स्वर्ण विजेता चेलीका कथा

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद(साग) काठमाडौंमा चलिरहेको छ । नेपालले अहिलेसम्म ऐतिहासिक ४१ स्वर्ण पदक जितिसकेको छ । यो आफैँमा नेपाली खेलाडीहरूले राखेको कीर्तिमान हो ।

नेपालले शुक्रबारसम्म जितेका ४१ स्वर्णमध्ये २२ पदक महिलाहरूले जितेका हुन् । स्वर्णमध्ये करिब ५४ प्रतिशत चेलीहरूले जितेका छन् । जसका कारण खेलमा उनीहरू पनि कम छैनन् भन्ने सन्देश दिइरहेको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका वेला नेपाली चेलीहरूले पाएको यो सफलतालाई ऐतिहासिक मान्न सकिन्छ । खेलमा महिलाहरूको सहभागितालाई लिएर परिवार र समाजमा कुरा काट्ने समय पनि थियो । कतिपय महिलाहरू अहिले पनि आफ्ना सन्तानलाई काखमा च्यापेर खेलकुदमा सहभागी भइरहेका देखिन्छन् ।

स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान् विष्टलाई अंगालो हालेर रोइन् । दिपक पनि भावुक बने । उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए । लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन् । ठूला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले

यस्तै खेलाडी हुन्, तेक्वान्दोकी आयशा शाक्य । उनका श्रीमान् दीपक विष्ट हुन्, उनी कीर्तिमानी तेक्वान्दोका पूर्व खेलाडी समेत हुन् । उनीहरूका दुई सन्तान (छ र दुई वर्षीय छोरा) छन् । दुवै जना सागको तयारीमा जुटिरहँदा उनीहरूका सन्तान घरमै हुन्थे । सोमबार भएको प्रतिस्पर्धामा शाक्यले भारतका प्राजाकितालाई पराजित गर्दै स्वर्ण सुनिश्चित गरिन् ।

स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान् विष्टलाई अंगालो हालेर रोइन् । दिपक पनि भावुक बने । उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए । लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन् । ठूला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले । ‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ । मैले गरेँ, अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्नेरैछ,’ आयशाले भनिन् ।

सागमा स्वर्ण जितेका चेलीहरूका कथा धेरै छन् । तत्कालीन माओवादीको युद्धकालमा लडाकु बनेकी अनुपमा मगर, कराँतेकी सुनिता महर्जन वा तेक्वान्दोकी काजल श्रेष्ठ सबै आ–आफ्ना कथा व्यथाभन्दा माथि उक्लेर राष्ट्रका लागि खेले । सुनिताका बुबा मालीको काम गर्दथे । उनले पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि अन्य कोइराला परिवारको बगैँचा हेरचाह गर्दै आए । ‘मैले ६ वर्ष गिरिजाको निवासमा बगैँचा रेखदेखको काम गरेँ । पछि शशांक, सुजताको घरमा पनि काम गरेँ,’ छोरी सुनिताको खेल हेर्न आएका नाति महर्जनले भने ।

काम गर्ने दौरान नातिको कहिलेकाहीँ गिरिजाप्रसादसँग भेट हुन्थ्यो । भेटमा गिरिजाप्रसादले उनलाई छोराछोरीको बारेमा सोध्थे । ‘उहाँले मलाई छोराछोरीलाई मिठाई किन्दिनु भनेर पैसा दिनुहुन्थ्यो । म त्यो पैसा छोरीलाई दिएर डाइट खान भन्थेँ,’ सुनितालाई कराँते सिकाउँदाको समय स्मरण गर्दै सुनाए । आम्दानीको स्रोत सानो भएपनि सुनितालाई बुबाले खानेकुरामा कहिल्यै कमी हुन दिएनन् । माली कामबाट जति कमाउँथे त्यसबाट अलिकति लुकाएर डाइटका लागि छोरीलाई दिन्थे ।

उनले आफ्नो मिहिनेतको फल मंगलबार कराँतेमा स्वर्ण जितेर पाइन् । कराँते फाइटको ६८ केजी तौल समूहमा पाकिस्तानकी खेलाडीमाथि ८–२ अंकको सहज जित निकाल्दै उनले स्वर्ण जितिन् । स्वर्ण जितेपछि उनी म्याटमा भक्कानिइन् । नेपालको झण्डा बोकेर मैदानमा फन्को मार्दै गर्दा उनका आँखाबाट खुसीका आँशु बगिरहेका थिए ।

