आशाका किरणहरू

मुलुकले केही पनि प्रगति गर्न सकेन, दलहरूले देश डुबाए, नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबे, धर्म संस्कृति समाप्त पारे भन्ने आरोपहरू पछिल्ला समयमा बढेर गएका छन् । नकारात्मक समाचार बढी बिक्री हुने भएका कारण मिडियाहरूले पनि सरकार तथा दल एवं नेताका गलत पक्षलाई धेरै पस्कने गरेका छन् । खबरदारी गर्ने दायित्वसमेत भएका कारण नकारात्मक समाचार बढी दिए भन्दैमा मिडियालाई दोष दिन मिल्दैन । तर, नकारात्मक समाचारले सकारात्मक कुराहरू छोपिनुहुन्न । जनतामा निराशा जगाउँछ । शासन व्यवस्थाको विरोधमा रहेकाहरूले केही पनि भएन, मुलुक बर्बादै भयो भन्ने प्रचार गर्नु स्वाभाविक हो । तर, मिडियाहरू यस्ता प्रचारका एकलव्य साधन बन्नुहुन्न । सकारात्मक समाचार तथा घटनाहरू पनि प्रचारमा ल्याउनुपर्छ । शासन व्यवस्था विरोधीहरूले त अहिलेभन्दा चर्को आलोचना २०१५ सालको बिपी कोइराला नेतृत्वको प्रथम जननिर्वाचित सरकारको गरेका थिए । राष्ट्रियता र धर्म संस्कृति नष्ट गरेको भन्दै त्यतिवेला योगी नरहरि नाथको नेतृत्वमा ठूलै आन्दोलन गरिएको थियो । अहिले मूल्यांकन गर्दा थाहा हुन्छ त्यतिवेलाको सरकारले मुलुकको राष्ट्रियता संवद्र्धन तथा आर्थिक विकासको जग बसाउन ठूलो योगदान गरेको रहेछ । तर, राष्ट्रियता र धर्म संस्कृतिविरुद्ध सरकार क्रियाशील रहेको प्रचारका कारण राजा महेन्द्रलाई प्रजातन्त्र अपहरण गर्न सजिलो भयो । जननिर्वाचत सरकार साँच्चै नै गलत दिशामा गएको रहेछ कि, भन्ने भ्रममा जनता परे । त्यस्तो भ्रम अहिले पनि छर्ने कोसिस भइरहेको छ । गणतन्त्र स्थापना भएयता १२ वर्षको अवधिमा सकारात्मक काम हुँदै भएनन्, खाली बिगारियो मात्रै भन्ने प्रचार व्याप्त छ । यस्ता प्रचारले जनतामा निराशा छाउ“छ, प्रतिगामी शक्तिले फाइदा उठाउँछ ।

के १२ वर्षको यो अवधिमा केही नभएको हो त ? बिलकुल होइन । उदाहरणका लागि अबको पाँच वर्षभित्र नागढुंगा, नौबिसे सुरुङमार्ग सञ्चालन हुनेछ । टोखाबाट नुवाकोटको छहरे, बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्मको सुरुङमार्ग लगभग सकिने छ । काठमाडौंबाट तराई जोड्ने फास्टट्र्याक तथा अन्य धेरै बाटा खुल्नेछन् । चीनसँग जोडिएका धेरै नाकामा राम्रो सडक बन्नेछ । पूर्व–पश्चिम हुलाकी मार्ग सञ्चालनमा हुनेछ । पूर्व–पश्चिम राजमार्ग थप फराकिलो हुनेछ । सबै पालिकाका केन्द्र मोटरबाटोले जोडिनेछन् । भैरहवा तथा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइसकेका हुनेछन् । निजगढमा पनि अन्तर्रांष्ट्रिय विमानस्थल तयार हुनेछ । त्रिभुवन विमानस्थल अपग्रेड भएर आकर्षक हुनेछ । राजधानी काठमाडौं उपत्यकामा खानेपानीको छेलोखेलो भइसक्नेछ । चक्रपथ ८ लेनको भइसक्नेछ । मुख्य चोकमा अन्डर पास तथा फ्लाई ओभर बन्नेछन् । कर्णालीका स्याउ, सिमी, चामल, आलु, फापर प्रमुख सहरमा पुग्नेछन । सयौ“ हाइड्रोपावरबाट विद्युत् उत्पादन भइसक्नेछ । भान्साको ग्यास सिलिन्डर हट्नेछ । अधिकांश जनताले विद्युतीय उपकरण प्रयोग गर्नेछन् । भेरी डाइभर्सनलगायत अन्य ठूला सिँचाइको सुविधास“गै तराइमा खाद्यान्नको उत्पादन तेब्बर बढ्नेछ ।

आर्थिक लगानी मात्रै भइरहेको तर लगानीले प्रतिफल दिन थालिनसकेको अवधि हो यो । लगानी भएका आयोजनाहरूले जब प्रतिपल दिन थाल्छन् तब मात्र सरकारले सामाजिक सुरक्षाका लागि आवश्यक प्रबन्ध गर्न सक्छ । सय वर्षअघि नै विकासका पूर्वाधार सम्पन्न गरी प्रतिफल लिन थालिसकेका मुलकहरूसँग तुलना गर्दै यो भएन, ऊ भएन भनेर सरकारलाई राजनीतिक दललाई गाली गर्ने प्रवृत्ति प्रति होसियार हुनु जरुरी छ । तर, भ्रष्टाचारको जालो तोड्न भने ढिलाइ भइसकेको छ । भ्रष्टाचारको जालोले यसरी नै निरन्तरता पायो भने मुलुक जतिसुकै धनी भए पनि जनताले सुख शान्ति पाउँदैनन् । मुलुकमा दशकौँ अघि सुरु भएका कतिपय विकास आयोजनाहरू तेब्बर समय तथा तेब्बर लागत पुग्दा पनि सम्पन्न हुन नसक्नुको मुख्य कारण भ्रष्टाचारको जालो नै हो । यो जालो तोड्न सक्ने भनेको बलियो सरकारले हो । सौभाग्यबस मुलुकमा यतिवेला दुईतिहाइ बहुमतको बलियो सरकार छ । यतिवेला पनि जनतामा आशा जाग्न सकेन भने गणतन्त्र संस्थागत हुन सक्दैन ।

प्रतिक्रिया