स्वर्णमा कीर्तिमान

काठमाडौं । नेपालले साग इतिहासमा एकैपटक सबैभन्दा धेरै स्वर्ण पदक जित्ने कीर्तिमान बनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औँ संस्करणको पाँचौँ दिनसम्म आईपुग्दा नेपालले ३६ वटा स्वर्ण पदक जितेको छ ।

नेपालमै भएको आठौँ सस्करणको सागमा ३१ स्वर्ण जित्दै नेपालले दोस्रो स्थानमा पुग्न सफल भएको थियो । सो इतिहासलाई तोड्दै नेपालले घरेलु मैदानमै ३६ स्वर्ण जितेको हो । अन्य खेलपनि जारी रहेकाले नेपालको स्वर्ण पदक अझै थपिने सम्भावना कायमै छ । बिहीबार बुद्धिबहादुर तामाङले साइक्लिङमा स्वर्ण पदक जितसँगै नेपालले नयाँ इतिहास निर्माण गरेको थियो । त्यसअघि साइक्लिङमा लक्ष्मी मगरले स्वर्ण जितेपछि कीर्तिमान बराबरी गरेको थियो ।

जारी १३औँ सागमा विगतको तुलनामा उत्कृष्ट नतिजा हासिल गरिरहेको नेपालले प्रतियोगिताका पाँचौँ दिनमै हासिल गरेको यो सफलताले नयाँ कीर्तिमान बनाएको हो । प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण जितेको थियो । नेपालले दोस्रो दिन ८ स्वर्ण थपेर २३ पु¥याएको थियो । तेस्रो दिन ६ स्वर्ण जितेर २९ पु¥याएको नेपालले बिहीबार थप दुई पदक जित्दै कीर्तिमान बराबरी गरेको थियो । यद्यपी नेपालले बिहीबार कुल ७ स्वर्ण पदक जितेको छ ।

घरेलु मैदानमा २० वर्षअघि आयोजित ८ औँ सागमा नेपालले ३१ स्वर्ण जित्दा कराँते र तेक्वान्दोमा १४–१४, बक्सिङमा दुई र पौडीमा एउटा स्वर्ण पदक जितेको थियो । नेपालले पहिलो साग (तत्कालीन साफ गेम्स)मा ४, दोस्रो सागमा एक, तेस्रो सागमा दुई, चौथो सागमा एक, पाँचौँ सागमा दुई र छैटौँ सागमा एक स्वर्ण जितेको थियो । यसैगरी सातौँ सागमा चार, नवौँ सागमा ७, दशौँ सागमा ७, ११ औँ सागमा ८ र १२ औँ सागमा ३ स्वर्ण पदक जितेको थियो ।

नेपालले बिहीबार मात्रै ६ वटा स्वर्ण पदक जितेको छ । साइक्लिङ, उसु, तेक्वान्दो, भारत्तोलन र स्विमिङबाट नेपालले ६ स्वर्ण जितेको हो । भारत्तोलनकी सञ्जु चौधरीले स्वर्ण पदक दिलाइन् । बाँकेकी सञ्जुले महिला ५९ केजी तौल समूहबाट स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल एक सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन् । त्यस्तै उसुकी निमा घर्तीमगर र जुनी राईले स्वर्ण दिलाएका छन् । योसँगै उसुबाट नेपालले चार स्वर्ण जितेको छ ।

बिहीबार लगनखेलस्थित त्रिभुवन आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको उसुको ५६ केजी महिलातर्फको भिडन्तमा जुनीले स्वर्ण पदक जित्न सफल भएकी हुन् । निमाले बिहीबार लगनखेलस्थित आर्मी कभर्ड हलमा बंगलादेशकी मोर्जिना अख्तरलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

