कलाका बहुआयामिक व्यक्तित्व

नेपाली ललितकला क्षेत्रमा मदन चित्रकार परिचित नाम हो । परम्परागत तथा समसामयिक नेपाली कलामा विचार, दर्शन र त्यसका विविध आयामका बारेमा बहस छेड्दै आउनुभएका चित्रकार हाल सिर्जना कलेज अफ फाइन आर्टस्मा प्रिन्सिपलका रूपमा कार्यरत् हुनुहुन्छ । उहाँले कला लेखनमार्फत नेपाली ललितकला क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण योगदान दिँदै आउनुभएको छ ।

कला क्षेत्रमा निष्ठापूर्वक लाग्नुभएका मदनले एउटा छुट्टै र विशिष्ट इतिहास स्थापित गर्न सफलसमेत हुनुभएको छ । २०१५ सालयता उहाँ निरन्तर कलासाधनामा लागिरहनुभएको छ । जागिरे जीवनमा पनि समय निकाली कलाकै साधनामा लागेर उहाँले कलामा नवीन विषयवस्तुमा नेपाली बिम्ब प्रयोग गर्दै आफ्नो विशिष्ट पहिचान बनाउन सफल हुनुभएको छ ।

नेपाली कलामा दृश्यचित्रमा एकताका मदन चित्रकारको नाम चर्चित थियो । उहाँले सुरु गरेको दृश्यचित्रणको रङ संयोजन, विषय छनोट र त्यसको सौन्दर्य पक्ष निकै सशक्त रहेको पाइन्छ ।

पछिल्लो समय विषयप्रधान कलाकृति बनाउँदै आउनुभएका मदनले नेपाली संस्कृति, भूगोल, समाज तथा परिवशेलाई कलात्मक रूपमा क्यानभासमा उन्दै आएको पाइन्छ । कलाकार, समीक्षक, लेखक, एउटा कुशल कला गुरुको परिचयसमेत उहाँसँग छ । यसरी कला क्षेत्रमा बहुआयामिक प्रतिभाका रूपमा चिनिनुहुने मदनले नेपाली समाजको बेथिति, विसंगति एवं विकृतिको पर्दाफास बडो शालिन, सभ्य र शिष्टरूपमा आफ्ना कलाकृतिमार्फत व्यक्त गरेको देखिन्छ । २०२४ सालतिर काठमाडौंमा बम्बईबाट कलाको औपचारिक अध्ययन गरेर फर्केपछि उहाँले नेपाली समाज, राजनीति, संस्कृति तथा परिवेशका विविध पक्ष र विषयमाथि चित्र बनाएको पाइन्छ ।

२००४ सालमा काठमाडौंको असनको तलाछीं टोलमा जन्मिनुभएका मदन पिता तेजबहादुर र माता मनकेशरी चित्रकारका एकमात्र सुपुत्र हुनुहुन्छ । मूर्धन्य कलाकार तेजबहादुर औपचारिक कला शिक्षा ग्रहण गर्ने अग्रणि कलाकारका रूपमा परिचित हुनुहुन्छ । उहाँले पिता नेपालकै अग्रणी र मूर्धन्य कलाकार हुनुका नाताले सानैदेखि कलाप्रति रुचि जागेको सुनाउनुभयो ।

मदनले दरबार हाइस्कुलबाट विद्यालयस्तरीय अध्ययन एवं त्रिचन्द्रबाट आइएस्सी र आइएसम्मको अध्ययन गर्नुभएको छ । आइए अध्ययन गर्दागर्दै नेपाल सरकारलाई भारतीय सरकारबाट दुईवटा छात्रवृत्तिमा कलाविद्यार्थीको माग भएबमोजिम उहाँ ग्राफिक डिजाइनमा बम्बईको सर जे.जे. स्कुल अफ आर्टसमा जानुभयो । विसं. २०२४ सालमा एप्लाइड आर्टमा स्नातक गरेर काठमाडौं फर्किनुभयो । २०३१ सालमा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र संस्कृतिको अध्ययन पूरा गरेपछि कलाकार मदनले कलाका थुप्रै गतिविधिमा सहभागी हुनुभयो ।

