कृष्ण प्रधानको ‘रङहरुको पहाड’

काठमाडौं । कवि तथा समालोचक कृष्ण प्रधानको नविनतम कृति ‘रङहरुको पहाड’ एक समारोहकाबीच काठमाडौंमा विमोचन गरिएको छ । प्रमुख अतिथि कसैलाई नतोकिएको उक्त सभामा कवि विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल,कवि विश्वविमोहन श्रेष्ठ, कथाकार किशोर पहाडी, समालोचक गोपीकृष्ण सर्मा, नियात्राकार रामप्रसाद पन्त, साहित्यकार सूब सेन, कलाकार विपिन घिमिरे, प्राज्ञ विवश पोखरेल, कथाकार भागीरथी श्रेष्ठ र साहित्यकार कृष्ण धरावासीले सामूहिक रुपमा उक्त कृतिको विमोचन गरेका थिए ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानबाट प्रकाशित सो कवितासंग्रह प्रतिष्ठानको ७८ औ कृति हो । सो कृतिको विमोचन दायित्व वाङ्मय प्रतिष्ठानद्वारा बूढानीलकण्ठ ८ स्थित आफ्नै नवनिर्मित पुस्तकालय कक्षमा गरिएको थियो । समारोहका सभापति एवं दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले विराटनगरको पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको कृति दायित्व प्रतिष्ठानबाट सार्वजनिक हुनु दुई भूगोलबीचको साहित्यिक सहकार्यको परिचायक भएको बताए ।

कवि ठाकुर शर्मा तथा गोकुल अधिकारीले कवि प्रधान कुशल सम्पादक समेत भएको र नेपाल रास्ट्र बैंकमा रहँदा मिर्मिरे साहित्यिक पत्रिकालाई उच्च स्तरको तुल्याउन सफल भएका र त्यसमा आफूले पनि सघाउन पाएको कुरा उल्लेख गरे । साहित्यकार कृष्ण धरावासीले विमोचित कृति माथि समीक्षा गर्दै कृष्ण प्रधान कुशल समीक्षक समेत भएकाले त्यसतर्फ पनि उनको कलम अगाडि बढ्नुपर्ने बताए ।

नेपाली कविता लेखनलाई विभिन्न कालखन्डमा विभाजन गरेर तीस, चालीस र पचासको दशकका कविहरुको प्रवृत्तिलाई विशेष ढङ्गबाट समीक्षा गर्न बाकी रहेको र त्यस्तो समीक्षा कृष्ण प्रधानहरुजस्ता समीक्षकहरुबाट अब पूरा हुने विश्वास ब्यक्त गरे । कविहरु विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी र कृतिकार कृष्ण प्रधान स्वयंले सो कृतिबाट एक एकवटा कविता वाचन गरे ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कवि प्रधान कविता रच्ने एक कुशल शिल्पीका रुपमा स्थापित प्रतिभा भएको बताए । समारोहमा कवि विष्णुविभु घिमिरे र भागीरथी श्रेष्ठले कवि प्रधानका कविता प्रतीकात्मक र समसामयिक रहेको बताए । उक्त कृतिभित्र कवि प्रधानका एक्काइसवटा कविता समावेश छन् । कवि प्रधानका साहित्यिक विधाका १४ वटा तथा आर्थिक एवम् बैकिङ क्षेत्रसँग सम्बन्धित चारवटा कृति प्रकाशित भैसकेका छन् ।

प्रतिक्रिया