वीरगंजमै ब्रेन ट्युमरको शल्यक्रिया

वीरगंज । जीराभवानी गाउँपालिका–३ कि २२ वर्षीया इन्दुकुमारी चौधरीको वीरगंजमा ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । वीरगंजमै पहिलोपटक वीरगंज हेल्थ केयर अस्पतालमा उनको सफल शल्यक्रिया भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उपचार गराउने क्षमता नै नभएको इन्दुको परिवारले ८० हजार रकममै उपचार गराउन पाउँदा खुशी भएका छन् ।

उपत्यकाबाहिर प्रदेश–२ मा पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया भएको हो । आर्थिक अवस्थाले कमजोर इन्दुको परिवारले बाहिर लगेर उपचार गराउन सक्ने अवस्था थिएन । उनका बुबा रामा महतो थारुले भने, ‘आपूm खेती किसानी मात्रै गर्छु । बाहिर उपचार गराउन सक्ने अवस्था मसँग थिएन, यदि गरेपनि ऋण लिनुपर्ने थियो तर वीरगंजमा नै कम रकममा शल्यक्रिया भएपछि कसैसँग ऋण माग्नुपर्ने अवस्था आएन, उपचार सफल भयो खुसी छु ।’

शल्यक्रियामा संलग्न न्युरो सर्जन डा. फिरोज अफजलले शुरूमा छारेरोग भएको भन्दै घरपरिवारले खासै ध्यान नदिएको तर उनी बेहोस भएर अस्पताल ल्याएपछि सिटी स्क्यान गर्दा ब्रेन ट्युमर भएको पत्ता लागेको बताए । शल्यक्रियाको हप्ता दिन हुँदा हाल उनी राम्रोसँग बोल्न थालेकी छन् । अबको ३ देखि ४ महिनामा स्वास्थ्यवस्था सामान्य हुँदै जाने डा. अफजलले बताए । अस्पतालले न्युरोको मेजर शल्यक्रियाबापत निर्धारण गरेको नियम अनुसार ट्युमर शल्यक्रियाको ८० हजार रुपैयाँ लिएको अस्पतालका प्रबन्ध निर्देशक डा. अबुलहैस अन्सारीले बताए ।

प्रतिक्रिया