राँगोसँग जुध्दा मर्यो गौर

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–४ मा आज बिहान राँगोसँग जुध्दा गौर (गौरीगाईको भाले) मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मेचीनगर–४ आलडाँगीमा स्थानीयवासी माइला भुजेलले खेतबाट पराल लिएर आउँदै गरेको राँगा गाढामा रहेको राँगोसँग जुध्दा गौर मरेको हो ।

डिजिभन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले सो गौर झापाको जङ्गलमा नभएको र भारततिरबाट नेपाल आएको बताए । उनले राँगोसँग जुधेको गौरको सिंह गाडामा अड्किएको र दुईवटा राँगाको चेपुवामा परेर मरेको हुन सक्ने बताए ।

झण्डै ५ वर्ष उमेरको जस्तो देखिने गौर मरेको स्थानमा डिभिजन वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र प्रहरीको टोलीले पुगेर मुचुल्का बनाउने काम भइरहेको छ । मुचुल्का तयारीपश्चात गौरलाई खाल्डो खनेर पुरिने प्रमुख घिमिरेले बताए ।

प्रतिक्रिया