उहाँले प्रचार विभाग सिंहदबारमा २०२६÷२७ सालमा जागिरे जीवन सुरु गर्नुभयो । एक वर्षपछि उहाँ जनक शिक्षामा वरिष्ठ कलाकारका रूपमा प्रवेश गर्नुभयो । २०३५ सालसम्म त्यही जागिरलाई निरन्तरता दिएको उहाँले बताउनुहुन्छ । यसबीचमा उहाँले कला सिर्जना, एवं एकल प्रदर्शनीसमेत गर्नु भ्याउनुभयो । २०३५ सालमा त्यहाँबाट सरुवा भई पर्यटन विभाग बागबजार आउनुभयो । विभागमा उहाँ प्राविधिक अधिकृत÷प्रशासनिक, प्रकाशन शाखाको कामसमेत समाल्नुभयो ।

त्यस्तै, अन्तर्राष्ट्रिय प्रचार–प्रसारको जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गर्नुभयो । उहाँले २०५५ सालमा जागिरे जीवनबाट अवकाश लिनुभयो । त्यसपछि उहाँ पूर्णरूपमा कला सिर्जना, पुस्तक तथा लेखरचनामा क्रियाशील हुनभयो । जुन कार्य आजअद्यापिसम्म जारी छ । उहाँ ललितकला क्याम्पस र काठमाडौं विश्वविद्यालय सेन्टर फर आर्ट एण्ड डिजाइनमा समेत अध्यापन कार्यमा संलग्न हुनुभयो ।

उहाँको प्रमुख रुचि अध्ययन हो । कलासम्बन्धी इतिहास÷समीक्षा तथा कला गतिविधि नछुट्याइकन् अध्ययन गर्नुहुन्छ । त्यस्तै राष्ट्रिय अन्तर्राष्ट्रिय राजनैतिक गतिविधिका बारेमा आफूलाई ‘अप टु डेट’ राख्नुहुन्छ । ‘ज्ञानका लागि संस्कृतिसम्बन्धी पुस्तक, पत्रपत्रिका अध्ययन गर्दछु,’ मदनले भन्नुहुन्छ, ‘अध्ययनविना कला अपूर्ण हुन्छ ।

त्यसैले मैले सकेसम्म कलाका बारेमा अध्ययन गर्दछु ।’ संगीत सुन्ने उहाँको अर्को रुचिको विषय हो । चित्र रचना गर्दा उहाँले संगीतको धुनमा रङलाई क्यानभासमा उन्दै आफ्नो मनोभावनालाई प्रस्तुत गर्ने बताउनुभयो । नेपाली साहित्यमा कथा उहाँको मनपर्ने विधा हो । उहाँलाई दौलतविक्रम विष्टका कथा खुबै मनपर्छन् ।

उहाँले लामो समयसम्म नेपाली भूगोल, संस्कृति र पुरातात्विक विषयमा केन्द्रित रही सयौँ दृश्यचित्र बनाउनुभयो । त्यसपछि उहाँले सिर्जनात्मक विचारका पक्षमा कला रचना गर्दै आउनुभएको छ ।

विभिन्न संघसंस्थाबाट सम्मान तथा पुरस्कार पाउनुभएका मदनका आधा दर्जनभन्दा बढी एकल प्रदर्शनी भइसकेका छन् । आफ्ना कलाका सोच, शैली, दर्शन र विचारलाई बाहिर ल्याउन कलाकार मदनले विभिन्न पटक एकल तथा सामूहिक कला प्रदर्शनीमा सहभागी हुनुभएको छ ।

उहाँको पहिलो एकल कला प्रदर्शनी २०३४ सालमा नेपाल भारत सांस्कृतिक केन्द्रमा भएको थियो । उहाँको जे.आर्ट ग्यालरीमा ०४१, ०४९, ०५६ सम्म एकल प्रदर्शनी भएको थियो । त्यसैगरी नेपाल पर्यटन बोर्डमा २०५५ सालमा नेपाल पर्यटन वर्षको सन्दर्भमा पारेर समेत उहाँको एकल प्रदर्शनी भएको थियो । २०५९ सालमा नेपाल कला परिषद्मा उहाँको छैठौँ एकल प्रदर्शनी भएको थियो । उहाँको सातौँ एकल प्रदर्शनीको आयोजना सिद्धार्थ आर्ट ग्यालरीले ०६५ सालमा गरेको थियो । उहाँले बायनाले बंगलादेशमा दुईपटक भाग लिनुभएको छ ।

कला क्षेत्रको विकासका निम्ति कलाकार मदनले थुप्रै कलासम्बन्धी संघसंस्थामा आवद्ध हुनुभएको छ । त्यसको अलावा उहाँ भारतमा अध्ययनरत् छँदा नेपाली स्टुडेन्ट एसोसिएसनमा सहसचिव १९६५, त्यसपछि सेक्रेटरी भई कार्य गर्नुभएको थियो ।

