पूर्वाधार विकासमा गति लिँदै डाँडापारि

काभ्रे । प्रदेश–३ कै अति दुर्गमको सूचीमा रहेको काभ्रे जिल्लाको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा कच्ची सडक सञ्जालले तीव्रता पाउँदै जान थालेको छ । अझै पनि महाभारत गाउँपालिकाको केन्द्र २ नम्बर गकुलेमा अझै बस सेवा पुग्न सकेको छैन । अझ रमाइलो कुरा गाउँपालिकाबाट सदरमुकाम जान अर्काे जिल्ला र गाउँ हुँदै जानुपर्ने बाध्यता छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘पूर्वाधार विकासको कामहरू तीव्र गतिमा अगाडि बढेको छ । पछिल्लो केही समयपछि एउटा नियमित चल्ने पक्की रुट, बिजुली र खानेपानीलाई मुख्य तार्गेट गरी कामहरू गरिरहेका छौँ ।’ त्यसैबीच खानीखोला गाउँपालिकामा अहिले हिउँदको समयमा चार ओटा बस चल्न थालेका छन् ।

खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले भने, ‘विकासका पूर्वाधारका काम धमाधम सुचारु भइरहेको छ । केन्द्रीय प्रसारण लाइनको विस्तार, चौबिसै घण्टा फोन सेवासहित इन्टरनेट जडान गरिएको छ । त्यसैगरी खानेपानी, सबै वडाका भवन, प्रहरी चौकी र आफ्नै भवनको काम पनि प्रक्रिया पूरा भई काम थालिएको छ,’ उनले भने, ‘खानीखोला गाउँपालिकामा अब जिल्लाको विकट डाँडापारि जानको लागि अब आफ्नै जिल्लाको सडक प्रयोग गर्न पाउने भएका छन् । डाँडापारि क्षेत्रका वासिन्दाहरूका लागि यातायात सेवा पु¥याउने उद्देश्यले दुई दशक अगाडि एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित ग्रामीण विकास पूर्वाधारले खोपासी तालढुंगा सडकले पूर्णता पाएसँगै उनीहरूमा खुसियाली छाएको छ ।

६३ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको सो सडक ०५२ सालमा डिपिआर गरी ०५८ सालबाट निर्माणकार्य सुरु भएको थियो । खोपासीदेखि तालढुंगासम्मको कच्चीसडक ६४ किलोमिटर रहेको छ । बाटो निर्माणकै क्रममा ०६७ सालमा कोप्रे भिरमा पुगेर ठूलो चटानका कारण बाटो निर्माण कार्य नै रोकिएको थियो, त्यसै भिरलाई अहिलेको जिल्ला समन्वय समिति, गाउँपालिका र सम्बन्धित निकायहरू मिलेर वैकल्पिक बाटो खोल्न सहमति भएपछि अहिले सडक अगाडि बढेर सम्पन्न भएको हो । त्यही सम्पन्न भएको रुटलाई प्रदेश साम्सद चन्द्र लामाको पहलमा बजेट परेपछि मर्मत गरेर बस सेवा सुचारु हुँदै आएको छ ।

कच्ची बाटो खुलेपछि स्थानीय बासिन्दा सजिलै जिल्ला सदरमुकाम र छिमेकी जिल्लासम्म जानलाई सजिलो भएकोले निकै उत्साहित छन् । सडक नहुँदा चार दिन लगाएर पैदल हिँडैरै सदरमुकाम आउन विवश यस भेगका स्थानीयहरूले आफूले उत्पादन गरेको खुवा, अम्रिसो, पशुचौपाय, कृषि सामग्री सकसपूर्ण तरिकाले ललितपुरको चापागाउँ, च्याम्राङबेँसी हुँदै पनौती, भोर्लेनी हुँदै हेटौँडासमेत पु¥याउँदै आएका थिए । अझै अचानक बिरामी परे कि त हेलिकप्टर नै आउनुपर्ने कि त पीडा नै खप्न विवश थिए ।

सडकसञ्जालले जोड्न नसकेको डाँडापारि क्षेत्रमा अहिले सञ्चालनमा आएको सो कच्ची सडक सुरु भएको भए पनि, ढुक्क भएर बाटोमा सवारी चलाउन सक्ने अवस्था छैन । हिलाम्मे सडक कुनवेला कुन ठाउँमा के बिग्रने हो भन्ने चिन्ताले सताउने गर्दै आएको चलकहरूले बताएका छन् । केही ठाउँमा जोखिम उस्तै छ तालकहरूले भने । सडक स्तरोन्नति नभएसम्म बस सेवासमेत पूर्णरूपले सञ्चालन हुन सक्ने अवस्था छैन ।

डाँडापारिका बासिन्दाहरू वर्षात्मा खोलाको बाढी, हिलो र पहिरोसमेत जाने गरेका कारण ५÷६ महिनको लागि अगाडि नै खाद्यन्न जोहो गर्नुपर्ने बाध्यताबाट मुक्त भएका छन् । उनीहरू भन्छन्, ‘अझै ढुक्क हुने अवस्था छैन हिउँदमा आएको बस सेवा वर्षातमा सम्झेर बस्नपर्नै हाम्रो पुरानो रोग जस्तै बन्न लागेको छ । १० महिना बस राम्ररी चले पनि धेरै राहत हुने थियो ।’

प्रतिक्रिया