बुटवलमा साहित्य महोत्सव

रुपन्देही । पठन संस्कृतिको विकास गर्ने लक्ष्यका साथ बुटवलमा तीन दिने साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी सुरु भएको छ । प्रगतिशील लेखक संघ नेपालका अनुसार महोत्सव २२ गतेसम्म हुँदैछ ।

प्रदर्शनीमा पाठ्यक्रमका पुस्तक भने नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले बताए । उनले भने, ‘पठन संस्कृति हराउँदै कमजोर हुँदै गएकाले महोत्सवको आयोजना गरिएको हो ।

नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउने लक्ष्य राखेर पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताए । उनका अनुसार प्रदर्शनीमा रुपन्देही तथा त्यस आसपासका लेखक तथा साहित्यकारको जमघट हुनेछ । सचिव पोखरेलले भने, ‘यस क्षेत्रको साहित्य, कला, संस्कृति र संगीतको वर्तमान र भविष्यबारे छलफलसमेत हुनेछ ।’ महोत्सव तथा पुस्तक प्रदर्शनीमा दश हजार दर्शकले अवज्ञलोकन गर्ने र करिब ५ लाखको पुस्तकहरू बिक्री हुने आयोजकले अपेक्षा गरेका छन् ।

प्रदर्शनीको पहिलो दिन साहित्य, कला, संस्कृतिबारे प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले धारणा राख्ने छन् । कला, साहित्य तथा संस्कृतिको विकासका लागि यसको विकासमा राज्यले योगदान दिने धारणा राखे । त्यस्तै, साहित्यको अन्तरसम्बन्धबारे घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य विषयमा डाक्टर राजेन्द्र खनाल र पठन संस्कृतिको विषयमा जंगबहादुर शाहको प्रस्तुति रहेको छ ।

दोस्रो दिन सहरको सभ्यता, समकालीन साहित्यमा प्रगतिशीलता, श्रष्टा, साधना सिर्जनात्मक उत्तरदायित्व र बुटवलको ऐतिहासिकताबारे लेखक साहित्यकारको प्रस्तुति रहने छ । तेस्रो दिन रुपन्देहीको कला साहित्य यात्रा, बालसाहित्य र अभिभावक, लोकगीतमा नारी चेतना, बुटवलको कला साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल लगायतका विषयमा पनि साहित्यक बहस तथा अन्तक्र्रिया हुनेछ ।

प्रतिक्रिया