त्यसैगरी २०२५÷२६ तिर नेपाल ललितकला संस्था (नाफा) मा दुई वर्ष सदस्य बन्नुभएका कलाकार मदनले त्यसपछि नाफामा कहिल्यै संलग्न हुनुभएन । उहाँ नेपाल बौद्धिक परिषद्, ललितकला एकेडेमी स्थापनार्थ समिति आदिमा सक्रिय भई लाग्नुभयो । २०४१ सालमा नेपाल कलाकार समाजको सदस्य तथा २०४८ देखि २०५६ सम्म अध्यक्ष भई संस्थागत रूपमा कला क्षेत्रको विकासका लागि काम गर्नुभएको छ ।

कलामा सिर्जनशीलता बढाउन कलाकारहरू घुम्नुपर्दछ । नयाँ नयाँ ठाउँमा भएका प्रगति र विकासको अवलोकन तथा सीप र शैली सिक्न भ्रमण उपयुक्त हुन्छ । यही मेसोमा कलाकार मदन विश्वका विभिन्न मुलुकको भ्रमण गर्नुभएको छ । उहाँ बेलायत, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, जर्मनी, इटली, भारत, बंगलादेश, डेनमार्क, जापान, हङ्कङ, इण्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया, थाइलैण्ड, इजरायल, श्रीलंका, मलेसिया, सिंगापुर, अमेरिका लगायतका देशमा नेपाली कला, संस्कृति तथा पर्यटन विकास र प्रवद्र्धनका निम्ति भ्रमण गर्नुभएको छ ।

२०२५ सालदेखि उहाँले कलालेखन कार्यलाई निरन्तरता दिइरहनुभएको छ । उहाँले मधुपर्क, गोरखापत्र, द राइजिङ नेपाल, द काठमाण्डु पोस्ट, रचना, आकृति, समकालीन साहित्य, ललितकला, कलाकर्म, क्यानभास, स्पेस, भृकुटीलगायतका दर्जनौँ पत्रपत्रिकामा कलासम्बन्धी लेखरचना प्रकाशन गर्दै आउनुभएको छ । उहाँका ‘तेजबहादुर चित्रकार आइकन अफ ट्रान्जिक्सन’, नेपाली आर्टस् इस्युसेस मिसेलेनी’ तथा नेपाली पेन्टिङ थ्रो द एजेज’ नामक पुस्तक प्रकाशित छन् ।

समाजका गतिविधिमा सक्रिय भई योगदान दिने व्यक्तिको सामाजिक रूपमा बेग्लै परिचय बनेको हुन्छ । त्यही परिचयका आधारमा मानिसले आपूmलाई सामाजिक परिवेशमा घुलमिल गराइरहेको हुन्छ । मदनले नेपाली कलाक्षेत्रलाई आममानिसमा पु¥याउन आफ्नोतर्पmबाट प्रयास गरिरहनुभएको छ ।

विभिन्न संघसंस्थामार्पmत सामाजिक कार्यमा सहयोग पु¥याउन कला कार्यशालामा सहभागी भई तथा चित्रहरू प्रदान गरी सामाजिक जीवनमा कलाकारको दायित्व पूरा गर्नुभएको छ । हुन त उहाँले आफ्ना कलामार्पmत् समाजका घटना, परिघटना, विकृति, विसंगति तथा असंगतिलाई उजागर गर्दै राष्ट्रियताको पक्षलाई उठाउँदै आउनुभएको छ । कलाकार मदन नेपाली ललितकला क्षेत्रमा प्रवेश गरेको ६ दशकभन्दा बढी समय भयो ।

उहाँले क्यानभासमा मानवीय पीडा, संवेग, आवेग, समवेदनालाई निकै ओजपूर्ण रूपमा उधिन्दै आउनुभएको छ । उहाँका कलाकृतिमा मानवीय पक्षको उद्घाटनसँगै हाम्रो मौलिक सांस्कृतिक वैभव र राष्ट्रियता सशक्त रूपमा मुखरित भएको पाइन्छ । मदनको कलायात्रा २०१५ सालबाट सुरु भएर त्यसयता दृश्यचित्र, स्थिरवस्तु चित्रण, मुहारचित्रण तथा अन्य सिर्जनात्मक कलाकृति रचनामा बढी सक्रियता भएको पाइन्छ । त्यस्तै, नेपालको ग्राफिक डिजाइनमा उहाँको बेग्लै स्थान रहिआएको छ ।

प्रतिक्रिया