त्यसपछि उनी आफ्ना बुबालाई अगाँलो हालेर रोइन् । नजिकै रहेका उनका दुई दाइहरू पनि भावुक भए । केहीबेर उनले आफ्ना परिवारसँग खुसी साटिन् । मेडल वितरण समारोहपछि उनलाई बुबासँग फोटो खिच्न आग्रह गर्दा उनले आफूले लगाइराखेको स्वर्ण फुकालेर बुबाको गलामा पहि¥याइदिइन् ।

२२ वर्षीया काजलको कथा पनि उस्तै छ । मंगलबार उनी फाइनलमा पाकिस्तानकी सेयद जादी सिद्रासँग भिडिन् । २–२ मिनेटको चल्ने तीन सेटमा निक्कै उत्कृष्ट प्रर्दशन गर्दै उनले समग्र खेल ५०–१४ अंकले जितेर स्वर्ण पदक हात पारिन् । आपूmभन्दा अग्ली सिद्रालाई हराएपछि उनी म्याटमै भक्कानिएकी थिइन् । घरेलु दर्शक सामू नेपालको झण्डा लिएर म्याट वरिपरि घुम्दा उनको आँखाबाट आँशु झरिरहेको स्पष्ट देखिन्थ्यो । खेलपछि उनले आफ्नो बाल्यकालदेखिको सपना पूरा भएको बताइन् ।

‘बच्चादेखि नै मेरो दिमागमा गोल्ड मात्र आउँथ्यो । त्यो कल्पना साकार हुँदा एकदमै रमाइलो लागेको छ,’ उनले भनिन् । सपनालाई साकार बनाउन सहयोग गरेकोमा उनले आफ्ना गुरु र परिवारलाई स्वर्ण पदक समर्पण गर्न चाहेको बताइन् । कक्षा ८ देखि तेक्वान्दो सिक्न थालेकी काजलले खेल्न थालेको ८ वर्ष पूरा भएको छ । उनी अहिले त्रिभुवन आर्मी क्लबबाट खेल्छिन् । सिन्धुपाल्चोककी स्थायी बासिन्दा काजलका बुबा कामका लागि खाडी मुलुक साउदी अरेबियामा ड्राइभरको काम गर्छन् ।

‘मेरो बुबाले एकदमै प्रोत्साहन गर्नुहुन्छ,’ परिवारको कुरा गर्दै गर्दा खेलस्थलमै काजल निकै भावुक भइन् । ‘हामी धनी होइन, हामी गरिब छौँ, हामी गरिब नै हौँ, मेरो बुबाले बाहिर खाडीमा बसेर हाम्रो परिवारका लागि धेरै संघर्ष गर्नुहुन्छ । म अहिले बुबालाई सम्झिरहेकीछु,’ यति भनेपछि काजल भक्कानिएर बोल्न सकिनन् । आँखाबाट आँसु झारिरहिन् । उनका मुखबाट शब्द निस्किएनन् ।

सागमा उनीहरूसँगै स्वर्ण जित्ने चेलीहरूका कथा धेरै छन् । तर पनि ती कथाहरू बिर्सिएर स्वर्णका लागि गरेका कडा मेहनतले काम गरेपछि अहिले भने निक्कै हर्षित छन् । नेपालका लागि स्वर्ण जित्ने महिलामा निर्मला तामाङ, संगीता मगर र सरु कार्की( महिला टिम काता), कुसुम खड्का, अनु अधिकारी, सुनिता महर्जन, अनुपमा मगर, सिना मादेन लिम्बु, पार्वती गुरुङ, आयशा शाक्य, पुम्से महिला टिम (२३–२९ मा निता गुरुङ, प्रशंसा क्षेत्री र सुशिला राई), (१७–२३ मा निशा दर्नाल, स्वस्तिका तामाङ र सञ्जिला तिमल्सिना), काजल श्रेष्ठ रहेका छन् । यसैगरी गौरिका सिंह (दुईवटा), सञ्जु चौधरी, सोनी गुरुङ, निमा घर्तिमगर, जुनी राई, लक्ष्मी मगर, सुस्मिता गुरुङ, सन्तोषी श्रेष्ठ, निश्मा श्रेष्ठ, संगीता बस्याल रहेका छन् ।

प्रतिक्रिया