खोजखबर

दैनिक एजारौँले घुम्छन्, मकवानपुरगढी

रिपेश दाहाल २०७६ मंसिर २२ गते ७:०८ मा प्रकाशित

केही वर्ष अघिसम्म एक दुईजना आन्तरिक पर्यटक मात्र आउने गरेको मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक एक हजारभन्दा बढी पर्यटकहरू घुम्न आउन थालेका छन् । गत वर्ष विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी यहाँ आएकी थिइन् । त्यसयता यस ठाउँमा आउनेको संख्या भनै बढेको छ । देशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यस क्षेत्रमा पर्यटकको आगमन बढेको ठानिएको छ ।

देशकै सबैभन्दा ठूलो गढीको रूपमा रहेको मकवानपुरगढी जाने पक्की र फराकिलो सडक छन् जुन पर्यटकलाई आकर्षण गर्ने कारण बनेको छ । सेन राजाहरूले २ सय ९ वर्ष शासन सञ्चालन गर्दा मकवानपुर राज्यको दरबारको रूपमा रहेको यो गढी दरबार क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा चिनिन थालेको छ ।

चिसो मौसम सुरु भएसँगै ऐतिहासिक मकवानपुरगढी दरबार घुम्ने र अध्ययन गर्नेहरूको संख्या ह्वात्तै बढेको हो । सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तुपलगायतका धार्मिक स्थलहरू, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरणका कारण आन्तरिक तथा बाह्य पर्यटकहरू समेतको रोजाइमा मकवानपुर गढी पर्न थालेको छ ।

एघारौँ शताब्दीमा नेपालका पहिलो सेनवंशी राजा तुला सेनले निर्माण गरेको तथा विसं १६१० देखि पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले स्थापना गरेर २ सय ९ वर्षसम्म राजधानी बनाएको गढी दरबार क्षेत्रमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्न थालेको छ । गढीमा मकवानपुर, ललितपुर, काठमाडौं, सिन्धुली, चितवन तथा प्रदेश २ का विभिन्न जिल्लाका आगन्तुक मात्र होयन, विदेशी पर्यटक समेत आउन थालेका छन् ।

विगतमा इतिहासमा रूचि भएका केही व्यक्तिको सामान्य खालको आवतजावत मात्र रहने मकवानपुरगढी दरबार क्षेत्रमा आजभोलि आन्तरिक पर्यटकको भीड थामी नसक्नु भएको बताउँछन्, मकवानपुरगढी–२ की सदस्य तथा स्थानीय खाजाघर सञ्चालिका सावित्री विश्वकर्मा । उनका अनुसार अचेल गढी दरबार हेर्न र वनभोज गर्न आउनेको संख्या दैनिक एक हजारभन्दा माथि रहेको छ ।

पक्की र स्तरीय सडक मार्ग तथा प्रचारप्रसारका कारण मकवानपुरगढी भ्रमण गर्नेहरूको संख्या बढेको हुनसक्ने मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईं बताउँछन् । उनका अनुसार हेटाँंैडा बजारबाट १७ किलोमिटर उत्तर पूर्वतर्फ कान्तिराजपथ हुँदै लागेपछि गढी क्षेत्र पुगिन्छ । काठमाडौंबाट सिधा आउन चाहनेहरूले भने ७० किलोमिटरको रमाइलो यात्रा तय गर्नुपर्छ ।

चापागाउँबाट ललितपुरको माल्टा हुँदै मकवानपुरको ठिंगन कटेपछि मकवानपुरगढी गाउँपालिका प्रवेश गर्न सकिन्छ । विगतमा ठूलो गढीमा मात्रै पर्यटकहरू पुग्ने गरेको भए पनि अचेल मनोरम सानोगढी तथा भारतको रक्सौलसम्म देख्न सकिने उचाइमा रहेको र गुराँस फुल्ने मौसममा गुराँसले ढपक्कै हुने ढुंगेगढीसमेत पर्यटकले भरिन थालेका छन् ।

प्रसिद्ध गढीमाई मन्दिरको मूल मन्दिरसमेत रहेकाले ढुंगेगढी क्षेत्रमा धार्मिक पर्यटकको समेत भीड लाग्न थालेको स्थानीयवासी सुवास पाख्रिन बताउँछन् । विगतमा भग्नावशेषमा परिणत भएको मन्दिर अहिले पुनर्निर्माणपछि आकर्षक बनेको छ । प्रदेश सरकारको करिब ४० लाख रुपैयाँको लगानी र गाउँपालिकाको थप लगानीमा मन्दिरको पुनर्निर्माण गरिएको गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

मकवानपुर गढी दरबार प्रदेशको महत्वपूर्ण निधि भएकाले यसको संरक्षण र प्रवद्र्धनमा प्रदेश सरकारको साथ र सहयोग रहने बताउछन्, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल । उनका अनुसार प्रदेशका सबै गढीहरूको संरक्षण र प्रचारप्रसार गर्नु जरुरी छ ।

