीण कृषक चिया खेतीतर्फ आकर्षित हुनसक्ने सहकारीका अध्यक्ष नेम्वाङको भनाइ छ ।

प्रतिक्रिया