निमाले १८ दशमलव १९ स्कोर बनाउँदा अख्तरले १६ दशमलव ३ अंक जोड्न सकिन् । यो स्पर्धामा श्रीलंकाकी सञ्जु कुमारीले १४ दशमलव ७९ अंक जोड्दै कांस्य पदक जितिन् । भारतमा सन् २०१६ मा भएको १२ औँ सागमा पनि उनले स्वर्ण पदक जितेकी थिइन् । उसुको सान्डा सान्सोमा जुनीले स्वर्ण पदक जितेकी हुन् ।

राम्रो सफलता पाइरहेको साइक्लिङले बिहीबार पनि स्वर्ण पदक जितेको छ । बिहीबार क्रस कन्ट्रीको ४ किलोमिटरमा लक्ष्मीले मगरले स्वर्ण जितेकी हुन् । यसैगरी पौडीकी गौरिका सिंह र तेक्वान्दोका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् । गौरिका दुई सय मिटर फ्री स्टाइलमा स्वर्ण पदक जित्न सफल भएकी हुन् । सातदोबाटोस्थित स्विमिङ कम्प्लेक्समा भएको प्रतिस्पर्धामा ओलम्पियन सिंहले स्वर्ण पदक जितेकी हुन् ।

स्वर्ण जित्ने क्रममा उनले २ मिनेट ५ दशमलव ०६ सेकेन्डमा दुरी पूरा गरिन् । सागको स्विमिङमा व्यक्तिगत स्पर्धामा नेपालले पहिलो पटक स्वर्ण पदक जितेको हो । गौरिकाले जितेको यो स्वर्ण पौडीको व्यक्तिगततर्फ नेपालको पहिलो स्वर्ण पदक हो । यसअघि नेपालले टिम इभेन्टमा मात्रै स्वर्ण जितेको रेकर्ड छ ।

आठौँ सागमा नयना शाक्य, रुबिना प्रधान, रुना प्रधान र स्तुति सिंहले ४ गुणा १०० रिलेमा स्वर्ण जितेका थिए । रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी गौरिकाले यसअघि नै पौडीबाट करिब एक दर्जन राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाएकी थिइन् । उनी १३ वर्षको उमेरमै रियो ओलम्पिकमा भाग लिन पुगेकी थिइन् । यस्तैगरी तेक्वान्दोले अर्को स्वर्ण थपेको छ । तेक्वान्दोको ८७ केजी मुनि भुपेन श्रेष्ठले पहिलो हुँदै स्वर्ण जिते ।

सातदोबाटोस्थित तेक्वान्दो कक्षमा भएको फाइनल भिडन्तमा भुपेनले भारतीय खेलाडी अक्ष हुडालाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । ८७ केजीमुनिको तौल समूह अन्तर्गत भएको फाइनल भिडन्तमा भुपेनले २७ का विरुद्ध २९ अंकले बाजी मारे । बिहीबार ६ वटा स्वर्णका लागि भएका भिडन्तमा नेपालले एउटामै चित्त बुझायो । मनिता शाहीसहितका अन्य खेलाडीहरू भारत र पाकिस्तानी खेलाडीसँग फाइनलमा पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भए ।

तालिकामा भारत पहिलो
पाँचौँ दिनसम्मको पदक तालिका अनुसार भारत ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित ११८ पदक जितेर शीर्षस्थानमा छ । आयोजक नेपाल ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित ९६ पदक जितेर दोस्रो स्थानमा छ ।

यस्तै श्रीलंका १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित कुल ९९ पदक जितेर तेस्रो स्थानमा उक्लिएको छ । पाकिस्तानको १२ स्वर्ण, २१ रजत र २२ कास्य गरी ५५, बंगलादेशको ४ स्वर्ण, १० रजत र ४० कास्यसहित ५४ पदक प्राप्त गर्दै क्रमशः चौथो र पाँचौँ भएका छन् । छैटौँ स्थानमा रहेको माल्दिभ्सले एउटा स्वर्ण र २ कास्य गरी ३ पदक हासिल गर्दा पुच्छारमा रहेको भुटानले अहिलेसम्म स्वर्ण र रजत जित्न सकेको छैन । उसले ६ वटा कास्य पदक मात्रै जितेको छ ।

प्रतिक्रिया