मुसलमानी आक्रमणबाट बच्न भारतबाट भागेर आएका सेन वंशीय राजखलक तुला सेनले विसं एक हजारमा निर्माण गरेको भनिए पनि यथेष्ट प्रमाण भेटिँदैन । पुरातत्व विभागका तत्कालीन प्रमुख अनुसन्धान अधिकारी जनकलाल शर्मालाई उद्धृत गर्दै साफल्य अमात्यले २०२७ सालमा तयार पारेको प्रतिवेदनमा एघारौँ शताब्दीमा मकवानपुर शक्तिशाली सेन राज्य बनिसकेको उल्लेख छ ।

कतिपय इतिहासकारहरूका अनुसार पनि नेपालका सेन वंशको उद्गम स्थल मकवानपुर नै हो । पाल्पाका राजा मुकुन्द सेनले आफूलाई मकवानी भनेको कतिपय लेखोट तथा शिलालेखहरूमा पाइएकालाई आधार मान्दा सेनहरू पाल्पाबाट मकवानपुर नभएर मकवानपुरबाट पाल्पा गएको मान्न सकिन्छ ।

सेनहरूको वंशावली अनुसार विसं १५०० तिर खाम सेन नाम गरेका राजाले पाल्पामा राज्य खडा गरेर सेन वंशको सुरुवात गरेका हुन् । मुकुन्द सेन तिनै खाम सेनका पनाति हुन् । खाम सेनका छोरा चन्द्र सेन, चन्द्र सेनका छोरा रूद्र सेन र रूद्र सेनका छोरा मुकुन्द सेन भएको उक्त वंशावलीमा उल्लेख छ ।

मकवानपुरको अध्ययन गर्न २०२७ सालमा पुरातत्व विभागका अभिलेख विषेशज्ञ अमात्यको नेतृत्वमा बनेको एक सरकारी टोलीले यहाँको वस्तुस्थिति, शिलालेख, ताम्रपत्र र अन्य पुरातात्विक वस्तुको अध्ययन गरेर सरकारलाई बुझाएको प्रतिवेदनमा तुला सेनले मकवानपुरगढी निर्माण गरेर राज्य सम्हालेको उल्लेख छ ।

प्रतिवेदनले एक प्राचीन वंशावलीलाई उद्धृत गर्दै तुला सेनपछि यस गढीमा दलभञ्जन सेन, गजपति सेन, चन्द्र सेन, रूद्र सेन राजा भएको उल्लेख गरेको छ । उल्लिखित नामहरू पाल्पाली वंशलतासँग मेल त खान्छ तर केही नाममा फरक र तिथिमितिमा एकरूपता विभिन्नता पाइएको छ । यसैमा इतिहासकारहरूको मत बाझिँदा आधिकारिक धारणा निर्माण हुन सकेको छैन ।

अधिकांश इतिहासकारहरूको मतैक्यता के मा छ भने मुकुन्द सेनले राजकाज त्यागी सन्न्यास धारण गर्ने क्रममा विशाल सेन राज्यलाई आफ्ना चार भाइ छोराहरू र दुई भाइ नातिहरूलाई बाँडिदिएपछि कान्छा छोरा लोहाङ सेनको भागमा मकवानपुर पर्न गयो । विसं १६१० मा लोहाङ सेनले आफ्ना पुर्खा तुला सेनले निर्माण गरेको किल्ला रहेको मकवानपुर गढीलाई नै आफ्नो राजधानी बनाएर स्वतन्त्र मकवानपुरका राजा भए ।

लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन गरी सात पुस्ताले २ सय ९ वर्षसम्म शासन सञ्चालन गरेको पाइन्छ । विसं १८१९ भदौ ९ गते गोर्खाका राजा पृथ्वीनारायण शाहको फौजसँग पराजित भएपछि मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन भागेर सिन्धुली गढी हुँदै बंगाल पुगेर त्यहाँका बादशाह मीर कासिमसँग गुहार मागेको र बादशाहले गोर्खालीविद्ध लड्न युरोपेली मूलका गुरगिन खाँको नेतृत्वमा अत्याधुनिक हातहतियारसहित तीन हजारभन्दा बढी सेना पठाएको इतिहासकारहरू बताउँछन् ।

सो फौज माघे संक्रान्तिकै दिन मकवानपुर फाँटमा प्रवेश गरी लुटपाट मच्चाएको र नौ दिनसम्म कब्जा जमाएर बसेको बताइन्छ । गोर्खाली सेनाले भने भित्रभित्रै युद्धको तयारी गरेर माघ ९ गते राति उनीहरू बसेको शिविरलाई चारतिरबाट घेरा हाली आक्रमण गरेर भयंकर युद्ध गरेको इतिहासका जानकार तथा मकवानपुर गढीका खोजकर्ता केदार न्यौपाने बताउँछन् । उनका अनुसार भोलिपल्ट अर्थात् माघ १० गतेसम्ममा एक हजार सात सय भन्दा बढी बंगाली सैनिकहरू मारिएका थिए ।

सेनापति गुरगिन खाँसहित बचेका सैनिकहरू भागेका थिए । बंगाली सेनाको प्रतिकार गर्न भन्दै एक हजार एक सय सेना लिएर आउँदै गरेका पृथ्वी नारायण शाह आउनुअघि नै आठ सय जनाको संख्यामा रहेका गोर्खाली सेनाले आफूभन्दा झण्डै चार गुणा ठूलो फौजलाई पराजित गरी ठूलो परिमाणमा हातहतियार जफत गरेको इतिहासमा उल्लेख छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय